मानव बेचविखनको बदलिँदो स्वरुपः पहिले कोठीमा, अहिले साहु कहाँ !

मानव बेचविखनको बदलिँदो स्वरुपः पहिले कोठीमा, अहिले साहु कहाँ !

११ चैत, काठमाडौं – थुप्रै नेपाली चेली भारतका कोठीहरुमा बेचिए । त्यहाँ नारकीय जीवन विताउन बाध्य भए । चरिमाया तामाङ, सुनिता दनुवारहरु पनि कोठीमै बेचिएका थिए, जो लामो समयदेखि बेचविखनविरुद्ध सक्रिय छन् । २०५६ मा उद्दार गरिएपछि उनीहरुले शक्ति समूह बनाएका छन् । खासगरी महिलाहरुलाई घरेलु कामदारका रुपमा लैजाने र एजेन्टहरुमार्फत ‘साहु’लाई बेच्ने गरिएका घटना धेरै भेटिएका छन् । नेपालले घरेलु कामदार पठाउन रोक लगाएका मुलुकहरुमा पनि अवैध बाटोबाट नेपाली चेलीहरु पुगेको र धरै दुःख पाएका घटना प्रहरी समक्ष पुगेका छन् ।तर, पछिल्लो समय मानव बेचविखनको प्रवृत्ति फेरिँदै गएको छ । ललाइफकाइ भारतमा पुर्याएर कोठीमै बेचिएका घटना निकै कम छन् । तर, बैदेशिक रोजगारीका नाममा विभिन्न मुलुकमा पुर्याउने र साहुलाई बेचिनेहरुको संख्या बढ्दो छ । प्रहरीको तथ्यांकले पनि यही देखाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पिल्लरको तथ्यांक अनुसार पछिल्लो ५ वर्षमा मानव बेचविखन तथा ओसारपसार अभियोगमा ४३ वटा मुद्दा दर्ता भएका छन् ।

जसमध्ये २२ जनालाई ओसारपसार र एक जनालाई मानव बेचविखनको अभियोग लागेको छ । अन्य २० जनाको अभियोग भने छुट्याइएको छैन ।

पिल्लरका डिएसपी राजकुमार सिलवाल मानव बेचबिखनको शैली फेरिँदै गएको बताउँछन् । ‘पहिले मानवबेचबिखनका घटनाहरु बढी देखिन्थे भने अहिले ओसारपसारसँग सम्बन्धित उजुरी बढी आउने गरेका छन्’, उनले अनलाइनखबरसँग भने ।

के हो बेचबिखन ? के हो ओसारपसार ?

जिल्ला अदालत, नुवाकोटले दुप्चेश्वर गाउँपालिका-१, घ्याङ्फेदीका वडाध्यक्ष   सुनबहादुर तामाङलाई  मानव बेचबिखन मुद्दामा ३७ वर्ष ६ महिनाको कैद सजाय  हालै मात्र सुनाएको छ । उनको अपराध अहिलेको होइन । उनले धेरै अगाडि नेपाली चेलीहरुलाई भारत पुर्याएर कोठीमा बेचेका थिए । उनी आफैंले समेत भारतमा चार वटा कोठी नै सञ्चालन गरेको खुलेको थियो ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ का अनुसार कुनै उद्देश्यले मानिस बेच्ने वा किन्ने, वेश्यावृत्तिमा लगाउने, कानुन बमोजिम बाहेक मानिसको अङ्ग झिक्ने र बेश्यागमन गर्नुलाई बेचबिखन भनिन्छ ।

यसैगरी किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेश लैजाने, विभिन्न प्रलोभन देखाएर वा जबरजस्ती वा अपहरण वा शरीर बन्धक बनाएर कुनै एक स्थानबाट अर्को स्थान वा अन्य लैजानुलाई मानव ओसारपसार भनेको छ । र, सोही मुद्दामा चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीमाथि अनुसन्धान भइरहेको छ ।

खड्गी पनि केन्द्रीय कारागार सुन्धारामा छन् । उनले निश्चित रकम लिएर कलाकारको बहानामा मानिसहरुलाई अवैध रुपमा दक्षिण कोरिया लगेका थिए ।

किन बढ्यो ओसारपसार ?

पछिल्लो समय मानव ओसारपसार किन बढी बढ्यो त ? सीआईबीका एक अधिकारी भन्छन्, ‘पहिले युवतीलाई फकाएर भारतसम्म पुर्याएर कोठीमा बेच्दा १५/२० हजार रुपैयाँ आउँथ्यो । अहिले राजीखुशी विभिन्न देश जान चाहन्छन् । त्यसरी पठाउँदा उनीहरु आफैं मोटो रकम खर्चन्छन् ।’

अहिले मानव आसोरपसारका लागि पहिलेजस्तो अनेक प्रपञ्च र लोभलालच देखाएर सम्बन्धित व्यक्तिलाई फकाउनु पर्दैन । ‘उनीहरुले सम्बन्धित देशमा राम्रो काम पाए भने त्यस्तो घटना पनि बाहिरिँदैन । यदि नराम्रो भयो, शोषित भए वा अपहरित भए भने मात्रै बाहिर आउँछ’, उनी थप्छन् ।

त्यसको पछिल्लो ज्वलन्त उदाहरण हुन्, मकाउका लागि भिसा लाग्यो भनेर टर्की पुर्याइएका ३ नेपाली युवा । जो टर्कीमा अपहरणमा परे र, मोटो रकम बुझाएर हालै मात्र नेपाल फर्किएका छन् ।

विभिन्न प्रलोभन देखाएर रोजगारका लागि विदेश लैजाने र त्यहाँ हिंसामा पर्ने घटनाहरु पनि बाहिरिएका छन् । त्यस्ता घटनालाई पनि प्रहरीले मानव ओसारपसार अन्तरगत मुद्दा चलाउने गरेको छ ।

मानव  बेचबिखनविरुद्धका जनचेतनामूलक कार्यक्रमहरुले पनि मानवबेचबिखनको घटना घटाउन मद्दत पुर्याएको कतिपयको तर्क छ । साथै , अब मानव बेचबिखनसँगै अवैध ओसारपसारको विषयमा पनि जनचेतनामूलक कार्यक्रम गरिँदै लगिनु आवश्यक भएको उनीहरुको भनाइ छ ।

बेचबिखनको शैली फेरिएका धेरै उदाहरण छन् । अचेल दिल्ली, मुम्बई वा कोलकाताका दुर्गन्धित कोठीहरुमा होइन गोवा, पुणे, दक्षिण अफ्रिका र दुबईका सुबिधासम्पन्न फ्ल्याट र डान्सबारमा नेपाली चेलीहरु बेचिन थालेका छन् ।

कहाँ जान्छन् ती युवती ?

काठमाडौं र पोखराका डान्सबार तथा नाइट क्लबमा काम गर्ने युवतीहरु केही महिनामै गायब हुन्छन् । उनीहरु कहाँ जान्छन् ? शक्ति समूह लगायतका बिभिन्न संस्थाहरुले गरेको अध्ययनले उनीहरु भारत, चीनलगायत बिभिन्न देशका डान्स बार तथा यौन प्रयोजनका लागि बेचिने गरेको जनाएको छ ।

भूकम्पअघि ठमेलबाट गायब भएका युवती खासा र गोवामा भेटिएका थिए । तर, भूकम्पपछि खासाबाट मानव बेचबिखनको गिरोह केरुङमा सक्रिय भएको छ । गोवाका डान्सबार, क्यासिनो लगायतका स्थलमा नेपाली चेलीहरु पठाइने गरेका छन् भने दिल्लीका वियर बारमा पनि पुगेका छन् ।

आकर्षक तलबको लोभमा नेपालका मनोरन्जन क्षेत्रमा कार्यरत महिलाहरु तेस्रो मुलुक पठाइने गरेका छन् । कतिपयले राम्रो आम्दानी पनि गरेका छन् भने धेरैजसो यौन शोषण लगायतका शारिरीक यातनाको शिकार भएर फर्किने गरेका छन् । उनीहरु फर्किएर आएपछिमात्र यस्ता घटना सार्वजनिक हुने गरेका छन् ।

नेपाली युवतीको छाला तस्करी ?

नेपाली किशोरी र युवतीहरु छाला तस्करीका लागि समेत बेचिने गरेको पाइएको छ । प्लान इन्टरनेशनल भारतका सत्यजित घोषका अनुसार मानव बेचबिखनको बजार भारतमा ब्यापक बिस्तार भएको छ तर, शैली परिवर्तन भएको हो ।

‘बिगतमा कोठीमा बेचिन्थे अहिले ठेकेदार मार्फत सप्लाई गर्ने र मानव अंग प्रत्यारोपणका लागि बेचबिखन भइरहेको छ । नेपाली किशोरीको अनुहारको छाला बलिउडका कलाकारले प्रत्यारोपण गरेको समेत सुनिएको छ’, उनले भने, ‘भारत विश्व यौन बजारकै ठूलो केन्द्र बन्दैछ, त्यसैले बेचबिखनको समस्या अझ बढ्ने देख्छु ।’

नेपालकै कुरा गर्नुपर्दा, काठमाडौंका ठमेल महिला बेचबिखनको मुख्य स्रोत बन्न थालेको मानव बेचबिखन विरुद्ध क्रियाशिल संस्था शक्ति समूहको एक अध्ययनले देखाएको छ । ठमेलका डान्स बार र पार्लरहरुबाट दिनहु युवती हराउँछन् र तिनीहरु दलालमार्फत भारतको यौन तथा मनोरन्जन बजारमा पुग्छन् । त्यस्तै पोखराका बार तथा दोहोरी र मसाज पार्लरहरुमा पनि दलालहरुको बाक्लो आवतजावत हुन थालेको छ ।

बिगतमा नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर जस्ता ठाउँबाट चेलीहरुलाई झुक्याएर वा प्रलोभनमा पारेर भारतका कोठीसम्म पुर्याउने गरिन्थ्यो । तर, अब त्यो शैली लगभग पूरै फेरिइसकेको छ । ठमेलका डान्सबारबाट सीधै दिल्लीका डान्स तथा बियर बारहरुमा सप्लाई हुने गरेको शक्ति समूहकी अध्यक्ष बालकुमारी राना बताउँछिन् ।

यी बाहेक दक्षिण कोरिया लगायतका मुलुक पनि नेपाली महिलाहरुको बेचबिखनको नयाँ गन्तव्य बनेका छन् । कोरियनसँग बिहे गरेर जाने र उता गएपछि अलपत्र पर्ने गरेका घटना पनि आएका छन् । केही समयअघि सीआईबीले अन्तर्राष्ट्रिय म्यारिज ब्यूरोको यस्तो गिरोह नै समातेको थियो ।

प्रतिक्रिया