समृद्ध कर्णालीको पहिलो पाइला

समृद्ध कर्णालीको पहिलो पाइला

कर्णाली–रारा पर्यटन वर्ष

कर्णाली गरीब छ । कर्णाली प्रदेश जस्तै यहाँका नागरिकहरू पनि गरीब छन् । उसो त प्रदेशका जनता नै गरीब भएपछि प्रदेश गरीब हुने नै भयो । गरीब मात्रै होइन, अरु प्रदेशको तुलनामा कर्णाली प्रदेश विकासमा पनि पछाडि नै छ । संघीयता कार्यान्वयनमा आउनुभन्दा पहिला कर्णाली अञ्चल अन्तर्गत पर्ने पाँच हिमाली जिल्लालाई मात्रै कर्णाली क्षेत्रको रूपमा बुझिन्थ्यो । तर अहिले कर्णालीभित्र दस जिल्ला छन् । नेपालभित्रको यो एउटा अलग्गै प्रदेश हो, कर्णाली प्रदेश । जसको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा छ । यसले कर्णालीको पहिचान थप बृहत बनाएको छ ।

कर्णाली गरीब छ, विकासमा पछाडी छ भन्ने कुरा हामीले वर्षौदेखि भन्दै र सुन्दै आएको कुरा भयो । देशमा संघीयता आयो । प्रदेशसभा गठन भयो । प्रदेश सरकार बने । कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रीपरिषद् बैठकबाट कर्णालीमा धेरै भन्दा धेरै पर्यटक भिœयाउन २०७५ लाई पर्यटन वर्षका रूपमा मनाउने निर्णय गरियो । सरकार गठनकै पहिलो वर्ष कर्णाली–रारा पर्यटन वर्ष २०७५ घोषणा गरिनु पर्यटकीय क्षेत्रका धनी कर्णालीबासीका लागि गौरवको विषय हो ।
यो निर्णयले पर्यटकीय हिसाबले धनी कर्णाली प्रदेशको समृद्धिको बाटो खुल्ने आशा देखाएको छ । पर्यटकीय दृष्टिकोणबाट हेर्दा ७ वटा प्रदेशको तुलनामा कर्णाली प्रदेश सम्पन्न छ । पर्यटनका क्षेत्रमा मात्र होइन, प्राकृतिक स्रोत साधनले पनि उत्तिकै सम्पन्न छ । तर पर्यटकीय क्षेत्रहरूमा धनी भएर पनि कर्णालीका पर्यटकीय स्थलहरूको त्यति पहिचान र प्रचार–प्रसार हुन सकिरहेको छैन । पछिल्लो समय कर्णालीको मात्र नभइ नेपालकै प्रमुख पर्यटकीय गन्तव्य बन्न थालेको रारातालको प्रचार–प्रसारका लागि सरकारका तर्फबाट अहिले अभियानहरू सञ्चालन हुन थालेका छन् । रारालाई विश्वमा चिनाएर स्वदेशी तथा विदेशी पर्यटक भिœयाउनका लागि निजी क्षेत्रले गरेका पहल विस्तारै चर्चामा आउन थालेका छन् । मन्त्रीपरिषद्ले घोषणा गरेको पर्यटन वर्षले राराको मात्रै होइन, कर्णालीका सबै पर्यटकीय क्षेत्र चिनाएर कर्णालीका सरोकारवालाहरूले भन्दै आएको समृद्ध कर्णाली प्रदेश बन्नेमा केही आशा भने पक्कै जगाएको छ । कर्णाली प्रदेशको समृद्धिको मेरुदण्ड पर्यटन नै हो, त्यसैले पर्यटन वर्ष समृद्ध कर्णालीको पहिलो पाइला हो । यो पाइला कर्णाली प्रदेश सरकारले राखिदिएको छ, जुन पाइलाबाट अघि बढेर कर्णाली समृद्ध बन्नेछ ।
भौगोलिक रूपमा दुर्गम, मानव विकास सूचकांकमा पछाडि, आर्थिक रूपमा गरीब भए पनि प्राकृतिक रूपले धनी भएको प्रदेश हो, कर्णाली । यहाँ भएका पर्यटकीय गन्तव्यलाई संरक्षण, संबद्र्धन र प्रचार–प्रसार गरी पर्यटन उद्योगका रूपमा विकास गर्न सकियो भने समग्र कर्णालीको विकास हुनेछ र यहाँका नागरिकको जीवनस्तर उकासिनेछ । मुख्यतया कर्णालीमा देशकै सबैभन्दा ठूलो रारा ताल, सबैभन्दा गहिरो से–फोक्सुण्डो ताल, स्यार्पु ताल, कुपिन्डे दह, बराहताल लगायतका तालहरू छन् । अहिले पनि यहाँका पर्यटकीय क्षेत्र भ्रमण गर्नेहरूको संख्या दिन प्रतिदिन बढ्दो छ । ती पर्यटकहरूले प्राकृतिक आन्नद जस्तै आनन्द खान र बस्नका लागि होटेलहरू पाएका छैनन्, त्यसैले अब यहाँ आउने पर्यटकहरूलाई सुविधा प्रदान गर्नु कर्णाली प्रदेश सरकारको दायित्व हुनेछ ।
यहाँ तालतलैया मात्र होइन धार्मिक तथा ऐतिहासिक सम्पदा पनि उत्तिकै छन् । सौन्दर्यले भरिपूर्ण कालिकोटको पचाल झरना अर्को महŒवपूर्ण पर्यटकीय गन्तव्य हो । तीन सय ८१ मिटर अग्लो यो झरनाकै नामबाट गाउँपालिकाको नाम समेत पचाल राखिएको छ । प्रदेशकै अर्थतन्त्रको बलियो आधार बन्ने डोल्पाका पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेशले थप विशेष प्याकेज ल्याउनुपर्ने आवश्यकता छ । कर्णालीकै दैलेखमा एक हजार आठ ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक सम्पदा छन् । श्रीस्थान, कोटिला, नाभिस्थान, पादुका, धुलेश्वर, भैरवी लगायतका धार्मिक तथा ऐतिहासिक क्षेत्र एउटै जिल्लामा छन् । यस्तै आन्तरिक पर्यटनको केन्द्र बनिरहेको सल्यानको कुपिन्डे तालसम्म पुग्नका लागि सडक मर्मत गर्नुपर्ने आवश्यकता छ ।
अहिले स्थानीय सरकारले आ–आफ्ना क्षेत्रमा भएका पर्यटकीय क्षेत्रलाई मर्मत गर्दै प्रचार–प्रसार गर्न थालेका छन् । प्रशस्त सम्भावनाहरू भएर पनि बजेट अभाव र पर्यटकीय केन्द्रहरूलाई कसरी विकास गर्ने भन्ने आवश्यक ज्ञान गाउँ तथा नगरको नेतृत्व गर्ने जनप्रतिनिधिमा नहुँदा यसले द्रुत गति लिन सकेको छैन । कर्णाली प्रदेश भएर बग्ने भेरी र कर्णाली नदीमा ¥याफ्टिङ सञ्चालन, ग्रामीण भेगमा होमस्टे सञ्चालन लगायतका विषय थप पर्यटकीय सम्भावनाहरू छन् ।
मनमोहक राराको दृश्यावलोकन र समग्र कर्णालीको पर्यटन विकासका लागि पर्यटन वर्ष आन्तरीक तथा विदेशी पर्यटकका लागि सुनौलो मौका हो । यसबाट समग्र कर्णाली प्रदेशकै विकास तथा रारातालको संरक्षण हुने लगायतका थुप्रै आधारहरू छन् । कर्णाली आफैमा प्राकृतिक तथा जैविक विविधता हो । यहाँ आर्थिक स्रोतका लागि पर्यटनसँगै जलविद्युत, कृषि अर्गानीक र बहुमूल्य जडिबुटीको पकेट क्षेत्र हो । यस क्षेत्रको समृद्धिका लागि रारा महोत्सवले सौन्दर्य र पर्यटनमा नयाँ आयम थप्नेछ । अहिले रारा पुग्न हवाई सेवा पनि प्रभावकारी नभएको र कर्णाली राजमार्गको कालोपत्रे र स्तरोन्नति नहुँदा समस्या छ । पर्यटन वर्षलाई लक्षित गर्दै कर्णाली राजमार्गका खाल्डाखुल्डी पुर्ने काम भए पनि राजमार्गलाई फराकिलो बनाउनु अर्को आवश्यकता छ ।
त्यसैगरी रारामा नमुना होमस्टे, भ्यू टावरको योजना अगाडि सार्न सकियो भने थप सहयोग मिल्नेछ । अहिले पनि प्रत्येक वर्ष ५० हजार पर्यटक रारामा पुग्छन् । पर्यटन वर्षबाट सरकारले पाँच लाख पर्यटक भित्रयाउने लक्ष्य लिएको छ । कर्णाली सरकारले मनाउन लागेको पर्यटन वर्षको उद्घाटन गर्न प्रधानमन्त्री केपी ओली रारा पुग्ने र त्यहीबाट देशबासीका नाममा सम्बोधन गर्ने भए पछि यसले राष्ट्रिय महŒव पाइसकेको छ । कर्णालीमा पर्यटकीय सम्भावनाहरू कर्णाली नदीमा ¥याफटिङ देखि सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा प्याराग्लाइडिङ्ग जस्ता पर्यटकलाई आकर्षित गर्ने थुप्रै कार्यक्रम सञ्चालन गर्न व्यावसायीलाई कर छुट दिने सरकारको घोषणाले निजी क्षेत्रलाई झनै उत्साह थपेको छ । प्रदेशको विकास र समृद्धिका लागि सडक र बिजुली विस्तार पहिलो प्राथमिकतामा छन्, तर पनि ती विकास हुँदै जान्छन्, पर्यटन वर्ष पनि चलिरहन्छ । पर्यटकहरू जुम्लाको सिंजा हुँदै रारा पुग्न चाहेमा पनि कर्णालीको भाषा, संस्कृति, सभ्यताको जानकारी लिने अवसर मिल्नेछ । यस्तै हिन्दुहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने पर्यटकलाई पनि पर्यटन वर्षले आकर्षित गर्नेछ । अनि कर्णाली राजमार्ग हुँदै रारा जाने पर्यटकलाई सुर्खेतको काँक्रेबिहार, दैलेखको पञ्चकोशी ज्वाला, जुम्लाको चन्दननाथ मन्दिर, तातोपानी, र डोल्पाको से–फोक्सुन्डो पुग्ने सहज रुट बनाउनुपर्ने देखिन्छ । पर्यटन वर्षले कर्णालीको सौन्दर्यलाई विश्वभर चिनाउन थप मदत गर्नेछ । त्यति मात्र होइन, नेपालको ठूलो पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पनि पर्यटन वर्ष कोशेढुङ्गा सावित हुनेछ ।
रारा पुग्ने पर्यटकले कर्णालीको प्राकृतिक आनन्द लिदै फर्किनेछन् । रारा गन्तव्य, सुरक्षित गन्तव्यको रूपमा विकास गर्नु पनि प्रदेश सरकारले गर्नैपर्ने अर्को महŒवपूर्ण काम हो । पर्यटन वर्ष भरी पाँच लाख पर्यटक कर्णाली प्रदेशमा उतार्ने सरकारको लक्ष्य पुरा गरेर मात्र हुने अवस्था छैन, पर्यटकका लागि यात्रा र बसोबासको व्यवस्था मिलाउन प्रदेश सरकारले ठोस कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता पनि उत्तिकै छ । कर्णालीमा अन्न भण्डार छ, जडिबुटीको खानी छ तर अहिलेसम्म कसैले चासो देखाएनन् ति अन्न जडिबुटीको बजारीकरण र बिक्रीका लागि । तर अब यसको अगुवाई प्रदेश सरकारले गर्नुपर्ने हुन्छ । तब मात्रै हालसम्म थुनिएको समृद्ध कर्णालीको बन्द ढोका खुल्नेछ । रारा पुग्ने पर्यटकहरूलाई स्थानीय उत्पादन पस्किन सकियो भने मात्रै पनि यहाँका स्थानीय उत्पादनले बजार पाउनेछन् । पर्यटन, जलविद्युत र जडिबुटीको प्रचूर सम्भावना बोकेको कर्णालीलाई अब विश्वकै एउटा पर्यटकीय केन्द्र बनाउनका लागि मार्गचित्र बनाएर काम गर्ने समय आएको छ । रारामा वर्षभरी नै पर्यटक भरीभराउ गरउान र त्यहाँ पुगेका पर्यटकलाई बस्नका लागि सहज सुविधा प्रदान गर्नु आयोजकले गर्नेपर्ने काम हो ।
(लेखक नेपाल पर्यटन पत्रकार संघ सुर्खेतका अध्यक्ष हुन् ।)

प्रतिक्रिया