दैलेखमा पनि ६१ औँ सहकारी दिवस मनाइयो

दैलेखमा पनि ६१ औँ सहकारी दिवस मनाइयो

सहकारीलाई सफल महिलाले बनाएका छन् ः मल्ल


दैलेख चैत्र २०- नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्लले सहकारी संस्थाहरुको प्रगति महिलाहरुको लगनशीलताले बनाएको बताउनुभएको छ । ६१ औं सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा उपप्रमुख मल्लले सहकारी सफल भएका छन् अव सहकारीले महिलालाई सफल बनाउनु पर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेशप्रसाद उपाध्यायले सहकारीलाई अझैं व्यवस्थित र विपन्न समुदायको जीवनस्तर उठाउन कार्यक्रमका लागि सरकारले लगानी बढाउनुपर्ने नीति आवश्यक रहेको बताउनुभयो ।
त्यस बखत दैलेख उद्योग बाणिज्य संघका उपाध्यक्ष कविराज खत्रीले राष्ट्रिय सहकारी संस्था संघले जिल्लाका सबै सहकारी संस्थाहरुको क्षमता विकासमा नेतृत्व गर्ने र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो । उल्लेख्य काम गर्ने सहकारी संस्थाहरुलाई पुरस्कृत गर्ने र गलत गर्नेलाई सुधार्ने परिपाटी पनि बसाल्नुपर्ने खत्रीको धारणाा छ ।
गोठापाडा सहकारी संस्थाका अध्यक्ष मुना थापाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार अमर सुनार, सतप्रतिशत सहकारी संस्थाका सचिव हर्क नेपाली, सहकारीकर्मी टीकादेवी जैसी, दिनेश थापा, राष्ट्रिय सहकारी बैंकका प्रवन्धक नीता थापा लगायतले सहकारी अभियान र यसले समाजमा आर्थिक जागरणको विषयमा बोल्नुभएको थियो ।
सो कार्यक्रम अघि विभिन्न सहकारी संस्थामा आवद्ध सहकारीकर्मीहरुले बाजागाजा, नाराजुलुस, प्लेकार्ड सहित नगर परिक्रमा गरी सभामा परिणत भएको थियो ।


दिवसलाई शतप्रतिशत प्रगतिशिल कृषि सहकारी संस्था, गोठपाँडा कृषि सहकारी संस्था, बेदखोला कृषि सहकारी संस्था, आत्मनिर्भर लद्यु उद्यम कृषि सहकारी संस्था, राष्ट्रिय सहकारी बैंकको सयुक्त रुपमा आयोजना गरेका थिए । २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्था लिमिटेडको स्थापना भएको सम्झानामा हरेक चैत्र २० गते नेपालमा सहकारी अभियानको सुरुवात भएको हो । दैलेखमा अहिले २ सय १६ भन्दा बढी सहकारीहरु सक्रिय रुपमा संचालन रहेको बताइएको छ भने १ लाख ६० हजार भन्दा बढी शेयर सदस्य रहेको बताइएको छ ।

प्रतिक्रिया