बाल अधिकार संरक्षणमा स्थानीय सरकार

बाल अधिकार संरक्षणमा स्थानीय सरकार

दैलेख चैत २३ –कर्णाली प्रदेशको राजधानी सुर्खेतसंगै सिमाना जोडिएको दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले गत बुधवार होटलमा बाल श्रमिकको रुपमा काम गर्दै आएका एक बालकको उद्धार गरे । गुराँस गाउँपालिका वडा नं. ६ का विर बहादुर वि.क. र कलसी वि.क.का छोरा १२ बर्षिया कलम वि.क.लाई सुर्खेतको छिन्चुमा रहेको एक होटलबाट उद्धार गरेका हुन् । गुराँस गाउँपालिका वडा नम्बर ६ पिलाडीका १२ बर्षिया कमल विक होटलमा श्रम गरिरहेकै अवस्थामा उद्धार गरिएको थियों । सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुको एक होटेलमा भाँडा माझ्ने काम गरिरहेका वि.क.लाई गुराँस गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहितको टोलीले उद्धार गरेका थिए ।
अध्यक्ष वली सहितको टोली काठमाण्डौमा भएको एक कार्यक्रममा सहभागि भई दैलेख फर्कदै गर्दा छिन्चुमा रहेको होटलमा चिया खान पसेका थिए । उक्त होटलमा चिया खाँदै गर्दा बालकलाई देखेपनि घर र ठेगाना सोध्दा दैलेखको गुराँस गाउँपालिकाको वडा नं. ६ पिलाडीमा भएको बताए पछि बालकको उद्धार गरि ल्याएको गाउँपालिकाका अध्यक्ष वलीले बताए । दैलेखको गुराँस गाउँपालिकामा रहेको जयजनता माध्यामिक विद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने गरेको बालक कलम वि.क.ले बताएका छन् ।

फोटो -उद्धार गरिएका बालकलाई अभिभावकको जिम्मा लगाउदै गाउँपालिकाको टोली ।

उद्धार गरि ल्याइएका बालकलाई विहिवार अभिभावकको जिम्मा लगाइएको छ । गुरास गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि बालक कमल विक लाई उनका बुबा विर बहादुर वि.क.को जिम्मा लगाइएको हो । कक्षा ६ मा पढ्दै गरेका बालकलाई सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल द्धारा संचालित सहयात्रा परियोजनाले सहयोग समेत प्रदान गरेको छ । बालकलाई स्कुल ड्रेस, कापी, कलम, झोला लगाएतका सामग्री सहयोग गरिएको हो ।
बालकलाई अभिभावकको जिम्मा लगाउदै गुरास गाउँपालिकाका अध्यक्ष खेमराज वलीले गाउँपालिकाले २५ हजार बराबरको सहयोग रकम प्रदान गर्ने बताए । उनले भने “गाउँपालिकाले प्रदान गरेको सहयोग रकम सहकारीमा जम्मा गरिदिन्छौ, सहकारीबाट आउने व्याज रकमबाट बालकको शिक्षामा लगानी हुनेछ ।” उनका अनुसार गाउँपालिकाले जोखिममा परेका र बाल श्रमिकको रुपमा विभिन्न होटल तथा उद्योग धन्दामा काम गर्दैै आइरहेका बालबालिकाहरुको पहिचान गर्ने र उद्धार र बालकको पुर्नस्थापनाको अभियान थालिएको बताए । उद्धार गरि ल्याइएका बालकको घर परिवारको आर्थीक अवस्था नाजुक रहेकोले उनिहरुको व्यवस्थापनमा गाउँपालिकाले सहयोग गर्ने भएको छ । सुकुम्बासीको रुपमा बसोबास गर्दै आएका बालकका बुबालाई पुर्नस्थापनाका लागि सडक हेरालुको काममा लगाउने अध्यक्ष वलीले बताए ।
उनले गाउँपालिका भित्र रहेका बाल बालिकाहरुको अधिकार सुनिश्चितताका लागि गाउँपालिकाको सिंगोे जनशक्तिनै लागी परेको बताए । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले गुराँस गाउँपालिकालाई बालमैत्री स्थानीय शासन लागु गर्नलाई विगत १ बर्ष देखि जोखिममा रहेका बालबालिकाहरुको पहिचान र उनिहरुको उद्धार तथा पुर्नस्थापनाका लागि गाउँपालिकामा निर्वाचित जनप्रतिनीधिहरुलाई अभिमुखिकरण गर्दै आएको छ । जसको परिणाम स्वरुप गाउँपालिकाका अध्यक्ष लगाएत निर्वाचित पदाधिकारीहरु उक्त अभियानमा लागि परेको अध्यक्ष वलीले बताए ।

प्रतिक्रिया