छाउपडी प्रथाको कहर ‘बाहिर बस्दा सर्प, भित्र बसे देउताको डर’

छाउपडी प्रथाको कहर ‘बाहिर बस्दा सर्प, भित्र बसे देउताको डर’

फोटो -दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा छाउगोठमा बसेकी एक महिला ।

दैलेख – हिँउदको कठ्यांग्रिदो चिसो । त्यसमा पनि खुला आकासमूनी सत्नुपर्ने बाध्यता । दैलेखको आठवीस नगरपालिका वडा नं. ४ राकमबजारको सडक छेउमै एक युवती यही बाध्यतासँग जुधिरहेको अवस्थामा भेटिइन । एकसरो पछ्यौराको भर र परालका त्यान्द्रालाई ओच्छ्यान बनाएकी ति युवती विहान पाँच बजे नै उठ्ने तरखरमा थिइन् । सडकमा बटुवाले देखिहाल्छन की भन्ने डरले उनी लुक्ने प्रयास पनि गरिरहेकी थिइन, तर यात्रुहरुले भने उक्त दृष्य देखिसकेका थिए ।
बरु उनीहरुले सहजै अनुमान लगाए,‘पक्कै महिनावारी भएकी युवती यसरी खुलाआकासमुनी रात काटिरहेकी छिन् ।’ यस्तै आठवीस नगरपालिका वडा नं. ४ की मिना बोहोरा पनि हरेकपटक महिनावारी हुँदा घरभन्दा टाढा बनाइएको गोठमा बस्छिन् । गोठमा एक्लै बस्नुपर्दा उनलाई निकै डर लाग्नेगर्छ । तर त्यो भन्दा बढी डर उनलाई देउताको लाग्छ । देउताको डरकै कारण उनी महिनावारी हुँदा घरदेखि टाढा रहेको छाउगोठमा बस्ने गरेकी हुन् । उनी भन्छिन्,‘हामी महिलाहरु जहाँ बसे पनि डरकै भागेदार बनेका छौं ।’
राकम बजार छेउमा यात्रुबाट लुक्ने प्रयास गरिरहेकी युवति र सोही ठाउँका अर्की महिला मिना बोहोराले जस्तै यहाँका सबै महिलाले महिनावारी हुँदा यसैगरी छाउगोठ वा सडक किनारमा एक्लै रात बिताउनुपर्ने बाध्यतामा छन् । यहाँका महिलाहरु महिनावारी भएका बेला घरभित्र पस्न पाउँदैनन् । उनीहरुका लागि छाउगोठ जानु सामान्यजस्तै भइसकेको छ । ‘म मात्रै जानु परेको भए अप्ठेरो हुन्थ्यो’ मिनाले भनिन्,‘महिनावारी हुँदा यहाँका सबै महिलाहरु छाउगोठमै बस्छन ।’ दैलेख जिल्लाका हरेक गाउँपालिका र नगरपालिकामा महिला र युवतीहरुले छाउपडी प्रथालाई संस्कारकै रुपमा स्वीकार्दै आएका छन् ।
‘छुई हुँदा घरभित्रै बस्यो भने त देउता रिसाउँछन्, अनेक समस्या आइलाग्छन’ छाउगोठ जानुको कारण बारे मिनाले भनिन्, ‘देउता लागे भने जिन्दगीभर दुःख पाइन्छ, त्योभन्दा बरु छाउगोठमा गएर बस्यो, एक हप्ता त हो ।’ ‘देउता लाग्ने’ डरकै कारण यहाँका महिलाहरु छाउपडी बार्न बाध्य छन् । संस्कारको रुपमा स्थापित भएको कुसंस्कार छाउपडी प्रथालाई त्याग्न नसक्दा यहाँका महिलाहरुको ज्यान नै जोखिममा परेको छ । मिना भन्छिन् ‘बाहिर बस्दा सर्पको डर हुन्छ, घर भित्र बस्दा देउताको डर ।’ दैलेख जिल्लाका विभिन्न भू–भागका महिलाहरुमा अहिले पनि महिनावारीको समयमा र सुत्केरी हुँदा घरमा बसे देवता रिसाउछन् भन्ने डर यथावत नै छ ।
जोखिममा ज्यान
गत जेठ ८ गते चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ८ की २४ बर्षिया लालसरा विकको छाउगोठ बसेकै बेला ज्यान गयो । त्यसको दुई महिना नवित्दै सोही नगरपालिकाकी तुल्सी शाहीको पनि छाउगोठमै ज्यान गयो । चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ४ लैनचौरकी तुल्सी शाहीको छाउगोठमा बस्दा सर्पले डसेर ज्यान गएको थियो ।
यी त केही उदाहरण मात्रै हुन् । हरेक वर्ष छाउगोठमा कुनै न कुनै महिलाले ज्यान गुमाइरहेका छन् । तर कतिपय घटना सार्वजनिक हुन्छन् भने कतिपय घटना बाहिर नै आउँदैनन् । चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं. ३ कि रमिता विक भन्छिन्, ‘जस्तोसुकै अवस्था आए पनि महिनावारी हुँदा छाउगोठमा नबसी सुख छैन ।’ महिनावारी हुँदा छाउगोठको बसाईमा सर्पले डस्ने डर त छदैछ, त्यसमाथी शारिरिक अवस्था पनि कमजोर बन्दै जान्छ । छाउपडी र बालविवाहको विषयमा स्थानीय समुदायलाई जागरुक बनाउदै हिडेंकी रमिता भन्छिन्,‘यहाँका किशोरी र महिला कुसंस्कारको सिकार बन्दै आएका छन्, ज्यान जोखिममै राखेर महिलाहरु छाउगोठमा बस्ने गरेका छन् ।’
बदल्न नसकिएको सोच
गाउँका सबै महिला र युवतीहरु महिनावारी हुँदा छाउगोठमै बस्ने गरेको ठाँटीकाँध गाउँपालिका वडा नं. ५ की अस्मिता शाहीले बताइन् । जिल्लाका दुर्गम गाउँपालिकाका वडाहरुमा बसोबास गर्दै आएका सबैजसो महिलाहरुको बाध्यता बनेको छ, छाउगोठ । महिनावारी हुँदा सात दिन र सुत्केरी हुँदा १० दिन गोठमा बस्नुपर्ने बाध्यताका कारण उक्त गाउँका महिलाहरुले विभिन्न किसिमका समस्याहरु झेल्नु परेको चामुण्डाका सुरेन्द्र देवकोेटाले बताए । तर यहाँका नागरिकले यसलाई संस्कारकै रुपमा स्वीकार गरेको उनी बताउँछन् ।
पुरानो पुस्ताका बुढापाकाहरुको जिद्दी र नयाँ पुस्ताले पनि त्यसैलाई स्वीकार गरेका कारण गाउँबाट छाउपडी प्रथा हटाउन नसकिएको देवकोटाको भनाइ छ । गाउँमा बालक्लब र विभिन्न सामाजिक संघ संस्थाहरुले छाउपडी प्रथाले निम्त्याउने समस्या र यो अन्धविस्वास हो भनेर जतिपटक जानकारी गराएको भए पनि यो भ्रमबाट मुक्त हुन नसकेको जिल्ला बाल संजाल दैलेखका सचिवसमेत रहेका सुरेन्द्र देवकोटाले बताए । पुर्खादेखि नै चल्दै आएको चलन भएकाले छाउपडी प्रथाको छाप मेटाउन नसकिएको गुराँस गाउँपालिकाका यामलाल विक    बताउँछन् ।
किशोरीको पढाईमा बाधा
महावु गाउँपालिकामा रहेको मालिका माध्यामिक विद्यालयमा अध्ययनरत मनिषा विष्ट विद्यालयमा महिनावारी हुँने वित्तीकै घर फर्किन्छिन् । उनी मात्र होइन विद्यालयका अन्य किशोरीहरु पनि विद्यालयको समयमा महिनावारी हुँदा भर फर्किने गरेका छन् । महिनावारी भएको पाँच दिन पछि मात्रै विद्यालय जाने गरेको मनिषाले बताइन् ।
छाउपडी प्रथाकै कारण विद्यालयमा अध्यनरत किशोरीहरु महिनावारी हुँदा विद्यालय आउन लजाउने गरेको र कतिपयले विद्यालय नै छोड्ने गरेको उनले बताइन् । महिनावारीबारे जनचेतना जगाउन नसक्दा र छाउपडी प्रथाकै कारण यस्तो समस्या देखिएको उनको भनाइ छ । यस्तो अवस्थामा घर बाहिर बस्नु पर्दा कलिला बालिकाहरुमा मानसिक समस्यापनि निम्तीएको मनिषाको भनाई छ ।
छाउगोठमै फर्किए महिला
पाँच बर्षअघि दैलेख जिल्लाका साविकका गाउँविकास समितिलाई छाउपडी मुक्तगाउँ घोषणा गरिएको थियो । २०६९ साल असार यता दैलेख जिल्लाका राकमकर्णाली, तिलेपाटा, पिपलकोट लगाएतका गाउँलाई छाउगोठ मुक्त घोषणा गरियो । त्यतिबेला छोउगोठ मुक्त घोषणा गरिएका साविकका गाउँविकास समितिहरुमा अहिले छाउगोठ बनि सकेका छन् ।
छाउगोठमुक्त घोषणाा गरिएका स्थानमा नै महिलाहरु पुनः छाउगोठमै फर्किएका छन् । सरकारले छाउपडी प्रथा अन्त्य गर्न कानुन बनाएको छ भन्नेबारे सबैलाई थाहा नभएको पनि होइन । तर परम्परागत संस्कारलाई उनीहरुले त्याग्न भने सकेका छैनन् । भैरवी गाउँपालिकावडा नं. १ रावतकोटकी कुस्मा विष्ट भन्छिन्, ‘छाउपडी प्रथा गलत हो भन्ने पनि सबैलाई थाहा छ, तर देउताको डरबाट भने यहाँका महिलाहरु उम्किन सकेका छैनन् ।’ पहिलेदेखि चलि आएको चलनलाई नकार्न निकै गाह्रो भएको स्थानीय महिलाहरु बताउँछन् । ‘महिनावारी हुँदा गोठमा घरभित्र बसे आगलागी हुन्छ’ आठवीस नगरपालिकाकी मिना बोहोराले भनिन् ‘देउता रिसाए भने हामीलाई अनर्थ हुन्छ, अनि जानुपरेन त गोठमा ?’
कानुनी अज्ञानता
नेपाल सरकारले नै छाउपडी प्रथाविरुद्धको ऐन बनाएर लागू गरेको छ । यसको कार्यान्वयन गराउने जिम्मेवारी राज्यका निकायहरुको हो । तर सरकारी निकायसँग नै छाउपडी प्रथा अन्त्य गर्ने कुनै योजना र कार्यक्रम भने छैनन् ।
यतिमात्रै होइन सरकारले जारी गरेको ऐनको बारेमा स्थानीयनागरिकहरु अनविज्ञ छन् । उनीहरुलाई सरकारले जारी गरेको ऐनलाई समुदाय स्तरमा जानकारी दिनका लागि राज्यका निकायहरुले खासै ध्यान नदिदा कानुनी कुराहरु जानकारी नभएको चामुण्डाविन्द्रासैनी नगरपालिकाकी बालअधिकारको क्षेत्रमा काम गर्दै आएकी रमिता विकले बताइन् । ‘हामी बालक्लबका सदस्यहरु यो अभियानमा लागेका छौ । तर स्थानीय सरकार र स्थानीय अगुवाहरुले हामीलाई सहयोग गर्नुभएको छैन’ उनले भनिन् ।
स्थानीय सरकार मौन
अन्धविस्वासका कारण छाउपडीप्रथाले विकराल रुप लिए पनि यसलाई हटाउनका लागि भने कुनै ठोस पहल गरिएको छैन । छाउपडी प्रथा हटाउन केही सामाजिक संघसंस्था र नागरिक अगुवाहरुले पहल गरे पनि सरकारी निकाय मौन हुँदा बीचमै रोकिएको छ । यसको अन्त्यका लागि कुनै सरकारी निकायहरुले ध्यान नदिँदा छाउपडी प्रथा जटिल बन्दै गएको जिल्ला बाल संजाल दैलेखकी सदस्य पवित्रा थापाले बताइन् ।
सरकारी निकायले कुनै चासो नदेखाएपछि आफुहरुबाट यो प्रथाको अन्त्य हुन नसकेको थापाको भनाइ छ । स्थानीय सरकार गठन भएको लामो समय बितिसके पनि छाउपडी हटाउन अहिलेसम्मकुनै पहल नभएको उनको भनाइ छ । ‘उल्टै स्थानीय सरकारले हामी बालक्लबलाई सहयोग गर्नमा कन्जुस्यार्ईँ गरेका छन्’ उनले भनिन् ।
आठवीस नगरपालिका नगर प्रमुख खड्गराज उपाध्यायले भने छाउपडी प्रथाविरुद्धको अभियान थाल्ने बताए । एक बर्षमा दुई महिलाको  ज्यान गएपछि चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्यबहादुर शाहीले छाउपडीविरुद्धको अभियानको थालनी गर्नका लागि पहल थालेका छन् । आफ्नो एक्लो प्रयासबाट छाउपडी प्रथा अन्त्य गर्न नसकिने भन्दै उनले सबैले साथदिनुपर्ने बताए । युवापुस्ताले छाउ हटाउन खोजे पनि वृद्धवृद्धालाई बुझाउन नसकिएको शाहीको भनाइ छ ।
(क्रियाशील पत्रकार मञ्चका लागि )

प्रतिक्रिया