गोरीकला मृत्यु प्रकरण: प्रहरीसमेत संलग्न भएको खुलासा

गोरीकला मृत्यु प्रकरण: प्रहरीसमेत संलग्न भएको खुलासा

सुर्खेत — एसईई परीक्षार्थी १८ वर्षीया गोरीकला रोकायाको मृत्युमा प्रहरीको पनि संलग्नता रहेको रहस्य खुलेको छ । सुर्खेत पञ्चपुरी नपा ३ की १८ वर्षीया गोरीकला रोकाया । एसईई परीक्षार्थी उनको मंगलबार शंकास्पद मृत्यु भएको हो ।घटनाका आरोपी पञ्चपुरी नपा ८ माझीगाउँका लक्ष्मी बास्तोलाको बयानका आधारमा अस्थायी ट्राफिक पोस्ट बाबियाचौरमा कार्यरत हरि कोइरालाको समेत संलग्नता रहेको खुलेको हो । प्रहरीले कोइरालासंगै लक्ष्मीका दाजु खुमप्रसाद बास्तोलालाई पनि नियन्त्रणमा लिएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालयमा दरबन्दी भएका कोइराला एक साता अघि बाबियाचौर खटिएका थिए । लक्ष्मी वीरेन्द्रनगरका होटल व्यवसायी हुन् भने उनका दाजु खुमप्रसाद बौद्ध ग्रामीण सहकारी संस्थाका फिल्ड स्टाफ हुन् ।लक्ष्मीले बयानमा ट्राफिक प्रहरी कोइरालाले आफूलाई ‘केटी मिलाउन’ आग्रह गरेपछि गोरीकलालाई सोमबार साँझ उनीसँग भेट गराइदिएको बताएका छन् । गोरीकलाकै सहमतिमा बाबियाचौर बजारदेखि अन्दाजी २ सय किमि टाढा जंगलको एक चौरमा केही समय बसेका थिए ।

‘उनीहरू (कोइराला र गोरीकला) लाई त्यहीं छाडेर म नजिकै गाउँको एक भोजमा सहभागी हुन गएँ । आधा घण्टापछि फर्किएँ र तीनैजना बसेर खाजा–नास्ता खायौं’ उनले बयानका क्रममा भनेका छन्, ‘फर्कंदा मैंले चलाएको बाइकबाट गोरीकला लडिन् । केहीबेर बाइक चढ्न सकिनन् । गाह्रो भो भनेपछि रोकेर हरिलाई खबर गर्नतर्फ लागें ।’ बाइकबाट खसेपछि उनले टाफिक प्रहरी कोइरालाको नम्बरमा डायल गरे ।

स्विच अफ भनेपछि लक्ष्मी चौकी नगई दाजु खुमप्रसादलाई बोलाएर घाइते अवस्थामै डेरामा पुर्याएको अनुसन्धानले जनाएको छ । मोटरसाइकलबाट लडेकी गोरीकलाको टाउकाको पछाडिपट्टि, खुट्टा, कम्मरमा चोट लागेको थियो । एक्लै डेरा पुर्याउन गाह्रो भएपछि लक्ष्मीले गोरीकलालाई अढेस दिन दाजु खुमप्रसादलाई बोलाएको बताए । बाबियाचौरबाट जाँदा–फर्कंदा लक्ष्मीकै मोटरसाइकलमा गोरीकला र हरि सवार भएको बताइएको छ । फर्कनेमा बेलामा भने इप्रका बाबियाचौरको पोष्ट भन्दा अन्दाजी ५० मिटर परै कोइराला ओर्लेका थिए । कोइरालाले बयानमा लक्ष्मीलाई गोरीकलाको मोबाइल नम्बर दिएको र, उसैको पहलमा आफू बसेको बताएका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले अर्धचेत अवस्थामा डेरामा छाडिएकी गोरीकलाको मृत्यु राती अन्दाजी एक बजेतिर भएको बताए । ‘लक्ष्मीका दाजुभाइले अन्दाजी १२ बजेतिर डेरामा पुर्याएको देखिन्छ । समयमै उपचार नपाएपछि मृत्यु भएको हुनसक्छ’ बुधबार प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै उनले भने, ‘मोबाइल कल डिटेल, पोस्टमार्टम र प्रयोगशालाको रिपोर्टले सबै कुरा खुल्नेछ ।’ घटनास्थलमा रक्ताम्य कपडा भेटिएकाले प्रहरीले त्यसलाई राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाउने भएको छ । पोस्टमार्टम भने मध्यपश्चिम क्षेत्रीय अस्पतालमा भइसकेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानकै आधारमा उनीहरूबीच यौनसम्पर्क भए/नभएको केही भन्न नमिल्ने बताएको छ । प्रहरीले एक हप्ताभित्रै पोस्टमार्टम रिपोर्ट प्राप्त हुने जनाएको छ । परिवारले बुधबार शव बुझिसकेका छन् ।

पञ्चपुरी नपा ३ चौराकी गोरीकला मंगलबार बाबियाचौरस्थित डेरामै मृत अवस्थामा भेटिएकी थिइन् । सूर्यप्रकाश मावि पलैंटेकी छात्रा उनी एसईईका लागि बाबियाचौरस्थित मीनबहादुर रावलको घरमा डेरा लिएकी थिइन् । परीक्षामा अनुपस्थित भएपछि गोरीकलाको खोजी सुरु भएको थियो । गोरीकलाका बाबु कालो रोकायाले बुधबार जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी हदैसम्म सजाय हुनुपर्ने माग गर्दै जाहेरी दिएका छन् । यसैबीच, सुर्खेतस्थित महिला अधिकारसँग सम्बन्धित संघसंस्थाले घटनाको निन्दा गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । बुधबार अधिकारकर्मीहरूले जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई भेटेर घटनामा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याउन आग्रह गरे । पीडित परिवारलाई न्याय दिलाउन सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि दबाब दिएका छन् ।

प्रतिक्रिया