राधाको ‘मर्यादित महिनावारी, हामी सबैको जिम्मेवारी’ पुुस्तक बजारमा

राधाको ‘मर्यादित महिनावारी, हामी सबैको जिम्मेवारी’ पुुस्तक बजारमा

काठमाडौं । ‘खलंगामा हमला’ पुस्तकका लागि मदन पुरस्कार विजेता राधा पौडेलको हाते पुस्तक ‘मर्यादित महिनावारी, हामी सबैको जिम्मेवारी’ बजारमा आएको छ । सामाजिक अभियन्ता पौडेलले समाजमा महिनावारीलाई लिएर हुने गरेको गलत धारणा चिर्न पुस्तक बजारमा ल्याएको बताइन् ।

राधा पौडेल फाउन्डेशनले बजारमा ल्याएको पुस्तकमा महिनावारीप्रतिको समाजको धारणासहित ६९ वटा बुँदा उल्लेख छन् ।

महिनावारी भएको बेलामा आफूले १४ वर्षको उमेरमा घर छोड्नु रहर र बाध्यता भन्दा पनि विभेद र अपमानको पराकाष्ठा हो भन्दै लेखक पौडेलले ती धारणा गलत रहेको तथ्य र तर्क पुस्तकमा गरेकी छन् ।

महिला महिनावारी भएको बेलामा छुट्टै गोठमा राखेर बार्ने गलत प्रवृत्ति पश्चिम नेपालमा भए पनि नेपालीहरू बस्ने विश्वका जुनसुकै कुनामा पनि महिनावारी ‘बार्ने’ चलन भने यथावत रहेको उनको भनाइ छ । तर बार्ने तौरतरिका भने फरक रहेको पौडेल बताउँछिन् ।

उनले भनेकी छन्, ‘महिनावारीको रगत महिनावारी भएकी किशोरी वा महिला, महिनावारी भएकी महिलाले प्रयोग गर्ने सामग्रीलाई लिएर पश्चिम नेपाल, पूर्वी नेपालमा मात्र नभएर विदेशमा रहेका नेपाली समाजमा पनि विभिन्न मिथ्या या भनौ असत्य अवैज्ञानिक धारणाहरू रहिआएको छ ।’

हाते पुस्तिकाबाट सबै उमेरका विशेष गरेर स्कुल उमेरका बालबालिका, अभिभावक, कर्मचारी अभियन्ताले जानकारी हासिल गरुन् र महिनावारी मर्यादित बनाउन बहसको थालनी होस् भन्ने आफूले चाहेको उनले पुस्तकमा बताएकी छन् ।–महिला खबर–

प्रतिक्रिया