दैलेखमा पनि सिरिया घटनाको विरोध

दैलेखमा पनि सिरिया घटनाको विरोध

दैलेख, फागुन १८ – सिरियाको दमास्कस नजिक त्यहाको विद्रोही नियन्त्रित क्षेत्रमा बालबालिका सहित निशस्त्र व्यक्तिहरु माथि भएको आक्रमणको विरोध गर्दै युद्ध रोकी सर्वसाधारणको बाँच्न पाउने हकको सुनिश्चितता गर्न आज दैलेखका नागरिक समाज संस्थाहरुले आग्रह गरेका छन् ।
त्यहाँको आन्तरिक द्वन्द्व गृहयुद्धमा फसेपछि गत हप्ता मात्र डेढ सय जति बालबालिका सहित झण्डै पाँच सय भन्दा बढी सर्वसाधारण नागरिकको हत्या भएको अवस्थामा युद्ध रोकी, प्रभावितहरुको उद्धार, राहत तथा पुनस्र्थापना सहयोग पु¥याउन माग गरिएको छ ।
विज्ञप्तीमा निशस्त्र व्यक्तिलाई नियन्त्रणमा लिन वा आक्रमण गर्न नपाइने युद्धका सामान्य नियम समेत पालन नगरिएको र युद्ध विरामी घोषणा गरेको समयमा समेत त्यहाँ खाद्यन्न पु¥याउन विद्रोही पक्षले अवरोध सिर्जना गरेकोमा आपत्ति जनाइएको छ ।
नागरिक समाज दैलेख अध्यक्ष खड्गबहादुर सिजापति, इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार र सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखका महासचिव नैनबहादुर शाहीले जारी गर्नुभएको सो विज्ञप्तीमा सिरियाको आन्तरिक द्वन्द्व समाधान गरी राजनीतिक अधिकार सुनिश्चिता गर्न संयुक्त राष्ट्र संघ लगायतका निकायहरुको ध्यानाकर्षण गरिएको छ ।
यसैबीच सिरियामा मारिएका डेढ सय जति बालबालिका सहित झण्डै पाँच सय भन्दा बढी निशस्त्र नागरिकको सम्झनामा शुक्रवार साँझ दैलेख सदरमुकामको देवकोटाचोकमा मैनबत्ति बालिको थियो । त्यसअघि १ मीनेट मौनधारण समेत गरिएको थियो ।

प्रतिक्रिया