बालविवाह गर्नेलाई १ महिना कैद र १० हजार जरिवाना

बालविवाह गर्नेलाई १ महिना कैद र १० हजार जरिवाना

दैलेख–उमेर नपुगेकी बालिकासंग विवाह गरेको आरोपमा दैलेखमा एक बयस्कलाई दैलेख जिल्ला अदालतले एक महिना कैद र दश हजार जरिवाना गरिएको छ ।
नारायण नगरपालिका–११ बिन्ध्यवासिनीका २६ वर्षीय हेमन्त थापालाई उक्त सजाय भएको अदालतका प्रवक्ता नायव सुब्बा बिनोद आचार्यले जानकारी दिएका छन् । नौमूले गाउँपालिका–८ चौराठाकी १५ वर्षीया परिवर्तित नाम भावना रानालाई विवाह गरेको पुष्टी भएकोले सो सजाय भएको बताइएको छ ।
सोही मुद्दाको सन्दर्भमा बालिकालाई विवाह गराउन फकाएको आरोपमा नारायण नगरपालिका–११ बिन्ध्यवासिनीकै गगनबहादुर थापा र शेरबहादुर थापालाई पनि प्रति व्यक्ति एक–एक हजार रुपैंयाँ जरिवाना भएको प्रवक्ता आचार्यले बताए ।
गएको असोज २८ गते राति आमा बुबा घरमा नभएको मौकामा फकाएर गरेको भन्दै विवाह गराइएकी भनिएकी भावना रानालाई फिर्ता लिएर आमाले कात्तिक २ गते प्रहरीमा जाहेरी दिएको आधारमा जिल्ल सरकारी वकील कार्यालयले कात्तिक २२ गते दैलेख जिल्ला अदालतमा बालविवाह मुद्दा चलाएको थियो ।
जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट भएको फैसलामा अदालतमा पेश भएको प्रमाण आधारमा बालविवाह गरेको ठहर गर्दै बालिका चाहिं आमाबुबासंग गइसकेकोले विवाहको मान्यता कायम नरहने उल्लेख छ ।
२०६८ को जनगणनाको तथ्यांक अनुसार जनसंख्याको अनुपातमा बालविवाह धेरै हुने जिल्लामा दैलेख तेश्रो स्थान छ । प्रतिशतका हिसावले ३२ दशमलव २५ प्रतिशत भए पनि बालविवाहको मुद्दा अदालतसम्म आई पुगेको यो दोश्रो मुद्दा यो । पाँच वर्ष अघि परेको बालविवाह सम्वन्धी पहिलो मुद्दा पीडित बालिका नै होष्टायल भएपछि मुद्दा खारेज भएको थियो ।

प्रतिक्रिया