कृषि लक्षित कार्यक्रम संचालनको माग गदै गाउँपालिकालाई ज्ञापन पत्र

कृषि लक्षित कार्यक्रम संचालनको माग गदै गाउँपालिकालाई ज्ञापन पत्र

दैलेख चैत्र ८- भैरवी गाउँपालिकाका कृषकहरुले विभिन्न मागहरु राख्दै गाउँपालिकालाई ज्ञापन पत्र बुझाएका छन् । बिहीबार गाउँपालिकाका ४० जना भन्दा बढी कृषकहरुको समूहले गाउँपालिकामा ज्ञापन पत्र बुझाएका हुन् । गाउँपालिका भित्रका कृषकहरुको समस्याका बारेमा गाउँपालिकाले चासो नदेखाएको भन्दै उक्त ज्ञापन पत्र बुझाइएको हो । राष्ट्रिय कृषक महासंघका जिल्ला अध्यक्ष मोतीराम अधिकारीको अगुवाईमा राष्ट्रिय कृषक समूह भैरवी गाउँपालिकाले उक्त ज्ञापन पत्र बुझाएको हो । गाउँपालिकालाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ “भैरवी गाउँपालिकाको आर्थीक बर्ष २०७४/०७५ को पहिला निकासा भ्रमणमा बित्यो, अथक प्रयास र हजारौ सहिदहरुको बलिदानीले सिंहदरवार भैरवी गाउँपालिका भएको जनताको अपेक्षा अनुसार, दलित, महिला, बालबालिका, पिछडा वर्ग, किसान, अल्पसंख्यक, मुस्लिम, जनजाती लगाएतका सर्बसाधरणको विन्दु गाउँपालिका हो ।” तर गाउँपालिकाले यस्ता समुदायलाई झनै पछाडी पार्ने काम गरेको छ ।


किसानका लागि पोली हाउस, पलास्टिक पोखरी, सिचाई पोखरी, कृषि औजार, मल, विउ, अनुदानमा व्यवस्था नभई एकलौटी ठेक्का बाट खरिद तथा बिक्री वितरण गरिए राष्ट्रिय कृषक समूह महासंघले घोर आपत्ती जनाउने विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ “आधुनिक कृषि प्रणाली मार्फत कृषि खेती प्रणाली, प्रधानमन्त्री कृषि आधुनिकिकरण जस्ता कार्यक्रमहरु संचालनको साटो लाखौ लाख रकम गाउँपालिकाबाट रकम मागी कुनै एक व्यक्तिको खातामा जम्मा गर्ने प्रवृती भएकोमा महासंघ आपत्ती प्रकट गर्दछ ।”
विज्ञप्ती मार्फत गाउँपालिका भित्रका किसानहरुको समस्यालाई मध्यनजर गर्दै कृषि र पशु पकेट क्षेत्र गर्नुको साटो शाखा प्रमुखहरु भ्रमणको बेस्तताले क्रेता संग कमिसनमा किनबेच गरिएको प्रति आपत्ती प्रकट गरिएको छ । विज्ञप्तीमा भैरवी गाउँपालिकामा आएको बजेटमा कृषि लक्षित १५ प्रतिशत नघटाई कृषि लक्षित कार्यक्रममा विनियोजन गरि कार्यक्रम संचालन गर्न माग गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढा कामको सिलसिलामा बाहिर गएकोले गाउँपालिका उपाध्यक्ष पदम कुमारी बिष्ट लाई ज्ञापन पत्र बुझाइएको हो । विभिन्न मागहरु राख्दै बुझाइएको ज्ञापन पत्रमा उल्लेख गरिएको मागहरु ७ दिन भित्र पुरा नभएर शान्तिपुर्ण आन्दोलनमा उत्रने किसान अगुवाहरुले बताएका छन् । ज्ञापन पत्र बुझ्दै गाउँपालिका उपाध्यक्ष पदम कुमारी बिष्टले किसानहरुले राखेको जायज मागहरु पुरा गर्नका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताइन् । उनले गाउँपालिका अध्यक्ष गाउँपालिकामा आउने वित्तीकै छलफल गरि कृषकहरुको जागज मागहरु पुरा गरिने जानकारी दिइन् ।

प्रतिक्रिया