बोक्सीको आरोप लगाउने युवक प्रहरी हिरासतमा

बोक्सीको आरोप लगाउने युवक प्रहरी हिरासतमा

दैलेख, चैत २४ – बोक्सी आरोप लगाएर दैलेखमा महिलालाई कुट्ने एक जना युवक प्रहरी हिरासतमा परेका छन् । सदरमुकाम नारायण नगरपालिका–३ कालिमाटीकी ५२ वर्षीया राजकुमारी जैसीलाई बोक्सीको आरोप लगाएको भन्दै २० वर्षीय रामचन्द्र बोगटीलाई प्रहरीले हिरासतमा लिएको हो ।
बोक्सी लगाएर २२ वर्षीया आफ्नी बहिनी बिरामी पारेको भन्दै हिजो साँझ आफ्नै घरमा बोलाएर बृद्धाको पेट र पाखुरामा टोकेर घाउ बनाएको भनी पीडित महिलाले आज जिल्ला प्रहरी कार्यालयमा उजूरी दिनुभएको थियो ।
सो उजूरीको आधारमा ‘बोक्सीको आरोप सम्वन्धी कसूर र सजाय ऐन २०७२’ बमोजिम मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी निरीक्षक एकीन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
आरोपित रामचन्द्र बोगटीले आफूलाई देउता आएर बहिनीलाई बोक्सी लगाएको खुटिएको भन्दै बोक्सी झार्न त्यसो गरेको तर पछि होस् आउदा राजकुमारी जैसीलाई घाइते अवस्था देखेको बताए । आफूलाई देउता आएको बेला गरेको गतिविधि याद नभएको बोगटीको भनाई थियो ।
‘बोक्सीको आरोप सम्वन्धी कसूर र सजाय ऐन २०७२’ दफा ३ को उपदफा २ (क) र (खं) मा बोक्सीको आरोप लगाएमा ६ महिनादेखि २ वर्षसम्म कैद वा ५ हजारदेखि २० हजार रुपैंयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्छ । उपदफा ३ को उपदफा २ (छ) मा कुटपिट गर्ने, डाम्ने वा शारीरिक क्षति पु¥याएको अवस्थामा ५ वर्षदेखि ८ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाख रुपैंयाँसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया