‘दैलेखलाई हाइड्रोहव बनाउछौँ’

‘दैलेखलाई हाइड्रोहव बनाउछौँ’

फोटो -संघ अधिवेशनको उद्घाटन गर्नुहुँदै नेपाल उद्योग बाणिज्य संघका कार्यकारी सदस्य निरक केसी ।

दैलेख जिल्लालाई हाइड्रो हवको रुपमा विकास गर्ने उद्योगी, व्यापारिहरुले घोषणा गरेका छन् । ‘उद्यम, कृषि, पर्यटन र व्यापार, समृद्ध दैलेखको मुल आधार’ भन्ने मुल नारा सहित उद्योग बाणिज्य संघ दैलेखको नवौँ बार्षिक साधारण सभा तथा आठौ अधिवेशनको उद्घाटन कार्यक्रममा उद्योगी, व्यापारिहरुले यस्तो घोषणा गरेका हुन् । दैलेख संगै छिमेकी जिल्ला सुर्खेतका उद्योगी व्यापारिहरुले राष्ट्रकै महत्व बोकेको माथिल्लो कर्णाली जलविद्युत आयोजनाका साथै, नौमुले, डुंगेश्वर गाउँपालिकामा रहेका लघु जलविद्युत आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेको बताउदै यस बाहेकका विभिन्न खोलाहरुमा लघुजलविद्युत जलविद्युत आयोजनाहरु संचालन गरि जिल्लालाई हाइड्रो हवको रुपमा विकास गर्ने बताएका हुन् । जलविद्युत बाहेक पेट्रोलियम, तामा, काइनेटिक जस्ता खनिज पदार्थहरु पाईने सम्भावनाहरुलाई खोजी गरि अनुसन्धान र उत्खनन तर्फ अघि बढ्ने उद्योगी, व्यापारिहरुले घोषणा गरे ।
उद्घाटन कार्यक्रममा दैलेख आएका नेपाल उद्योग बाणिज्य संघका कार्यकारी सदस्य एंव घरेलु तथा साना उद्योग विकास समिति नेपालका सभापति निरक केसीले दैलेख जिल्ला धार्मीक, साँस्कृति र जलस्रोतले धनी जिल्ला भएको बताउदै त्यसको विकासका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । विकास निर्माणलाई थाँती राखेर राजनीतिलाई मात्रै जोड दिए मुलुकको विकास सम्भव नभएको बताउदै केसीले निजी क्षेत्र, स्थानीय, प्रदेश र केन्द्र सरकारको सहकार्य आवश्यक रहेको बताए । मुलुकको आर्थीक समृद्धीका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेका बताउदै केसीले भने ‘दैलेख जिल्लामा भएको सम्भावनाहरुलाई पहिचान गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट लगानीको वातावरण सृजना गर्न सक्नु पर्छ ।’
उद्योग बाणिज्य संघ सुर्खेतका अध्यक्ष प्रकाश अधिकारीले दैलेख जिल्ला मात्रै नभई समग्र प्रदेश नं. ६ भित्र रहेका सम्भावनाहरुको खाजी गर्नका लागि निजी क्षेत्र चिन्तीत हुनुपर्ने बताए । उनले निजी क्षेत्रले तिरेको करबाट राज्यले विकासको अनुभुति हुने गरि काम गरेको खण्डमा मुलुक समृद्धिको दिशामा अगाडी बढ्ने बताए । यस्तै नेपाली कांग्रेस दैलेखका सभापति कृष्ण कुमार विसीले समृद्ध दैलेख बनाउने महाअभियानमा सबैको सहयोग आवश्यक रहेको औल्याउदै थुप्रै सम्भावनाहरु भएको जिल्लामा बसेका निजी क्षेत्रले ति सम्भावनाहरुलाई सदुपयोग गर्नुपर्ने बताए ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले निजी क्षेत्र र निर्वाचित जनप्रतिनिधीहरुले हातेमालो गर्न सके मात्र जिल्ला संगै मुलुकको विकास सम्भव रहेको बताए । यस्तै चामुण्डाविन्द्रासैनी नगरपालिका दैलेखका मेयर सुर्य बहादुर शाहीले आयात भन्दा निर्यात मुखी व्यापारमा जोड दिए । उनले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार संग सहकार्य गरि अगाडी बढ्न निजी क्षेत्रलाई आग्रह गरे ।
दैलेख उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष शान्ति प्रसाद शर्माले दैलेख विभिन्न जातजाति को उद्गम स्थल तथा पञ्चकोशी लगाएत धार्मिक स्थल भएकाले यसलाई पर्यटकिय रुपमा विकास गर्दा राष्ट्रकै अर्थतन्त्रमा योगदान पुग्ने बताए । व्यवसायीहरुले आफ्ना व्यवसाय सञ्चालन गर्न अत्यन्त कठिन परिस्थितीको सामना गर्नुपरेको अध्यक्ष शर्माले बताए । व्यवसायीहरुको क्षमता विकास गरी समस्याको पहिचान गर्नुका साथै व्यवसायको प्रवद्र्धन गरी जिल्लालाई प्रदेश नं ६ को व्यापारिक नाकाको रुपमा विस्तार गर्न संघले निरन्तर प्रयास गरिरहेको बताए । संघको एक बर्ष अगाडी निर्माण गरिएको भवनमा आधुनिक प्रविधिको प्रयोग गरि दक्ष जनशक्ति द्धारा नियमित प्रभावकारी सेवा प्रवाह गर्ने, जिल्लाको कला संस्कृतिको जगेर्ना गर्दै सम्भाव्य पर्यटकिय क्षेत्रको खोज तथा पहिचानका साथै पर्यटन प्रवद्र्धन र संरक्षण सम्बद्र्धन लागएतका कार्यहरु आगामी दिनमा सञ्चालन गर्ने संघले कार्ययोजना रहेको महासचिव नरेन्द्र थापाले बताए । साधारण सभामा आर्थिक, प्रशासनिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । बाणिज्य संघ दैलेखको नवौँ बार्षिक साधारण सभा तथा आठौ अधिवेशनले १७ सदस्यीय कार्यसमिति चयन गर्ने छ । संघको विहिवार सम्पन्न उद्घाटन कार्यक्रम पश्चात उद्योगी व्यापारिहरु विच सहमतिको प्रयास गर्ने र सहमति हुन नसके निर्वाचन प्रक्रिया अगाडी बढाइने महासचिव थापाले बताए । निर्वाचनका लागि दुई वटा प्यानल बनाएर १ महिना अगाडी देखि नै चुनाव प्रसार प्रसार समेत गरिएको थियो ।

प्रतिक्रिया