तीन तहमा ४० वर्षमुनिका १४ हजार निर्वाचित, एमालेकी पार्वती बनिन् कान्छी सांसद

तीन तहमा ४० वर्षमुनिका १४ हजार निर्वाचित, एमालेकी पार्वती बनिन् कान्छी सांसद

ओनसरी घर्ती र रामकुमारी झाँक्रीदेखि नविना लामासम्म युवा सांसदको लहरमा

राज्यका तीनै तहका निर्वाचनबाट १४ हजार जनप्रतिनिधि ४० वर्षमुनिको युवा समूहबाट निर्वाचित भएको तथ्याङक सार्वजनिक भएको छ । संघीय संसद, प्रदेशसभा र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुमध्ये २१ देखि ४० वर्षभित्रका १४ हजार छन् ।

राष्ट्रिय युवा परिषदले विहीबार काठमाडौंमा संघीय संसदका ४० वर्षमुनिका सांसदहरुसँग गरेको अन्तरक्रियामा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवा जनप्रतिनिधिहरुको तथ्यांक सार्वजनिक गरेका हुन् । परिषदले देशैभरिबाट संकलन गरेको तथ्यांकले कार्यकारी पदमा अझै युवाको प्रतिनिधित्व गराउन दलहरु अनुदार देखिएको उनले बताए ।

कानुनले १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई युवा मानेकाले परिषदले ४० वर्ष पूरा नभएकाहरुको मात्र तथ्यांक पेश गरेको उनले बताए । प्रतिनिधिसमा ३६ जना सांसद ४० वर्ष मुनिका निर्वाचित भएका छन् । तीमध्ये १४ जना प्रत्यक्ष निर्वाचित छन् भने २२ जना समानुपातिकबाट आएका छन् ।

त्यस्तै प्रदेशसभामा १३० जना सांसद ४० वर्ष मुनिका निर्वाचित भएका छन् । तीमध्ये ६२ जना प्रत्यक्ष निर्वाचित छन् भने ६८ जना समानुपातिकबाट निर्वाचित भएका छन् । त्यस्तै राष्ट्रियसभामा ४ जना सांसद ४० वर्ष मुनिका छन् ।

स्थानीय तहमा भने १३ हजार ८९३ जना युवा विभिन्न पदमा निर्वाचित भएका छन् । देशका २९३ नगरपालिकामध्ये ५२ नगरपालिकाका मेयर ४० वर्ष भन्दा मुनिका छन् । यो भनेको करीव १८ प्रतिशत हो ।

त्यस्तै २९३ नगरपालिकामध्ये करीव आधा संख्यामा युवा उपमेयर निर्वाचित भएका छन् । उपमेयरमा निर्वाचित हुने ४० वर्ष मुनिका युवाहरुको संख्या १११ छ । यो भनेको करिव ३८ प्रतिशत हो ।

देशभरका ४६० गाउँपालिकाका अध्यक्षमध्ये ११२ जना ४० वर्ष मुनिका छन् । यो भनेको करीव २५ प्रतिशत प्रतिनिधित्व हो । उपाध्यक्षमा भने आधाभन्दा बढी ४० वर्ष मुनिका निर्वाचित भएका छन् । ४६० मध्ये २३७ गाउँपालिकाका उपाध्यक्ष ४० वर्ष मुनिका छन् ।

अधिकांश गाउँपालिकाका उपप्रमुख महिला भएको र उनीहरु विद्यार्थी राजनीति तथा गैरसरकारी संघ संस्थाहरुमा संलग्न रहेकाले युवा सहभागिता बढी देखिएको ढुंगेलले बताए ।

देशभरका ६ हजार ७४२ वडाध्यक्षमध्ये ४० वर्ष मुनीका २ हजार ३६ जना निर्वाचित भएका छन् । त्यस्तै महिला सदस्यमा करीव आधा संख्या ४० वर्ष मुनिको छ । ४० वर्ष मुनिका महिला सदस्यहरको संख्या ३ हजार १५० रहेको परिषदले जनाएको छ ।

स्थानीय तहमा निर्वाचित दलित महिला सदस्यहरुमध्ये आधा भन्दा बढी अर्थात ३ हजार ६०२ जना ४० वर्ष मुनिका छन् ।  खुला सदस्यतर्फ १३ हमजारमध्ये ४ हजार ५९३ जना ४० वर्ष मुनिका छन् ।

स्थानीय तहमा करीव ४० प्रतिशत युवाले जितेको तथ्यांक देखिन्छ । त्यस्तै प्रतिनिधिसभामा १३ प्रतिशत र प्रदेशसभामा करीव २४ प्रतिशत युवाले जितेका छन् । राष्ट्रियसभामा करीव ७ प्रतिशत युवाले जितेका छन् ।

पार्वती र विमला बने कान्छी सांसद

संघीय संसदका ३३४ सांसदमध्ये ४० जना ४० वर्षमुनिका युवा आएका छन् । यीमध्ये सबैभन्दा कान्छी सांसद बन्ने सौभाग्य पाएकी छन् दैलेखकी पार्वती बिसंखेले ।

नेकपा एमालेबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित बिसंखेको उमेर ३१ वर्ष रहेको छ । विसंखेले आफ्नो जन्ममिति २०४३ असोज १८ गते रहेको बताइन् । एमालेकै सांसद विमला विक पनि ३१ वर्षकी हुन् । तर, उनको जन्म मिति २०४२ चैत २४ भएकाले सालअनुसार उनी ३२ हुन्छिन् । यही चैतबाट आफू ३२ वर्ष हुने विमलाले बताइन् ।

माओवादीका मोरङ ४ बाट निर्वाचित अमनलाल मोदी र माओवादीकै सुनसरीबाट समानुपातिकमा निर्वाचित रामकुमारी चौधरी पार्वतीपछि दोस्रो युवा सांसद हुन् । उनीहरुको उमेर ३२ वर्ष रहेको परिषदले जनाएको छ ।

ओनसरीदेखि नवीना लामासम्म ‘युवा’

४० वर्ष मुनिका युवा सांसदको सूचीमा पूर्व सभामुख ओनसरी घर्तीदेखि अनेरास्ववियुका पूर्वअध्यक्ष रामकुमारी झाँक्री र वर्तमान अध्यक्ष नविना लामासम्म छन् ।

तीनपटक सांसद भइसकेकी दोलखाकी एमाले नेता शान्तिमाया पाखि्रन, गंगा चौधरी सतगौंवा, विना मगर र पूर्वमन्त्री तथा माओवादी नेतृ सत्य पहाडी पनि ४० वर्षमुनिकै सूचीमा छन् । पूर्व सभामुख ओनसरी ४० वर्षमुनिकै भएकै कारण युवा परिषदको कार्यक्रमको प्रमुख अतिथिसमेत उनै थिइन् ।

प्रत्यक्ष निर्वाचित युवा सांसद

अमनलाल मोदीःमोरङ ४

बीना मगर, कञ्चनपुर १

पदम गिरी, पर्वत

नरवहादुर धामी, कन्चनपुर २

हेमकुमार राई, सोलुखुम्बु

गौरीशंकर चौधरी, कैलाली ३

अभिषेक प्रताप शाह, कपिलस्तु ३

प्रमोदकुमार यादव,रुपन्देही ४

मोहम्म इस्तियाक राई, बाँके २

प्रमोद साह, सर्लाही १

सुदन किराती, भोजपुर

मोहन आचार्य, रसुवा

उमाशंकर अरगरिया, धनुषा २

समानुपातिक

विमला विक

पार्वतीकुमारी विसुंखे

रामकुमारी चौधरी

लक्ष्मीकुमारी चौधरी

नविना लामा

आशाकुमारी विक

दुर्गा विक

नरमाया ढकाल

समिना हुसेन

विमला नेपाली

शान्तिमाया पाखि्रन

गंगा चौधरी सत्गौंवा

शान्ता चौधरी

नमिताकुमारी चौधरी

रामकुमारी झाँक्री

ओनसरी घर्ती

लक्ष्मी परियार सेवा

निरादेवी जैरु

बिमला विश्वकर्मा

चुडामणी खड्का

सत्य पहाडी

इन्दु शर्मा

राष्ट्रियसभा

रामप्रित पासवान

हरिराम चौधरी

मुक्ताकुमारी यादव

प्रकाश पन्थ

प्रतिक्रिया