( समाचार फ्लोअप ) गुप्ताङ्गमा घाउ बनाइएकी महिलाद्वारा ज्यानमार्ने उद्योगको मुद्दा

( समाचार फ्लोअप ) गुप्ताङ्गमा घाउ बनाइएकी महिलाद्वारा ज्यानमार्ने उद्योगको मुद्दा


दैलेख, चैत १४ – आगो फुक्न बनाइएको प्लाष्टिकको ढुग्रोले घोचेर गुप्ताङ्गमा घाउ बनाइएकी पीडित डम्वरकुमारी राउतलाई दैलेखका महिला विकास अधिकृत पवित्रा पुरी र प्रहरी नायव उपरीक्षक सरोज पौडेलले जिल्ला अस्पताल पुगेर आज उपचारको अवस्था बारे जानकारी लिनुभएको छ ।
घाइतेलाई भेटेर उहाँहरुले उपचारको अवस्था र आवश्यक सहयोग बारे जानकारी लिनुभएको थियो । चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ चिमे गाउँकी ती महिलालाई अहिले बस्तै आएको भैरबी गाउँपालिका–४ गडाजिउलामा त्यस्तो अमानवीय यातना र कुटपिटपछि गत शुक्रवार अस्पताल ल्याइएको थियो ।
घाइते महिलाको गुप्ताङ्गमा ४ इञ्च भित्री भागमा लागेको गहिरो चोटको उपचार दैलेख अस्पतालका स्त्रीरोग बिशेषज्ञ डा. निरञ्जन पन्तको प्रत्यक्ष निगरानीमा भइरहेको छ । उपचार सुरु भएको आज पाँचौं दिनमा सामान्य दिसापिसाव गर्न आफै जानसक्ने भएको डम्वरकुमारीले बताउनुभयो ।
डम्वरकुमारीका पति सूर्यबहादुर रावतलाई प्रहरीले हिरासतमा राखेको छ । सूर्यबहादुरले पत्नी डम्वरकुमारीलाई पहिले पनि कुटपीट गरिरहने गरेको र पछिल्लो पटक चैत ९ गते ढाड र टाउकोमा दाउराले प्रहार गरी घाइते बनाएपछि गुप्ताङ्गमा पाइपले घोचेर घाइते बनाएको स्वीकार गरेका छन् ।
अस्पतालकै शैयाबाट पीडित महिलाले दिएको जाहेरीको आधारमा प्रहरीले ज्यानमार्ने उद्योगको मुद्दा चलाउने तयारी गरेको छ । सो बारे अनुसन्धान तहकीकातका लागि दैलेख जिल्ला अदालतले मंगलवार नै ७ दिनको म्याद दिएको प्रहरी नायव उपरीक्षक सरोज पौडेलले जानकारी दिनुभयो ।
घाइते महिलाको उपचारमा तत्परता दिन र न्याय प्रक्रियालाई छिटो छरितो गराउन प्रतिनिधिसभा साँसद पार्वती बिशुन्के र राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी लगायतका अधिकारकर्मीहरुले चासो राख्नुभएको छ ।

प्रतिक्रिया