कर्णालीमा एक कल, फोन गर्न दुई दिन पैदल

कर्णालीमा एक कल, फोन गर्न दुई दिन पैदल

 नेपाल टेलिकमका देशभर जिएसएमका १ करोड ६५ लाख र सिडिएमएका १६ लाख तथा एनसेलका १ करोड ३० लाख प्रयोगकर्ता छन् । तर, ३ लाख ८८ हजार जनसंख्या रहेको कर्णाली क्षेत्रमा भने फोन गर्न दुई दिनसम्म हिँड्नुपर्ने बाध्यता छ ।

हुम्लाका १९ गाउँ टेलिफोन सेवाबाट वञ्चित छन् भने उपल्लो डोल्पाका तीन गाउँपालिकामा नै टेलिफोन छैन । डोल्पोबुद्ध गाउँपालिकाको धो गाउँमा एउटा फोन छ, जहाँ अन्य गाउँका बासिन्दा दुई दिन हिँडेर टेलिफोन गर्न आउँछन् । धो गाउँका बासिन्दाले पनि आफ्नै लगानीमा फोन जोडेका हुन् ।

त्यस्तै, छार्का गाउँका बासिन्दा फोन गर्न दुई दिने हिँडेर शेरी गाउँ पुग्छन् । अझ भिजेरका बासिन्दा तीन दिन हिँडेर फोन गर्नकै लागि फोक्सुन्डोमा पुग्छन् । दुई-तीन हिँडेर फोनस्थल पुग्ने सर्वधारण प्रतिमिनेट १० रुपैयाँ तिर्छन् ।

नयाँ टावर राख्दै छौँः टेलिकम
नेपाल टेलिकमले कर्णालीका पाँच जिल्लाका ११ स्थानमा नयाँ टावर राखेर सेवा विस्तार गर्ने तयारी गरेको जनाएको छ । टेलिकमका प्रवक्ता प्रतिमा वैद्यका अनुसार हुम्ला, जुम्ला, कालिकोट, मुगु र डोल्पामा टावर राख्ने स्थान पहिचान भइसकेको छ ।

टावर राख्न पहिचान गरिएका स्थान
हुम्ला : सार्कीडुहुरे, बडगाउँ, धारापानी, मेल्ठाम, राया, कालिका
जुम्ला :नरकोट, तातोपानी
मुगु : मुर्मा
डोल्पा : माचफन्ड
कालिकोट : माल्कोट

मुगुमा फोनमा कुरा गर्न घरबाहिर

मुगुका बासिन्दाले आफन्तसँग एक कल फोन गर्न दुई दिनसम्म हिँड्नुपर्छ । यहाँका ६० प्रतिशत परिवार अहिले पनि टेलिफोन सेवाको पहुँचबाहिर छन् । ११ वडा रहेको सोरु गाउँपालिकामा नेपाल टेलिकमको एउटा मात्रै टावर छ । त्यसले सीमित ठाउँसम्म मात्र काम गर्ने भएकाले स्थानीय बासिन्दा एक दिनसम्म हिँडेर फोनस्थल पुग्छन् । यहाँका दर्जनौँ गाउँमा टेलिफोन सुविधा छैन । टेलिफोन सेवा भएका दुईवटा वडामा पनि घरभित्र बसेर सम्पर्क हुँदैन । कुराकानी गर्न घरबाहिर निस्कनुपर्छ । लिब्रु गाउँका अंगबहादुर शाहीले भने, ‘घरभित्र बसेर आफन्तसँग कुरा गर्न मिल्दैन, बाहिर निस्कनुपर्छ।’

गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले पूरै गाउँपालिकामा सजिलै टेलिफोन सम्पर्क गर्न हुने गरी टावर राख्न पहल गरिने बताए ।

त्यस्तै, खत्याड गाउँपालिकामा चारवटा टेलिफोन टावर भए पनि काम गर्दैनन् । खत्याडको कोटडाँडास्थित टावरले राति काम गर्दैन । अरू टावरले पनि काम नगरेको स्थानीय बासिन्दा बताउँछन् । खत्याडका निगालिबोट, बाउपानी, जम्फै साडबाडालगायतका दर्जन गाउँमा टेलिफोन सेवा अवरुद्ध छ । उनीहरूले पनि फोनमा कुराकानी गर्दा घरबाहिर निस्कनुपर्छ ।

मुगम कार्मारोङ गाउँपालिकाको मह, मांग्री, छाइल, चिमात, डोल्फुलगायतका दर्जनबढी गाउँमा टेलिफोन सेवा नभएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले बताए । यहाँका बासिन्दाले फोन गर्न एकदिन हिँड्नुपर्छ ।

सदरमुकामबाहिरका टावर सोलारकै भरमा चल्ने भएकाले राति समस्या हुने गरेको नेपाल टेलिकम मुगुका कार्यालय प्रमुख कमल केसीको भनाइ छ । मुगुको रारा विमानस्थलमा समेत नेटवर्क राम्रो छैन।

हुम्लामा फोन गर्न दुई दिन पैदल

नेपाल टेलिकम, हुम्लाले ४५ हजार सेवाग्राहीलाई सिम वितरण गरेको छ । टेलिकम हुम्ला कार्यालयका प्रमुख रामबहादुर खाँतीका अनुसार ६ वटा टावर पनि छन् । तर, यहाँका सात गाउँपालिकाको १९ गाउँका बासिन्दा टेलिफोन सेवाबाट वञ्चित छन् । उनीहरू दुई दिन हिँडेर टेलिफोनसम्म पुग्ने गरेका छन् । कतै टेलिफोनको टावर छैन भने कतै भएका टावर पनि मर्मत भएका छैनन् । सदरमुकाम सिमकोटबाहेकका सर्केगाड, मेल्छाम, सर्किदेउ, मुचु र रायामा रहेका टावरले राम्रोसँग काम नगर्दा टेलिफोन सेवा अवरुद्ध भइराख्छ । नाम्खा गाउँपालिकाको हिलिङ डाँडास्थित टावर बिग्रिएको पाँच महिना हुँदा पनि मर्मत नभएको स्थानीय बासिन्दा छेपाक लामाले बताए ।

केही गाउँका बासिन्दा फोन गर्नकै लागि दुई दिन हिँडेर सदरमुकाम पुग्ने गरेका छन् । फोन गर्नकै लागि सदरमुकाम पुगेको नाम्खा गाउँपालिकाको चाला गाउँका सेराप लामाले दुखेसो गरे । त्यस्तै, नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामाले भने, ‘लिमीका तीन गाउँमा एउटा भिस्याट प्रविधिको फोन छ, त्यो पनि काम गर्दैन ।’ हिमपात भएपछि तीन महिनादेखि चाला गाउँ सम्पर्कविहीन छ । चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागार्इंले एक दर्जन गाउँमा फोन सेवा नभएको बताए ।

फोन गर्न डाँडा उक्लिँदै जुम्लावासी

नेपाल टेलिकमले जिल्लाभर सिडिएमए फोन वितरण गरेको भए पनि सदरमुकाम चन्दननाथ नगरपालिकामै राम्रोसँग काम गर्दैन । चन्दनाथ–८ स्थित तलिउम स्वास्थ्य चौकी इन्चार्ज नरेन्द्र धरलाले फोन सेवा नभएकाले मौखिक खबर पठाएर काम चलाइरहेको बताए । त्यस्तै, पातारासी, गोठीचौर, तातोपानी, तिला, हिमा, सिजा र कनकासुन्दरी गाउँपालिकामा वितरित सिडिएमए फोनमा आवाज नै बुझिँदैन । कनकासुन्दरी गाउँपालिकाका दीपेन्द्र उपाध्यायले फोन गर्दा अग्लो डाँडामा जानुपर्ने गरेको बताए ।

तीन दिन हिँड्दै छार्कावासी

उपल्लो डोल्पा सञ्चारविहीन छ । यहाँका शे–फोक्सुन्डो, डोल्पो बुद्ध र छार्काताङसोङ गाउँपालिकामा फोनसेवा छैन । केही गाउँमा मोबाइलमा टावर आउने भए पनि सम्पर्क नहुने गरेको स्थानीय बासिन्दा बताउँछन् । साल्दाङ, भिजेर, छार्कालगायतका दर्जनौँ गाउँका बासिन्दा तीन दिनसम्म हिँडेर फोन भएको ठाउँमा पुग्छन् । ठूलीभेरी नगरपालिकाअन्तर्गत माझफालमा नमस्तेको टावर निर्माणाधीन अवस्थामा छ । यसअघि, २३ गाउँमा भिस्याट प्रविधिका फोन राखिएको भए पनि २० ठाउँका बिग्रिइसकेका छन् ।

सञ्चार नहुँदा कर्णालीका चार समस्या

१. अकालमा ज्यान जाने

टेलिफोन सेवा उपलब्ध भए बिरामीलाई तत्काल एम्बुलेन्स वा हेलिकोप्टर बोलाएर जुम्ला, सुर्खेत, नेपालगन्ज वा काठमाडौं लैजान सकिन्थ्यो, तर टेलिफोन नहुँदा कतिपय बिरामीलाई बचाउन सकिँदैन । ‘टेलिफोन सुविधा नहुँदा सुत्केरी महिलालाई सुविधासम्पन्न अस्पताल लैजानका लागि समयमै एम्बुलेन्स बोलाउन सकिने गरेको छैन, कतिपयको ज्यान जान्छ,’ तलिउम स्वास्थ्य चौकीका इन्चार्ज नरेन्द्र धरलाले भने ।

२. सञ्चार र प्रविधिबाट वञ्चित 

सञ्चार र प्रविधिको क्षेत्रमा तीव्र विकास भइरहँदा कर्णालीवासी सञ्चार र प्रविधिको माध्यमबाट वञ्चित छन् । जसले जनचेतना जगाउन नसकिएको प्रदेश सभा सदस्य जीवनबहादुर शाहीको भनाइ छ । साथै, कर्णालीवासीले घरबाहिर रहेका आफन्तसँग कुराकानी गर्नसमेत पाउँदैनन् ।

३. व्यापारमा समस्या
यस क्षेत्रमा पाइने यार्सागुम्बा, जटामसीलगायतको जडीबुटी निकासीबाट प्रशस्त आम्दानी भइरहेको छ । हुम्लाबाट चीनतिर काठ निकासी  हुन्छ । तर, टेलिफोन सुविधा नहुँदा बजारभाउको जानकारी नहुने तथा ठेकेदारसँग सीधै सम्पर्क नहुँदा बिचौलियाले ठग्ने गरेका छन् । जसले व्यापार–व्यवसाय विस्तारमा समस्या भइरहेको छ ।

४. पर्यटकलाई समस्या

यहाँका चर्चित गन्तव्य हिल्सा, रारा, शे–फोक्सुन्डोलगायतका ठाउँमा पुग्ने पर्यटकहरूले टेलिफोनको अभावमा सास्ती भोग्नुपरेको छ । पर्यटकलाई बसोवास, खानपिनको व्यवस्थापन गर्न समस्या कठिन हुन्छ । उनीहरू कहाँ पुगे भन्ने जानकरी राख्नसमेत गाह्रो हुने गरेको छ । अझ दुर्घटनामा परेका पर्यटकलाई उद्धारमा समस्या हुने गरेको छ ।

सेवा विस्तार जारी छ
प्रतिभा वैद्य
प्रवक्ता, नेपाल टेलिकम
ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्ने कार्यक्रम जारी छ । कर्णाली क्षेत्रमा टावर निर्माण गर्नमा समस्या हुने र भएका पनि मर्मतसम्भार हुन नसक्दा सेवा विस्तार नभएको हो । हेलिकोप्टरमार्फत सामान लग्नुपर्छ, जसले गर्दा खर्चिलो हुन्छ । तैपनि वार्षिक कार्यक्रममा परेकै हुन्छ । ग्रामीण दूरसञ्चार कोषको रकम पनि प्रयोग गर्न सकिन्छ, तर अहिले इन्टरनेट सेवाका लागि खर्च भइरहेको छ । Nayapatrika

प्रतिक्रिया