संघीयता चुनौती : बैठक छाडेर प्रदेश सांसद सयरमा

संघीयता चुनौती : बैठक छाडेर प्रदेश सांसद सयरमा

संघीयता चुनौती : बैठक छाडेर प्रदेश सांसद सयरमा

फागुन १०सुर्खेत : प्रदेशसभाका सदस्यले संसद् बैठकसमेत ख्याल नगरी वीरेन्द्रनगरबाट बाहिरिएपछि बुधबार दिउँसो १ बजेका लागि डाकिएको प्रदेश ६ को संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

‘प्रदेशको नामकरण र राजधानी तोक्ने’ महत्वपूर्ण कार्यसूची रहेको प्रदेश ६ को प्रदेशसभाको चौथो बैठक बस्न सकेन । बहुसंख्यक सांसद उपस्थित नभएपछि प्रदेशसभा बैठक शनिबारसम्मका लागि सूचना टाँसेर स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाका अधिकांश सांसद संघीय राजधानी काठमाडौंतिर लागेका छन् । केही सांसदहरू सुर्खेतबाहिर गएका छन् । सबै सांसद उपस्थित हुन नसक्ने भएपछि बुधबारको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । प्रदेशसभा सचिवालयका अनुसार बुधबारको बैठकमा प्रदेशको नामकरण गर्ने र राजधानी तोक्ने कार्यसूची थियो । तर, अधिकांश सांसद जिल्लाबाहिर गएको र गहन विषयमा निर्णय गर्नुपर्ने भएकाले बुधबारको बैठक स्थगन गरिएको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार अब प्रदेशसभाको बैठक शनिबार दिउँसो १ बजे बस्नेछ । प्रदेशसभा सचिवालयका सचिव राजेश पौडेलले भने, ‘बुधबारको बैठकमा प्रदेशको नामकरण गर्ने र राजधानी तोक्ने कार्यसूची थियो, यो गहन विषय भएकाले सबै सांसदको उपस्थिति अनिवार्य हुन्छ । तर, बुधबार सबै सांसद बैठकमा सहभागी हुने स्थिति देखिएन । हामीले शनिबार सबै माननीयलाई उपस्थित गराउने गरी बैठकको सूचना टाँस गरेका छौं ।’

प्रमुख प्रतिपक्षी दलका नेतासहित अधिकांश सांसद वीरेन्द्रनगरमा छैनन् ।

प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफू उपचारका लागि काठमाडौंमा रहेको जानकारी दिए । उनले भने, ‘ऐतिहासिक विषयमा छलफल हुँदै छ, संख्याभन्दा पनि सबैको सहमतिमा निर्णय गर्दा राम्रो हुन्छ । सबै माननीय सहभागी भएर निर्णय लिँदा दीर्घकालीन हुन्छ, त्यसैका लागि बुधबारको संसद् बैठक शनिबारसम्म सरेको हो ।’

उनले प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत नै हुने दाबी गरे । यसमा दलबीच आन्तरिक सहमति र एकमत रहेको भन्दै उनले शनिबार औपचारिक निर्णय हुने बताए ।

सबै प्रदेशभन्दा पहिला प्रदेशको नाम र राजधानी सर्वसम्मत रूपमा टुंगो लगाएर प्रदेश ६ ले नमुना देखाउने उनको भनाइ छ ।

यस्तै, माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीले महत्वपूर्ण निर्णय गर्नुपर्ने र थप तयारी गर्नुपर्ने भएकाले बुधबारको संसद् बैठक स्थगन भएको बताए । उनका अनुसार शनिबारको बैठकमा प्रदेशको नाम र राजधानी तोक्ने एजेन्डामा छलफल हुनेछ । उनले भने, ‘सम्भवतः प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेतमै सहमति हुन्छ, यसमा सबैको धारणा एउटै रहेको छ ।’ शनिबार बस्ने बैठकले प्रदेशको नाम र राजधानी टुंगो लगाएर केही समयका लागि संसद् स्थगित गर्ने तयारी भइरहेको छ ।

तत्कालका लागि कुनै बिजनेस नभएकाले केही समयका लागि संसद् बैठक स्थगित गर्ने तयारी भइरहेको सचिवालयले जनाएको छ ।

यसैबीच, एमालेले प्रदेश नम्बर ६ को संसदीय दलको प्रमुख सचेतक नियुक्त गरेको छ । बुधबार वीरेन्द्रनगरमा बसेको संसदीय दलको बैठकले गुलाबजंग शाहलाई प्रमुख सचेतकमा नियुक्त गरेको हो ।

एमालेका केन्द्रीय सदस्य र पार्टीका सल्यान जिल्ला इन्चार्ज शाह सल्यान निर्वाचन १ (क) बाट निर्वाचित सांसद हुन् । यसअघि मन्त्रीको चर्चामा रहेका शाहलाई अन्तिम समयमा एमालेले ब्याक गरेको थियो । केन्द्रले प्रकाश ज्वालाको नेतृत्वमा सरकारमा सहभागी हुन निर्देशन दिएपछि शाह मन्त्री हुनबाट वञ्चित भएका थिए ।

प्रतिक्रिया