चुप्रामा औद्योगिक ग्राम स्थापना शुरु

चुप्रामा औद्योगिक ग्राम स्थापना शुरु

दैलेख जिल्लामा पहिलो पटक भोली देखी औद्योगिक ग्राम स्थापना कार्यको शुरु हुन लागेको छ । जिल्ला लघु उद्यमी समूह संघ, दैलेख र डुङ्गेश्वर गाउँपालिका बुधबार औद्योगिक ग्राम निर्माणका लागि सम्झौता भएको छ । डुङ्गेश्वर गाउँपालिकाको वडा नं. १ चुप्राको गैरी गाउँमा औद्योगिक ग्राम स्थापना हुन लागेको हो ।


जिल्ला लघु उद्यमी समूह संघ, दैलेखका अध्यक्ष कविराज खत्री र डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लबीच औद्योगिक ग्राम स्थापना गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो । यस वर्ष पहिलो चरणमा उक्त क्षेत्रमा ढाका उद्यम प्रशिक्षण केन्द्र स्थापनाका लागि संरचना निर्माण गर्ने र आगामी वर्ष केन्द्रमा प्रस्तावना पेश गरी अन्य पाँच वटा उद्यम संचालनका लागि संरचना निर्माण गर्न बजेटको ब्यवस्थापन गर्ने, उक्त कार्यको गाउँपालिका र सम्बन्धित वडाले पहल गर्ने उल्लेख छ ।
लघु उद्यम विकास कार्यक्रम क्षेत्रीय कार्यक्रम सहयोग कार्यालय, सुर्खेतको साझेदारी, जिल्ला लघु उद्यमी समूह संघ, दैलेखको सहजीकरण तथा पहल, वडा कार्यालयको अगुवाई तथा नेतृत्वमा उक्त सम्झौता भएको हो ।

दैलेख जिल्लाको मात्र नभई गणतन्त्र संस्थागत भए पछिको कर्णाली प्रदेशको पहिलो औद्योगिक ग्राम दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकाको चुप्रा बजारमा स्थापना हुने भएकाले यसको महत्व उल्लेखनीय हुने र करिब १ सय जना उद्यमी स्वरोजगार हुने कुरामा आफुले थप पहल गर्ने गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले बताउनु भएको छ । यसै गरी सोही वडाका वडा अध्यक्ष लोकराज डागीले औद्योगिक ग्रामको संरचना गुणस्तरीय बनाउन, यहाँका लघु उद्यमीहरुलाई थप स्वरोजगार बनाउन आफु कम्मर कसेर लागि पर्ने र चुप्रालाई लघु औद्योगिक हव बनाउने प्रतिवद्धता जाहेर गर्नु भयो । हस्ताक्षरकर्ता जिल्ला लघु उद्यमी समूह संघ, दैलेखका अध्यक्ष कविराज खत्रीले ७ वर्षदेखीको यो प्रयास पहिलो पटक डुङ्गेश्वर गाउँपालिकाले पुरा गरेकोमा आफु खुसी भएको बताउनु भयो । यसै गरी जिल्ला लघु उद्यमी समूह संघको पहलमा जिल्लाका हरेक गाउँपालिका र नगरपालिकामा एक एक वटा औद्योगिक ग्राम स्थापना गरी जिल्लाका अधिकांश लघु उद्यमीलाई स्वरोजगार बनाउन कुनै कसुर बाँकी नराखी संथागत पहल गर्ने बताउनु भयो । सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा जिल्ला लघु उद्यमी समूह संघ, दैलेखका कार्यक्रम संयोजक अन्जुराना, लेखापाल भरत रावत र चुप्राका सफल उद्यमी युवराज तिमिल्सेना लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया