प्रदेश ६ को मुख्य मन्त्री महेन्द्र शाही निश्चित

प्रदेश ६ को मुख्य मन्त्री महेन्द्र शाही निश्चित

 प्रदेश नम्बर ६ को मुख्य मन्त्री माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही हुने निश्चित भएको छ। माओवादी केन्द्रको प्रदेश ६ को शीर्ष नेतृत्वले शाहीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

प्रदेश संयोजक मायाप्रसाद शर्माको अध्यक्षतामा मंगलबार बसेको प्रदेशका शीर्ष नेताहरूको बैठकले शाहीलाई मुख्य मन्त्री बनाएने सहमति गरेको हो। प्रदेश संयोजक शर्मा, प्रदेश इन्चार्ज तथा सचिवालय सदस्य शक्तिबहादुर बस्नेत र पूर्व प्रदेश इन्चार्ज तथा सचिवाल सदस्य जनार्दन शर्मा सहित सुर्खेतमा मंगलबार बसेको अनौपचारिक बैठकले मुख्य मन्त्रीको टुङ्गो लगाएको हो ।

जनार्दन शर्मा यसअघि नै शाहीलाई मुख्य मन्त्री बनाउने लबिङमा लागेका थिए। तर प्रदेश इन्चार्ज बस्नेत र प्रदेश संयोजक शर्माले मुख खोलेका थिएनन्। रामबहादुर थापा निकट शर्माले प्रदेश प्रमुखमा आफू निकट नरेश भण्डारीलाई बनाउने भित्री रुपमा लबिङ गरेपनि अन्तिममा आफ्नो अडान छोडेपछि शाहीको नाममा सहमति भएको हो। निर्णयको औपचारिक घोषणा भने बिहीबार गरिने भएको छ।

बुधवार राष्ट्रिय सभाको चुनाव भएकाले बिहीबार मात्र प्रदेश कमिटिले निर्णय औपचारिक रुपमा अनुमोदन गरेर सार्वजनिक गरिने तय भएको माओवादीका पोलिटब्यरो सदस्य रामदीप आचार्यले बताए। उनले भने ‘प्रदेशको शीर्ष नेतृत्वले शाहीलाई नै मुख्य मन्त्री बनाउने गरी सहमति गरेको छ।’

प्रदेश नम्बर ६ र ७ मा मुख्य मन्त्री माओवादी केन्द्रलाई दिने सहमति यसअघि नै वाम गठबन्धनले जुटाइसकेको छ।

कालिकोट क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित शाही पूर्व उर्जामन्त्री हुन्। जनमुक्ति सेनाका पूर्व डिभिजन कमान्डर समेत रहेका शाही माओवादी पोलिटब्युरो सदस्य हुन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव अघि नै माओवादी नेता भण्डारीलाई मुख्य मन्त्रीमा आश्वासन दिएपछि शीर्ष नेतृत्वले आफू पन्छिन प्रदेशका तीन नेता शक्ति, जनार्दन र मायाप्रसादलाई मुख्य मन्त्री छान्ने जिम्मा दिएको थियो।

वाम गठबन्धनले ६ र ७ नम्बर प्रदेशमा माओवादी केन्द्रलाई मुख्य मन्त्री दिने सहमति गरे अनुरुप शाही र भण्डारीबीच मुख्यमन्त्री हत्याउन लामो रस्साकस्सी चलेको थियो ।Annpurna post.

प्रतिक्रिया