चेली फकाएर सीमा पार

चेली फकाएर सीमा पार

सन् ०१७ मा वीरगन्ज नाकाबाट भारत लगिँदै गरेका १ सय ५८ चेलीको उद्धार

पर्सा — चेलीबेटीलाई ललाई फकाई बिक्रीका लागि भारत लगिने घटनालाई निरुत्साहित गर्न सीमा नाकामा विभिन्न संघसंस्था र सुरक्षा निकायले नियमित निगरानी गरे पनि त्यस्ता घटनामा कमी आउन सकेको छैन ।

माइती नेपालको वीरगन्जस्थित आवधिक गृहले सन् २०१७ मा मात्रै १ सय ५८ चेली तथा बालबालिकालाई खबरदारी गरी घर फर्काउनुले पनि बेचबिखनमा सक्रिय व्यक्ति तथा गिरोह अझै पनि निरुत्साहित हुन नसकेको देखिएको छ ।
माइती नेपाल वीरगन्ज आवधिक गृह प्रमुख संगीता पुरीका अनुसार यस वर्ष सीमा क्षेत्रमा १४ हजार ४० लाई परामर्श दिइएको छ । सीमाबाट फर्काइएकाहरूमा १० वर्षसम्मका ७, ११ देखि १८ वर्ष उमेर समूहका ७५, १९ देखि ३० वर्ष उमेर समूहका ६७ र ३१ वर्षमाथिका ९ जना थिए । तीमध्ये पर्साका सर्वाधिक २९, बाराका १४, मोरङका १२, मकवानपुरका ११, धनुषाका ८, सर्लाही र कास्कीका ६/६, सिन्धुपाल्चोकका ५, दोलखा र रूपन्देहीका ४/४, दाङका ३, काठमाडौं, ललितपुर, रुकुम, कञ्चपुर, सिन्धुली, रामेछाप, नुवाकोट, गोरखा, तनहुँका २/२ र महोत्तरी, ओखलढुंगा, संखुवासभा, पाँचथर, सप्तरी, खोटाङ, उदयपुर, स्याङ्जा, बागलुङ, काभ्रे, धादिङ, पर्वत, बर्दिया, कैलाली, प्युठान र लमजुङका १/१ थिए । यसबाहेक नेपालमा बस्दै आएका १० भारतीय चेली पनि थिए ।
उद्धार गरिएकामध्ये ९८ चेली कक्षा ८ सम्म पढेका, १५ अशिक्षित, १२ साधारण लेखपढ गर्न सक्ने र ३३ एसएलसी वा त्यसभन्दा माथिसम्म पढेका थिए । यस अवधिमा गृहले भारतको विभिन्न सहरबाट २० महिला तथा बालबालिकालाई उद्धार गरी ल्याएको छ । तीमध्ये केहीलाई अर्केस्ट्रा र केहीलाई वेश्यालयबाट उद्धार गरिएको हो । यसमा गृहले भारतीय प्रहरीको सहयोग लिएको थियो ।
मुलुकको मुख्य नाका भएको तथा सीमापारि भारतीय सहर रक्सौलबाट दिल्ली, मुम्बई, कोलकाता जस्ता ठूला भारतीय सहरसम्म रेल–वे सेवा उपलब्ध रहेकाले पनि बेचबिखनमा संलग्न गिरोहले यो नाका बढी प्रयोग गर्छन् । डेढ दशकभन्दा लामो समयदेखि यो नाकामा माइती नेपाल तथा पछिल्लो ५ वर्षयता केआई नेपाल नामक संस्थाले पनि चेलीबेटीलाई सीमा निगरानी गर्ने काम गर्दै आएको छ ।
पछिल्ला केही वर्षयता यो नाकाबाट विगतमा जस्तो पहाडी जिल्लाका चेलीबेटीभन्दा
पर्सा, बारा, रौतहटका चेलीबेटीको बढी उद्धार हुने गरेकाले गिरोहले पहाडी जिल्लाभन्दा तराईका जिल्लामा आफ्नो उपस्थिति बढाएको अनुमान गरिएको छ ।

प्रतिक्रिया