संसदको राजनीतिक दृश्य : कोही फकाउने, कोही निदाउने !

संसदको राजनीतिक दृश्य : कोही फकाउने, कोही निदाउने !

कांग्रेसको मन मधेसवादीमा, मधेसीको मन केपी ओलीमा

सोमबारबाट सुरु भएको प्रतिनिधिसभाको अधिवेशनको दोस्रो दिन मंगलबार दलका शीर्षनेताहरुले रोष्टमबाट सम्वोधन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिने कार्यक्रम थियो । संसदमा शीर्षनेताहरुको सम्वोधन सुन्दा अब देशका प्रमुख राजनीतिक दलहरुका एजेण्डा के हुन् भन्ने अनुमान लगाउन सजिलो हुने देखिएको छ ।तर, प्रधानमन्त्रीलाई धन्यवाद दिने आफ्नो सम्वोधनमै नेताहरुवीच ‘साम-दाम…’ नीतिसमेत प्रयोग गर्ने प्रयासहरु भए ।

सत्तापक्षले सरकार सञ्चालनमा विपक्षीबाट अवरोध नहोस् भन्ने तीव्र चाहना राखेको देखियो भने प्रतिपक्षले चाहिँ ओली सरकारलाई हनिमुनसम्म मनाउन नदिई कडारुपमा प्रस्तुत हुने संकेत गरेको पाइयो । भलै संविधान संशोधन र शान्ति प्रक्रियामा चाहिँ कांग्रेसले वाम सरकारलाई सघाउने बतायो ।

मधेसवादी दलहरुले संविधान संशोधन हुनुपर्ने र सिंहदरबारले आफूहरुलाई पनि सम्झनुपर्ने भन्दै सरकारमा समेट्न मनसाय प्रकट गरेको संकेत नेताहरुको सम्वोधनमा प्रकट भयो ।

रोचक चाहिँ के देखियो भने संसदमा एक अर्कालाई फकाउनका लागि नेताबीच प्रतिस्पर्धा नै चल्यो ।कांग्रेसले मधेसप्रति एकतर्फी माया देखाएको पाइयो । तर मधेसी नेताहरुले भने कांग्रेसलाई कुनै भाउ दिएनन् । बरु, घुमाई-फिराई उनीहरु प्रधानमन्त्रीलाई खुशी बनाउन र सरकारमा जान तल्लीन देखिए ।

एमालेले विपक्षीबाट रचनात्मक काम हुनुपर्छ भन्दै कांग्रेसलाई फकाउन खोजिरहेको थियो भने कांग्रेसले संविधान संशोधन हुनुपर्छ भन्दै मधेसवादीलाई फकाउने प्रयास गरेको स्पष्टै देख्न सकिन्थ्यो ।

माओवादीले अब हिंसाको बाटोबाट सफल भइन्न भन्दै विप्लव माओवादीलाई सम्झाउने प्रयत्न संसदबाट गरेको देखिन्थ्यो । उता मधेसवादी नेताहरुले चाहिँ प्रधानमन्त्री केपी ओलीलाई राम्रैसँग फकाएको देखियो ।

विपक्षीलाई सम्झाउँदै एमाले

बैठकको सुरुमै सबैभन्दा ठूलो सत्तारुढ दल नेकपा एमालेका तर्फबाट पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदलाई सम्वोधन गरे ।

सम्वोधनका क्रममा उनले विपक्षीहरुलाई रचनात्मक हुन र सरकारले उठाएका राम्रा कामलाई समर्थन जनाउन आग्रह गरे । विरोधका लागि मात्रै विरोध गर्न भन्दै उनले विपक्षीलाई सम्झाउने प्रयास गरेको देखिन्थ्यो ।

सम्वोधनका क्रममा एमाले नेता नेपालले प्रधानमन्त्रीलाई शक्तिशाली बनाउनुपर्ने र संसदीय समिति, अख्तियार, अनि अदालतले प्रधानमन्त्रीको खुट्टा तान्ने काम गर्न नहुने आशय प्रकट गरे ।

देशमा हुने राम्रा र नराम्रा सबै कामको जश र अपजस सरकारले लिने भएकाले सरकारलाई यसो गर र उसो नगर भनेर अप्ठ्यारो पार्न नहुने नेता नेपालको आशय थियो । एमाले नेता नेपालले अदालत र अख्तियारको नामै लिएर संसदमा बोलेका थिए ।

एमाले नेता नेपालको प्रस्तुती हेर्दा उनीभित्र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ओली सरकारप्रति आक्रामक रुपमा प्रस्तुत हुने हो कि भन्ने शंसय देखिन्थ्यो ।

सम्वोधनमा निकै समय खर्च गरेका एमाले नेता नेपालले मधेसवादी दलहरुका बारेमा भने खासै धेरै बोलेनन् । बरु उनले डुब्न लागेको देशलाई एउटा माझी चाहिएको र एउटा मान्छेको खोजी भइरहेको भन्दै भावुक भाषण गरे ।

एमाले नेता नेपालले विपक्षी दल नेपाली कांग्रेसलाई आवश्स्त पार्ने प्रयास गर्दै वामपन्थीको सरकार बन्दैमा लोकतन्त्रलाई प्रतिकुल असर नपर्ने बताए ।

कम्युनिष्टहरु लोकपि्रय भएकाले जनताले जिताएको भन्दै नेता नेपालले वामपन्थीहरु लोकतन्त्रप्रति प्रतिवद्ध भएको बताए । उनको यो ‘प्रतिवद्धता’ पनि प्रमुख विपक्षी कांग्रेसलाई फकाउनेतर्फ नै लक्षित थियो ।

संविधान संशोधनमा कांग्रेसको जोड

एमाले नेता माधव नेपालले बोलिसकेपछि संसदमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले मन्तव्य दिए ।

सोमबार संसदीय दलको नेतामा निर्वाचित भएकै दिन देउवाले सरकारलाई सय दिन हनिमुनसमेत मनाउन नदिने बताएका थिए ।

मंगलबार संसदमा सम्वोधन गर्ने क्रममा पनि देउवा सरकारको आलोचना गरे । तर, आफूहरु शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारलाई सघाउन तयार रहेको उनले बताए ।

संसदमा बोल्ने क्रममा देउवाले प्रधानमन्त्री केपी ओलीलाई बधाइ दिए । ‘देउवाले चुनावै गराउँदैन भन्नुहुन्थ्यो, अहिले प्रधानमन्त्री हुनुहभएको छ’ भन्दै उनले ओलीलाई बधाइ दिए ।

आफ्नो सम्वोधनमा कांग्रेस सभापति देउवाले मधेसी दलका नेतालाई फकाउने प्रयास गरे । उनले संविधान संशोधन हुनैपर्ने र सर्वस्वीकार्य बनाइनुपर्नेमा विशेष जोड दिए । देउवाले संविधानमा मधेसीहरुको भावनालाई समेट्न संशोधन गर्न सरकार तयार रहेको भन्दै खुशी प्रकट गरे ।देउवाले संविधानका आधारभूत संरचनाहरु परिवर्तन नगर्न, अदालतलाई नधम्क्याउन र प्रेसलाई नतर्साउन सरकारलाई चेतावनीसमेत दिन भ्याए ।तर, यससँगै देउवाले संविधानका आधारभूत संरचनाहरु परिवर्तन नगर्न, अदालतलाई नधम्क्याउन र प्रेसलाई नतर्साउन सरकारलाई चेतावनीसमेत दिन भ्याए । सरकारमाथि कांग्रेस सभापति देउवाले लगाएका आरोपहरु यस्ता थिए कि सरकार अदालत र प्रेसलाई तर्साइरहेको छ अनि संविधानका आधारभूत संरचनाहरुलाई भत्काइरहेको छ ।

शेरबहादुर देउवाभन्दा पछाडि संसदलाई सम्वोधन गरेका सत्तारुढ दलका नेता प्रचण्डले विपक्षी दलका नेताका आरोपहरुको कुनै खण्डन गरेनन् । बरु, संविधान संशोधन हुनुपर्ने देउवाको भनाइमा हाँमा हाँ मिलाउँदै प्रचण्डले आफू मध्यविन्दूको नेता भएको दाबी गरे ।

माओवादीः मध्युविन्दुमा बसेर विप्लवलाई सम्झाउँदै

एकाध महिनामा एमालेसँग पार्टी एकता गर्न लागेको नेकपा माओवादी केन्द्रका नेता प्रचण्डको संसदको सम्वोधन पनि स्मरण गर्न लायक थियो । उनले आफ्नो सम्वोधनमा माओवादी पार्टी र आफूले खेलेको ऐतिहासिक भूमिकाबारे बोल्न छुटाएनन् ।

अब हिंसाको बाटोबाट कोही पनि सफल नहुने भन्दै प्रचण्डले हिंसात्मक बाटोविनै परिवर्तनलाई संविधानले मार्गप्रशस्त गरेको बताए । उनले सबैलाई हिंसाको बाटो छाडेर प्रतिस्पर्धात्मक बाटोमा आउन आग्रह गरे । उनको यो संकेत विप्लव समूहतिर लक्षित थियो ।

सम्वोधनका क्रममा प्रचण्डले सबैले मिलेर देशलाई एकतावद्ध बनाउँदै समृद्धिको बाटोमा जानुपर्ने बताए । एकहातले ताली बज्दैन भन्दै उनले शान्ति प्रक्रियामा कांग्रेसले खेलेको भूमिकालाई पनि सम्झे ।प्रचण्डले आफू सधैं नेपाली राजनीतिको मध्यविन्दु र केन्द्रविन्दुमा रहेको बताउँदै संविधानलाई सर्वस्वीकार्य बनाउन सरकारले संविधान संशोधन गर्नुपर्ने बताए ।एमाले नेता माधव नेपालले जसरी कांग्रेसलाई सम्झाउने प्रयास गरेका थिए, प्रचण्डले चाहिँ विप्वल माओवादीको नाम नलिई उसलाई सम्झाउने प्रयास गरे । सम्वोधनका क्रममा एमाले नेता माधव नेपालले जसरी कांग्रेसलाई सम्झाउने प्रयास गरेका थिए, प्रचण्डले चाहिँ विप्वल माओवादीको नाम नलिई उसलाई सम्झाउने प्रयास गरे ।

संसदमा माओवादी नेताको प्रस्तुती एमाले नेताको भन्दा यसअर्थमा फरक थियो कि प्रचण्डले संविधान संशोधनको वकालत गरे, माधव नेपालले त्यसबारे बोलेनन् ।

ओलीलाई खुशी पार्दै मधेसी नेता

संसदमा राजपा नेता राजेन्द्र महतो र फोरम नेता उपेन्द्र यादवले पनि सम्वोधन गरेका थिए । दुई नेताले बेग्लाबेग्लै भाषामा सम्वोधन गरेका भएता पनि सम्वोधनको भावचाहिँ दुबैको लगभग एउटै थियो ।

मधेस र पहाड सबैलाई सम्वोधन गरेर सरकारले कसैलाई भेदभाव नगरी अघि बढ्नुपर्ने महतो र यादव दुबै नेताको सार थियो ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । राजपा पनि सरकारमा जाने मुडमा देखिएको छ ।

यो अवस्थामा मधेसवादी दलका नेताले सरकारलाई कांग्रेसले जस्तो कुनै धम्की दिएनन् । उनीहरुले ओली सरकारको आलोचना पनि गरेनन् ।

संविधान संशोधन भएन र मधेसलाई सम्मानजनक व्यवहार भएन भने आन्दोलन र लडाइँँ जारी रहनसक्ने भन्दै ‘सफ्ट’ धम्कीको प्रयोग गर्दै मधेसवादी नेताहरुले ओलीसँगै मिलेर अघि बढ्न तयार रहेको बताए ।

संविधान संशोधन गर्ने र मधेसलाई पनि समेटेर अघि बढ्ने हो भने केपी ओलीलाई साथ दिन आफूहरु तयार रहेको राजपा नेता महतोले बताउँदा प्रधानमन्त्री ओलीले उनको भाषण गम्भीरतापूर्वक सुनिरहेका थिए ।

कांग्रेस र मधेसी दलवीच एकतर्फी प्रेम !

मंगलबारको संसद बैठकमा देखिएको रोचक राजनीतिक परिदृश्य के हो भने कांग्रेसले मधेसप्रति एकतर्फी माया देखाएको पाइयो । तर मधेसी नेताहरुले भने कांग्रेसलाई कुनै भाउ दिएनन् । बरु, घुमाई-फिराई उनीहरु प्रधानमन्त्रीलाई खुशी बनाउन र सरकारमा जान तल्लीन देखिए ।

कांग्रेस नेता देउवाले आफ्नो भाषणमा संविधानलाई सर्वस्वीकार्य बनाइनुपर्ने, मधेसीका मागहरु समेटिनुपर्ने कुरा उठाएर मधेसी दलको ध्यान आफूतिर तान्न खोजेका थिए ।मंगलबारको संसद बैठकमा विद्रोह र आगो बाल्ने कुरा कमै सुनिए । बरु त्यसको सट्टामा विकास अनि समृद्धिका शब्दहरु बढी सुन्न पाइयो ।

तर, मधेसी नेताहरुले चाहिँ सरकारले मधेसलाई पनि समेट्नुपर्ने भन्दै सरकारमा जान खोजेको स्पष्टै देखिन्थ्यो नेताहरुको अभिव्यक्तिबाट ।

समृद्धिको भाषण !

मंगलबारको संसद बैठकमा विद्रोह र आगो बाल्ने कुरा कमै सुनिए । बरु त्यसको सट्टामा विकास अनि समृद्धिका शब्दहरु बढी सुन्न पाइयो ।

राजपा नेता राजेन्द्र महतोले विगतमा आफ्ना हरेक भाषणमा मधेसले अधिकार नपाएको, आन्दोलन जरुरी रहेको र संघर्ष नगरी मधेसले अधिकार नपाउने आदि पदावलिहरु प्रयोग गर्थे । तर, मंगलबार संसदमा उनी विकासवादी नेताका रुपमा प्रस्तुत भए ।

राजपा नेता महतोले देश धनी भयो भने जनताले अधिकार पाउने र मधेसले पनि अधिकार पाउने बताए । अहिले विवाद बढाउने समय होइन भन्दै महतोले अब मधेस, हिमाल, पहाड सबैतिरका जनताले के चाहन्छन् भन्ने बुझेर समृद्धि एवं विकासतिर लाग्नुपर्ने बताए ।

सम्वोधनका क्रममा उपेन्द्र यादवले पनि स्रोत साधनहरुले सम्पन्न देशलाई समृद्धितर्फ अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

अरुबेला राजनीतिक एजेण्डाहरु र अरुको आलोचनामा मात्रै समय खर्चिने नेताहरुले मंगलबारको सम्वोधनमा विकास र समृद्धिका पक्षमा समय खर्चनुलाई उनीहरुमा आएको सकारात्मक परिवर्तन मान्न सकिन्छ ।

निदाउनेे र भत्ता पचाउने थलो !

बैठकमा भत्ता पचाउनकै लागि हाजिर गरेर बाहिरिने अनि कुर्सीहरु खाली बनाउने रोग पनि प्रतिनिधिसभा बैठकको प्रारम्भबाटै भित्रिएको छ, नयाँ बानेश्वरमा ।

त्यसो त संसदलाई कतिपय राजनीतिशास्त्रीहरुले ‘गफ गर्ने अखडा’का रुपमा पनि आलोचना गर्दैर् आएका छन् । जनताको प्रतिनिधित्व हुने यो थलोलाई कामकाजी बनाउन नसक्दा यस्ता आलोचना हुने गरेका हुन् ।

मंगलबारको बैठकमा पनि केही सांसदहरुले संसद बैठकलाई सुत्ने थलोका रुपमा प्रयोग गरेको देख्न पाइयो ।

बैठकलाई शीर्षनेताहरुले सम्वोधन गरिरहँदा कतिपय सांसदहरु निदाइरहेका थिए । कोही ठूलो मुख बाएर हाई काढिरहेका थिए भने कोही मोबाइल खेलाइरहेका अवस्थामा देखिए ।

बैठकमा भत्ता पचाउनकै लागि हाजिर गरेर बाहिरिने अनि कुर्सीहरु खाली बनाउने रोग पनि प्रतिनिधिसभा बैठकको प्रारम्भबाटै भित्रिएको छ, नयाँ बानेश्वरमा ।

मंगलबारको बैठकमा नेकपा एमालेका तर्फबाट माधवकुमार नेपाल, नेपाली कांग्रेसका शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय जनता पार्टीका राजेन्द्र महतो र संघीय समाजवादी फोरमका उपेन्ऽ यादवले सम्वोधन गरेका थिए ।

त्यसैगरी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङदेनले पनि प्रधानमन्त्री केपी ओलीलाई शुभकामना दिएका थिए । नयाँशक्ति पार्टीका डा. बाबुराम भट्टराई भने संसदमा उपस्थित नभएकाले बोलेनन् । Online khabar.

प्रतिक्रिया