‘बलात्कारका घटनामा उन्मुक्ति किन ?’

‘बलात्कारका घटनामा उन्मुक्ति किन ?’

‘बलात्कारीलाई उन्मुक्ति दिन पाइँदैन, त्यस्ता व्यक्तिलाई सामाजिक बहिष्कार गरिनुपर्छ’

राजविराज — पछिल्लो एक महिनामा सप्तरीमा ८ वटा बलात्कारका घटना भए । त्यस्ता घटनामा संलग्न कतिपयले राजनीतिक पहुँच र आर्थिक चलखेल गरेर उन्मुक्ति पाउँदै गएपछि यहाँका महिला सोमबार राजविराजको सडकमा निस्किए ।बलात्कारीलाई उन्मुक्ति दिन नपाइने र त्यस्ता व्यक्तिलाई सामाजिक बहिष्कार गरिनुपर्ने माग राख्दै उनीहरूले प्रदर्शन गरे । फागुनमा मात्रै जिल्लामा ८ वटा बलात्कारका घटना सार्वजनिक भए । १३ देखि ३० वर्ष उमेर समूहका महिला बलात्कारको सिकार भएका थिए । यौनजन्य हिंसाले समाजमा असुरक्षा बढाएको भन्दै महिलाले शान्ति सुरक्षाको अवस्था सुदृढ गर्नसमेत माग राखेका छन् ।

‘बलात्कारमा संलग्नहरूले उन्मुक्ति पाए उनीहरूको मनोबल बढेर पुन: घटना दोहिरिन्छन्,’ महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष अनिता देवकोटाले भनिन्, ‘न्यायसम्पादन गर्नेदेखि राज्य र समाजका हरेक संयन्त्र जिम्मेवार बन्नु जरुरी छ ।’ र्यालीमा सहभागी दहेज मुक्त मिथिलाकी नेपाल च्याप्टर अध्यक्ष करुणा झाले आर्थिक चलखेल र राजनीतिक दबाबले बलात्कारी छुट्दै गएको आरोप लगाइन् ।

‘बलात्कारीहरू अदालतको आदेशबाट छुट्ने गरेको समाचार छ्यापछयाप्ती छ, न्यायपरिषद् मौन छ । यो अवस्थामा न्यायसम्पादनमाथि गम्भीर प्रश्न खडा भएको छ,’ झाले भनिन्, ‘जघन्य मुद्दामा न्यायसम्पादन गर्नेहरू किन जिम्मेवार हुन सकेका छैनन् ?’ उनले बलात्कारीलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताउँदै बलात्कारका आरोपीलाई छोड्नेमाथि पनि कारबाही हुनुपर्ने माग राखिन् ।

अधिवक्ता मनु खनालले जबरजस्ती करणी जस्तो जघन्य अपराधको मुद्दामा न्यायसम्पादन हुँदा गम्भीर हुनुपर्ने औंल्याइन् । र्यालीमा सहभागी नेपाल पत्रकार महासंघ जिल्ला उपाध्यक्ष सुधा देवले भनिन्, ‘नाबालिका पनि बलात्कृत भइरहेका छन्, तर एकपटक पुर्पक्षमा गइसकेका आरोपी माथिल्लो अदालतको आदेशमा साधारण तारिखमा रिहा हुन्छन् भने बलात्कारीको मनोबल बढ्छ । पीडितलाईसमेत थप पीडाबोध हुन्छ ।’

राजविराजको शिव मन्दिरबाट सुरु भएको महिला र्यालीले नगर क्षेत्रको परिक्रमा गरेको थियो । र्यालीपछि आयोजित कोणसभामा इन्सेक प्रतिनिधि मनोहर पोखरेल, पत्रकार महासंघकी उपाध्यक्ष सुधा देव, मैथिली महिला परिषद्की सचिव पिंकी झा, स्वास्थ्यकर्मी सुनीता यादव, करुणा झा, राजविराज नगरपालिका–५ का सदस्य पार्थो सरकार र सप्तरी युथका अमर यादवलगायतले बोलेका थिए । उनीहरूले महिलामाथि हुने यौनजन्य हिंसाका अपराधीलाई कडाभन्दा कडा कारबाहीको माग गरे ।

प्रतिक्रिया