प्रदेश ६ सभामुखमा शाहीको एकल उम्मेदवारी

प्रदेश ६ सभामुखमा शाहीको एकल उम्मेदवारी

सुर्खेत । प्रदेश नम्बर ६ मा प्रदेशसभाको सभामुख पदमा वाम गठबन्धनको एकल उम्मेदवारी परेको छ । संसदमा प्रतिनिधित्व गर्ने चारदल भएपनि वाम गठबन्धनबाट सभामुख पदमा दैलेख निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित एमालेका सांसद राजबहादुर शाहीको मात्र उम्मेदवारी परेको हो । शाहीको प्रस्तावकमा एमालेका सांसद प्रकाश ज्वाला र समर्थकमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता महेन्द्र्रबहादुर शाही छन । आइतबार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो ।

सो अवधिमा शाहीको मात्र एकल उम्मेदवारी दर्ता भएको संसद संचिवालयले जनाएको छ । सोमबार बस्ने संसद बैठकमा सभामुख पदको उम्मेदवारीलाई निर्णयार्थ पेश गरिनेछ । सोमबार नै सभामुखको सपथका लागि तयारी गरिएको संचिवालयका सचिव कृष्णहरी खड्काले जानकारी दिए । सभामुखमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसंग कुरागर्दै शाहीले आफूले पाएको जिम्मेवारी कुशलापूर्वक निर्वाह गर्ने   बताए ।

एमाले संसदीय दलको बैठकले सर्वसम्मत रुपमा प्रदेशसभा सांसद शाहीलाई प्रदेशसभाको सभामुखमा सिफारिस गर्ने निर्णय गरेको थियो । एमाले र नेकपा (माओवादी केन्द्र) बीचको सहमतिअनुसार यो प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र, सभामुख पद एमाले र उपसभामुख पद माओवादी केन्द्रले पाउने छन् ।

प्रदेश ६ मा संसदमा प्रतिनिधित्व गर्ने दलहरुमा एमालेका २०, माओवादीका १३, नेपाली काँग्रेसका ६ र राप्रपाका एक गरी ४० जना संसद छन् ।

प्रतिक्रिया