साझेदारी बढाउन प्रमुख थापाको आग्रह

साझेदारी बढाउन प्रमुख थापाको आग्रह

चुनाव जितेर पनि दुखी छु ः अध्यक्ष बिक

जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले सरकारले विकासमा निजी क्षेत्रको सार्वजनिक साझेदारी नीति ल्याएकोेले जिल्लाको विकासमा सहकार्य गर्न दैलेख उद्योग बाणिज्य संघका नवनिर्वाचित नेतृत्वलाई आग्रह गरेका छन् ।
दैलेख उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाण वितरण तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख थापाले सो भनाई राखेका हुन् ।
नव निर्वाचित अध्यक्ष कुलबहादुर बिकले आफ्ना प्रतिद्वन्द्वी निवर्तमान महासचिव नरेन्द्रबहादुर थापा अघिल्लो चुनावमा एकै प्यानलकै भए पनि परिस्थितिको सिकार बनेको बताए । मिल्न नदिनेहरुले चुनाव लड्न बाध्य बनाइएको कारण आफूले जितेर पनि दुखी भएको सुनाए ।
नवनिर्वाचित अध्यक्ष बिकले वाध्यता फरक फरक प्यानलमा लडे पनि दुवै समूहबाट निर्वाचित पदाधिकारी र व्यापारीहरु सबैलाई समेटेर काम गर्ने प्रतिवद्धता जनाए ।
त्यसबखत निवर्तमान अध्यक्ष शान्तिप्रसाद शर्माले आफूले २ कार्यकालमा निर्माण गरेको कार्यालय भवन र भौतिक व्यवस्थापनलाई अझैं प्रभावकारी बनाउन सुझाव दिए । नयाँ नेतृत्वले गर्ने रचनात्मक काममा आफूले सधैं सहयोग गर्ने बताए ।
संघको ८ औं अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष र १६ जना सदस्य सहितका पदाधिकारीलाई प्रमाण वितरणपछि पद तथा गोपनीयताको सपथ गराउदै निर्वाचन संयोजक अधिवक्ता सुरेन्द्र अधिकारीले निर्वाचित समूहले उपविजेताहरुसंग सहकार्यबाट दैलेख उद्योग बाणिज्य संघको संस्थागत विकास र व्यापारीहरुको हकहितमा धेरै राम्रो काम गर्न सकिने बताए ।
विहीवार उद्घाटन समारोह र शुक्रवार दिउँसो मतदानपछि राति गरिएको मतगणना परिणाम अनुसार अध्यक्ष पदमा कुलबहादुर बिक ८ सय ५५ मत प्राप्त गरेका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नरेन्द्रबहादुर थापाले ७ सय ८४ मत पाएका थिए । उनीहरुबीच ७१ मतको अन्तर थियो ।
संघको विधान अनुसार अनुसार १७ सदस्यीय कार्यसमितिमा १ जना मात्र महिला समावेशी आरक्षित रहेको सीटमा राधा ज्ञवालीले जितेकी छिन् ।
निर्वाचित खुला १५ सदस्यहरुमा अशोक थापा, कृष्णप्रसाद श्रेष्ठ, गोबिन्द कार्की, झविराज खत्री (कवि), देवेन्द्र केसी, पदम बुढा, परे खड्का, पूर्णप्रसाद पाण्डे, यज्ञप्रसाद रेग्मी, योगेन्द्रप्रसाद सिग्देल, रुपक थापा, राजु खड्का, भक्तबहादुर रावत, राजेश हमाल र शन्देश कुमार श्रेष्ठ (शैलेश) हुनुहुन्छ ।
कुलबहादुर बिकले अध्यक्ष पदमा प्राप्त गरेको जितले दैलेख उद्योग बाणिज्य संघको ३५ वर्ष लामो इतिहासमा दलित समुदायले नेतृत्व भूमिका पाएको यो पहिलो पटक हो ।

प्रतिक्रिया