प्रदेश ६ मा एक सय ९८ मत खस्यो

प्रदेश ६ मा एक सय ९८ मत खस्यो

सुर्खेत-राष्ट्रियसभा सदस्य चयनका लागि भएको निर्वाचनमा प्रदेश ६ मा मतदान सकिएको छ। विहान १० बजेदेखि वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा मतदान सुरु भएको थियो। बुधबार भएको मतदानमा यस प्रदेशबाट जम्मा एक सय ९८ मत खसेको छ। प्रदेश ६ का निर्वाचन अधिकृत मेदेनीप्रसाद पौडेलले सतप्रतिशत मत खसेको बताए । यस प्रदेशमा स्थानीय तहको १ सय ५८ र प्रदेशसभा ४० गरी १ सय ९८ मतदाता रहेको थियो । अधिकृत पौडेलका अनुसार स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरु मतदाता थिए ।

निर्वाचन अवधिभर कुनैपनि अप्रिय घटना नभएको उनले बताए । ‘शान्त र सूव्यवस्थित वातावरणमा निर्वाचन सकियो । उनले भने, ‘आजै तीन बजेदेखि मत गणना सुरु हुन्छ।’ भोलि विहानसम्म मत परिणाम सार्वजनिक गर्ने गरी तयारी थालिएको छ।

यस प्रदेशबाट नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसबाट मात्रै उम्मेदवारी परेको थियो । जसमा एमालेवाट पाँच, माओवादीबाट तीन र कांग्रेसबाट चार जनाले उम्मदवारी दिएका थिए । आठ पदका लागि भएको निर्वाचनमा जम्मा १२ जना चुनावी मैदानमा छन्।

एकल संक्रमणीय प्रर्णाली अनुसार भएको निर्वाचनमा चार जनाले पराजीत हुने छन्। एमाले र माओवादीको बहुमत भएको यस प्रदेशमा वाम गठनबन्धनसहित चुनावी अभियानमा होमिएका नेताहरु भने आफ्नो विजयी सुनिश्चित जस्तै भएको बताउँदै आएका छन्।

७९ वटा स्थानीय तह रहेको यो प्रदेशमा स्थानीय तहको २ हजार ८ सय ४४ र प्रदेशसभाको १ हजार ९ सय २० गरी जम्मा ४ हजार ७ सय ६४ मतभार छ।

प्रतिक्रिया