जाजरकोटमा भारी मात्रामा हतियार बरामद, २ जना पक्राउ

जाजरकोटमा भारी मात्रामा हतियार बरामद, २ जना पक्राउ

१८ फागुन, जाजरकोट । जाजरकोट प्रहरीले भारी मात्रामा हतियार बरामद गरेको छ । जुनिचाँदे गाउँपालिका-११ कोर्ताङ स्थित चन्द्रबहादुर शाहीको घरबाट बन्दुक, गोलीलगायतका हतियारहरु बरामद भएको हो ।

बाह्रबोर बन्दुक २ थान, भरुवा बन्दुक ३ थान, दुई नाले बन्दुक १ थान, इयर गन १ थान, भरुवा बन्दुकमा प्रयोग हुने सिसाको गोली, बाह्रबोर बन्दुकमा प्रयोग हुने ७ थान खोका लगायतका हातहतियार बरामद भएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिए ।प्रमुख जिल्ला अधिकारी शाहीले  भने, ‘यी हतियार माओवादी जनयुद्धकालका भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीले विस्तृत अनुसन्धान गर्दैछ ।’अनुसन्धानका लागि चन्द्रबहादुर शाही र नेत्र शाहीलाई नियन्त्रणमा लिइएको छ । उनीहरू बाबु-छोरा हुन् । उनीहरुमाथि अनुसन्धान जारी छ ।

जाजरकोटमा यसअघि पनि पटक-पटक ठूलो परिमाणमा हतियारहरु बरामद हुँदै आएको छ । स्थानीय चुनावताका पनि खलंगा-८ पिपेस्थित रानीवनमा लुकाइराखेको हतियार बरामद भएको थियो ।

प्रतिक्रिया