‘प्रदेश सहिद’ का तस्बिर राख्न माग

‘प्रदेश सहिद’ का तस्बिर राख्न माग

उपसभामुखमा पुष्पा घर्ती
मस्यौदा समिति गठन

प्रदेशसभाको बैठकमा प्रदेशसभा हल तथा प्रदेश मन्त्रिपरिषद् कार्यालयमा सहिदका तस्बिर राख्न माग गरिएको छ । शनिबार बसेको प्रदेशसभाको तेस्रो बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीले प्रदेश प्राप्तिको आन्दोलनमा ज्यान गुमाएका चार सहिदको तस्बिर राख्न माग गरे ।

‘उपसभामुख पदमा पुष्पा घर्ती विष्टलाई निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा उनले प्रदेशसभा र प्रदेश मन्त्रिपरिषद् कार्यालयमा तत्काल सहिदका तस्बिर राख्न आग्रह गरे । प्रदेश स्थापनाका क्रममा ०७२ साउनरभदौमा सञ्चालित १३ दिने आन्दोलनमा सुर्खेतका यामबहादुर बीसी, गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कँुवरले ज्यान गुमाएका थिए ।
सांसद रेग्मीले सहिदको सम्मान गर्न नसके गन्तव्यमा पुग्ने सपना अधुरै रहने बताए ।
निर्वाचित भएपछि पहिलो लिखित मन्तव्य दिँदै सभामुख राजबहादुर शाहीले कुनै राजनीतिक दलको प्रभावमा नपरी तटस्थ भएर आफूले पदीय गरिमालाई कायम राख्ने प्रतिबद्धता जनाएका थिए । माघ २९ गते सभामुख चुनिएसँगै पहिलोपटक शनिबार प्रदेशसभा बैठक सञ्चालन गरेका हुन् । बैठकको प्रारम्भमा उनले प्रदेश प्रमुखबाट प्राप्त प्रदेशसभाका सांसद महेन्द्रबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त गरिएको ब्यहोराको पत्र पढेर सुनाएका थिए । मुख्यमन्त्री, सभामुख र उप–सभामुखलाई प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका तर्फबाट एमाले संसदीय दलका नेतायामलाल कँडेल, माओवादी केन्द्रका गोपाल शर्मा, कांग्रेका हिमबहादुर शाही र राप्रपाकी शोसिला शाहीले शुभकामना दिए ।

उपसभामुख घर्ती निर्वाचित
प्रदेश–६ को उप–सभामुखमा माओवादी केन्द्रकी सांसद पुष्पा घर्ती विष्ट र्निविरोध निर्वाचित भएकी छन् । सुर्खेतकी घर्ती समानुपातिक सांसद हुन् । एकल प्रस्तावको सूचना दर्ता भएपछि प्रदेशसभा बैठकले शनिबार उपसभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीले ‘घर्तीलाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनेर राखेको प्रस्तावमाथि एमाले सांसद मीना सिंह रखालले समर्थन जनाएकी थिइन् । सभामुख राजबहादुर शाहीले एउटा मात्र उम्मेदवारी परेकाले उनलाई प्रदेशसभाको उपसभामुख पदमा निर्वाचित भएको घोषणा गरे । घर्तीको उम्मेदवारीलाई कांग्रेस र राप्रपाका सांसदले समेत समर्थन जनाए । उपसभामुख घर्तीलाई सभामुख राजबहादुर शाहीले शनिबारै प्रदेशसभा सचिवालयमा पद तथा गोपनीयताको शपथ खुवाए ।

नियमावली मस्यौदा समिति गठन
बैठकले प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा समिति गठन गरेको छ । नेपालको संविधानको धारा १९४ बमोजिम प्रदेशसभाले आफ्नो बैठक, काम–कारबाही नियमित गर्नका लागि ९ सदस्यीय मस्यौदा समिति गठन गरेको छ । समितिमा सांसदहरू दलबहादुर रावल, दीनबन्धु श्रेष्ठ, धर्मराज रेग्मी, प्रकाश ज्वाला, मीना सिंह रखाल, यज्ञबहादुर बीसी, सीताकुमारी नेपाली र शोसिला शाही छन् । एमाले सांसद अम्मरबहादुर थापाले ‘प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गरियोस्’ भन्ने प्रस्ताव राखेका थिए । उनको प्रस्तावमाथि माओवादी केन्द्रका सांसद नरेश भण्डारी, कांग्रेस सांसद अमृता शाहीले समर्थन जनाएका थिए । सभामुखले निणयार्थ पेस गरेको उक्त प्रस्तावलाई सभाले सर्वसम्मत अनुमोदन गरेको थियो । समितिले १५ दिनभित्र मस्यौदा तयार गरेर सभामा प्रस्तुत गर्नुपर्नेछ । प्रदेशसभाको अर्को बैठक फागुन ९ गते बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया