सक्रिय शिक्षण सिकाई सम्बन्धि तालिम

सक्रिय शिक्षण सिकाई सम्बन्धि तालिम

दैलेख फागुन १८– दैलेख जिल्लाका आधारभुत विद्यालयका शिक्षकहरुलाई सक्रिय शिक्षण सिकाई सम्बन्धि ५ दिने तालिम प्रदान गरिएको छ । गत आइतवारबाट सुरु भएको तालिम विहिवार सकिएको हो । जिल्ला शिक्षा कार्यालय दैलेखको समन्वय तथा सेभ द चिल्ड्रेनको सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझदारीमा सञ्चालित सहयात्रा परियोजनाको आयोजनामा उक्त तालिम प्रदान गरिएको हो । सहयात्रा परियोजनाको कार्यक्षेत्रमा रहेका आधारभुत विद्यालयका १६ जना शिक्षकहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
तालिम समापन कार्यक्रममा बोल्दै जिल्ला शिक्षा कार्यालय दैलेखको निमित्त जिल्ला शिक्षा अधिकारी हरि बहादुर खत्री निजी विद्यालयको तुलनामा सरकारी विद्यालयको शैक्षिक गुणस्तर खस्किदै गएको भन्दै सरकारी विद्यालयका शिक्षकहहरुलाई शैक्षिक गुणस्तर विकासका लागि दत्तचित्त भएर लाग्न आग्रह गरेका छन् । शिक्षा क्षेत्र अध्यरोलाई हटाउने माध्ययम भएको बताउदै खत्रीले जिल्ला शिक्षा कार्यालय दैलेखले प्रदान गर्नुपर्ने तालिम सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले प्रदान गरेकोमा धन्यवाद दिएका छन् । यस्ता तालिमहरुले शिक्षकहरुको क्षमता विकासमा सहयोग पुग्ने खत्रीको धारणा थियो ।
यस्तै सेभ द चिल्ड्रेनका जिल्ला कार्यक्रम संयोजक अम्बिका प्रसाद तिमिल्सेनाले मुलुक समृद्ध बनाउनका लागि शिक्षा क्षेत्र महत्वपूर्ण रहेको भन्दै शिक्षकहरुलाई हजारौ बालबालिकाहरुको भविष्य माथी खेलवाड नगर्न आग्रह गरेका छन् । उनले बालबालिका भविष्यमा कर्णधार भएको बताउदै तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्न आग्रह गरे ।
यस्तै सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष मञ्जु खड्काले तालिममा प्रदान गरिएका विषयहरुलाई फिल्डमा गएर लागु गर्न अनुरोध गरिन् । बालबालिकाहरुको सुनौलो भविष्य निर्माणको जिम्मा शिक्षकहरुको काँधमा भएको बताउदै खड्काले शिक्षकहरुमा भएको दक्षता र क्षमतालाई व्यवहारमा उतार्न आवश्यक रहेको बताइन् । ५ दिन सम्म संचालन भएको तालिमको स्याक नेपाल सुर्खेतका खगेन्द्र भण्डारीले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया