कर्णाली प्रदेशसभाको लोगो तयार

कर्णाली प्रदेशसभाको लोगो तयार

सुर्खेत — कर्णाली प्रदेशसभा नियमावली मस्यौदा समितिले प्रदेशको नक्सालाई महिला–पुरुष दुवैका हातले उचालेको र सिरानमा राष्ट्रिय झन्डा र तल कर्णाली प्रदेशसभा लेखिएको प्रस्ताव गरेको छ । प्रस्ताव पारित भएपछि लोगो तयार हुनेछ ।  समितिले सांसदले लगाउने पोसाकका लागि सुझाव दिएको छ । सांसदको पोसाकका लागि कार्यव्यवस्था परामर्श समितिसँग परामर्श लिएर सभामुखले पोसाक निर्धारण गर्न सुझाव दिइएको छ । पोसाक कस्तो हुने भन्ने विषयमा प्रदेशसभाको कार्यव्यवस्था परामर्शको परामर्शमा सभामुखले निर्णय गर्नेछन् ।

यसका साथै नियमावली मस्यौदा समितिले प्रदेशसभाअन्तर्गत चार समिति रहने प्रस्ताव गरेको छ । सांसद सीता नेपाली संयोजकत्वमा रहेको मस्यौदा समितिले बुधबार प्रदेशसभा सचिवालयमा सभामुखलाई उक्त प्रतिवेदन बुझाएको हो । प्रदेशसभाको फागुन ५ गते बसेको बैठकले सदनको काम कारबाही नियमित, व्यवस्थित र छिटो छरितो गर्न आवश्यक नियमावली मस्यौदा समिति गठन गरेको थियो । यसलाई आगामी प्रदेशसभा बैठकमा स्वीकृतिका लागि पेस गरिनेछ । सभाबाट पारित भएलगत्तै प्रदेशसभा सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधि विस्थापन हुनेछ । सदनका सम्पूर्ण काम कारबाही, गतिविधि यसै नियमावलीअनुसार सञ्चालन हुनेछन् ।
नियमावलीको परिच्छेद–१९ मा प्रदेशसभामा विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समिति र तिनको कार्यक्षेत्र प्रस्ताव गरिएको छ । विधायन तथा प्रदेश मामिला समितिले प्रदेश मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन, प्रदेश लोकसेवा आयोग र सरकारका काम कारबाहीको अनुगमन गर्नेछ । सार्वजनिक लेखा समितिले प्रदेश लोकसेवा आयोग र मानव अधिकार आयोगबाहेक संवैधानिक आयोगका प्रतिवेदनहरू, सार्वजनिक लेखा र प्रदेश लेखापरीक्षक कार्यालयको प्रतिवेदन र बेरुजु फछ्र्योटसम्बन्धी, अर्थ तथा प्राकृतिक स्रोत समितिले आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास समितिले सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि, सहकारी मन्त्रालय, श्रम, सामाजिक न्याय र मानव अधिकारसम्बन्धी विषय हेर्नेछ ।

प्रतिक्रिया