कमाउने रहरमा विदेश,फर्किएर बाख्रा पालन

कमाउने रहरमा विदेश,फर्किएर बाख्रा पालन

दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. ६ वइरीका मोहन वाग्ले केहि बर्ष अगाडी विदेश हानिए । स्थानीय स्तरमा आम्दानीको स्रोत नदेखेपनि पैसा कमाउने रहरमा विदेश हानिएका वाग्ले १८ महिना खाडी मुलुकमै रुमलिए ।

विदेश गएर आम्दानी गर्ने र घर परिवारको आवश्यकताहरु पुरा गर्ने मनसायले खाडी मुलुकमा पुगेका वाग्ले १८ महिना नवित्दै घर फर्कीए । विदेशको दुःख भन्दा गाउँमै व्यवसाय संचालन गर्ने सोच राखेर घर फर्कीएका वाग्ले केहि समय रनभुल्लमा परे । कुन व्यवसाय संचालन गर्दा राम्रो आम्दानी हुन्छ भनेर सोच्दा सोच्दै बर्ष कट्यो, उनले भने ‘एक बर्ष सम्म त कुन व्यवसाय संचालन गर्ने भनेर अन्योलमै बसे ।’

उनले बाख्रा पालन गरेर राम्रो आम्दानी हुने देखिएपछि आफ्नै लगानीमा बाख्राको खोर बनाए । उनलाई जिल्लामा संचालन भएको कृषि तथा खाद्य सुरक्षा आयोजनाले व्यवसाय संचालन गर्नका लागि सहयोग पनि दियो । खोर निर्माणका लागि ५० हजार, उन्नत जातको बोका खरिदका लागि १५ हजार र औषधी व्यवस्थापनका लागि २० हजार बराबरको सहयोग गरेपछि उनलाई झनै सहयोग पुग्यो । उनको खोरमा अहिले साना ठुला गरेर २८ वटा बाख्रा छन् ।

उनि जस्तै रहरै रहरमा विदेश हानिएका दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. ६ वइरीका मोहन वाग्ले पनि अहिले बाख्रा पालन व्यवसायमै छन् । कमाउन बिदेश गएका डुङ्गेश्वर गाउँपालिका ६ का दुई जना पौरखी यूवाहरु मोहन वाग्ले र डम्वर वाग्ले बिदेशमा दुःख गर्नुभन्दा गाउँमै दुःख गरे राम्रो आम्दानी हुने भन्दै उन्नत बाख्रा पालनमा होमिएका छन् ।

कमाउने उदेश्यले १८ महिना मलेसिया बसेर अव विदेश नजाने भन्दै उन्नत बाख्रा पालनमा लागेका वाग्ले र डम्वर वाग्लेले उन्नत खोर निर्माण सँगै एक सय बढी बाख्रा, खसी र बोका पालन व्यवसाय संचालन गरिरहेका छन् । उनिहरुको बाख्रा फर्म हेर्न जाने जो कोहीले पनि युवाहरुले गरेको राम्रो कामको स्यावासी दिने गरेका छन् ।

१८ महिना मलेसिया बसेर फर्केका माहेन वाग्लेले आफुहरुले अव नेपालमै मेहनत गर्ने अभियान अनुसार उन्नत बाख्रा पालन गरेको बताए । गाउँपालिकाले अव हामिजस्ता मेहनती किसानहरुलाई सहयोग गर्नुपर्दछ । उनीमात्र हैनन नेपाली सेनाको जागिर छोडेर रिटायर भएका बखत पराजुलीले पनि गाउँमै उन्नत बाख्रापालन व्यवसाय गरेका छन् । आम्दानी पनि निकै राम्रो छ । व्यवसायीक रुपमा बाख्रा पालन व्यवसायमा लागेका कृषकहरुले खेती गर्ने बारीभरी बाख्रालाई खुवाउने घाँस रोपेका छन् । उनिहरुको खोरमा उन्नत जातको बाख्रा र खसि छन् ।

बिदेश जान छाडेर दैलेखका बिभिन्न स्थानहरुमा उन्नत बाख्रा पालन व्यवसाय सुरु गरेका यूवा कृषकहरुले परिवर्तीत संरचना अनुसार उत्साही र मेहनती कृषकहरुलाई लगानी बढाउनुपर्ने सुझाव दिएका छन् । बाख्रा पालनको राम्रो संभावना बोकेको दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. ६ का कृषक मोहन वाग्लेले भने ‘परिवर्तीत संरचना अनुसारका स्थानीय तहहरुले जिल्ला पशुसेवा कार्यालय दैलेखले गरेको सहयोगलाई निरन्तरता प्रदान गर्दै थप सहयोग गर्नुपर्छ ।’

जिल्ला पशुसेवा कार्यालय दैलेख द्धारा संचालित कृषि तथा खाद्य सुरक्षा आयोजनाले बाख्रा मिसन कार्यक्रम अन्तरगत मेहनती र पौरखी किसानहरुलाई उन्नत खोर, डिप ट्याँकी र बोका खरिदका लागि सहयोग प्रदान गरेको जिल्ला पशु सेवा कार्यालय दैलेखका प्रमुख डा. शितलवावु श्रेष्ठले बताए । कृषि तथा खाद्य सुरक्षा आयोजनाका जिल्ला प्राविधिक अधिकृत मुकेश पंजियारका अनुसार बाख्रा पालन गर्ने कृषकहरुले उन्नत जातको बोयर बाख्रा उत्पादनका लागि कृतिम गर्भाधानको समेत व्यवस्थापन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, जिल्ला पशुसेवा कार्यालय दैलेखका प्रमुख डा. सितलबावु श्रेष्ठ गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुुर मल्ल, जिल्ला समन्य समिति दैलेखका सदस्य बाल कृष्ण केसी सहितको टोलीले कृषकहरुको घरमै पुगेर कृषकहरुका समस्याको बारेमा स्थलगत अध्ययन गरेको छ ।

स्थलगत अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले विभिन्न व्यवसाय संचालन गरेका युवा कृषकहरुलाई निरन्तताका लागि स्थानीय तहले कृषिका कार्यक्रमहरु संचलान गर्न आग्रह गरे । डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्लले गाउँपालिका भित्र रहेका कृषकहरुलाई प्रोत्साहन दिनका लागि कृषिका कार्यक्रमहरु संचालन गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया