स्थानीय तहलाई करारमा कर्मचारी लिने बाटो खुल्यो

स्थानीय तहलाई करारमा कर्मचारी लिने बाटो खुल्यो

इन्जिनियरिङ, कृषि, पशु, वन, स्वास्थ्य सेवाका प्राविधिक करारमा लिन सकिने

कर्मचारी अभावका कारण दैनिक कार्यसञ्चालनमै समस्या झेलिरहेका स्थानीय तहलाई जनशक्ति व्यवस्थापनमा केही सहज हुने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यविधि -२०७४ (नमूना कार्यविधि) स्वीकृत गरेको छ । यससँगै अब स्थानीय तह आफैंले करारमा जनशक्ति नियुक्त गर्न सक्नेछन् ।नमूना कार्यविधिले स्थानीय तहलाई आवश्यक पर्ने इन्जिनियरिङ, कृषि, पशु, वन, स्वास्थ्य सेवासँग सम्बन्धित जनशक्ति करारमा लिन सक्ने व्यवस्था गरेको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कार्यविधि स्वीकृत गरेका हुन् । सम्बन्धित स्थानीय तहहरूले कार्यविधिलाई आफ्नो आवश्यकता अनुसार कार्यपालिका बैठकबाट निर्णय गरी लागू गराउन सक्ने मन्त्रालयले बताएको छ ।

संगठनको दरबन्दी अनुसार जनशक्ति करारमा लिँदा अपनाउनुपर्ने विधि उक्त कार्यविधिमा उल्लेख छ ।

स्थानीय तहले स्वीकृत दरबन्दीको परिधिभित्र रहेरमात्रै करारमा जनशक्ति लिन सक्नेछन् । कार्यालयका लागि वर्षभरी आवश्यक पर्ने जनशक्ति र करारका लागि योग्य हुन आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता, कार्यानुभव आदि योग्यता निर्धारण गरी स्थानीय तहहरूले सार्वजनिक सूचना जारी गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । स्थानीय तहले १५ दिनको म्याद दिई सार्वजनिक सूचना जारी गर्ने तथा यस्तो सूचना स्थानीय तहले आफ्नो वेवसाइट, कार्यालयको सूचना पार्टी र जिल्ला समन्वय समितिको सूचना पार्टीमा प्रकाशित गर्नुपर्ने हुन्छ ।

जनशक्ति करारमा नियुक्त गर्नका लागि स्थानीय तहले एक समिति गठन गर्नुपर्ने हुन्छ । प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा गठन हुने उक्त समितिले शैक्षिक योग्यता, कार्यानुभव, बसोबास र अन्तर्वार्तामा प्राप्त अंकको योगलाई सूचीकरण व्यक्ति छनोट मूल्याङ्कनको आधार मानी आवेदकहरूको सूची तयार गर्नेछ । उक्त समितिले सूचीकरण गरेपछि आवेदकहरूको योग्यताक्रम अनुसार सूचीकरणको विवरण प्रकाशित गर्नुपर्नेछ ।

कार्यालयले सूचीकृत भएका मूख्य उम्मेदवारहरूसँग ७ दिनको सूचना दिइ तोकिएको ढाँचामा निजसँग करार सम्झौता गर्नेछ । सोही करारमा निजको कार्यविवरण, सर्त करार अवधि, पारिश्रमिक आदि मूख्य कुरा उल्लेख हुनुपर्ने व्यवस्था गरिएकेा छ ।

करार सम्झौतामा करार समाप्तिका सर्त समेत उल्लेख हुनुपर्ने व्यवस्था कार्यविधिमा छ ।

तत्काल कर्मचारी व्यवस्थापन जटिल हुने भएपछि त्यसलाई पूर्ति गर्न मन्त्रालयले करारको यस्तो उपाय  अवलम्बन गरेको हो । कर्मचारी समायोजन ऐन र नियमावलीको व्यवस्था अनुरुप आगामी दिनमा स्थानीय तहलाई आवश्यक कर्मचारी व्यवस्थापनलाई सहजीकरण गर्दै लैजाने मन्त्रालयले बताएको छ ।

कर्मचारी समायोजन नियमावली लामो समयदेखि कानून मन्त्रालयमा थन्किएको छ ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेका अनुसार हाल सबै स्थानीय तहमा करिब १२ हजार नयाँ कर्मचारी खटाइएको छ । जसमा मन्त्रालयले करिब १५ सय र सम्बन्धित जिल्लाका जिल्ला समन्वय समितिमार्फत करिब १० हजार नयाँ कर्मचारी खटाइएको मन्त्रालयले न्यौपानेले बताए ।

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनअनुसार करिब ५४ हजार कर्मचारी स्थानीय तहमा आवश्यक छ ।

प्रतिक्रिया