माध्यामिक विद्यालयहरुमा विद्युतिय हाजिरी

माध्यामिक विद्यालयहरुमा विद्युतिय हाजिरी

दैलेख, २५ चैत – दैलेखको गुराँस गाउँपालिकाले जिल्लामै पहिलो पटक गाउँपालिका भित्रका सबै माध्यामिक विद्यालयमा विद्युतीय ई–हाजिरी शुरु गरेको छ । शिक्षक कर्मचारीलाई समयको पालना गराउनुका साथै शिक्षालाई गुणस्तरिय बनाउन शिक्षकहरुको उपस्थिति पारदर्शी हुनुपर्ने भन्दै विद्युतिय हाजिरी सुरु गरिएको हो । विद्युतिय हाजिरी गाउँपालिकाका सबै माध्यामिक विद्यालयहरुमा शुरु गरिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिएका छन् । अनुशासन र समयको पालना गराउन साथै शिक्षा क्षेत्रलाई मर्यादित बनाई अध्ययन अध्यापनलाई गुणस्तरिय बनाउन सबै विद्यालयमा विद्युतिय हाजिरीको व्यवस्था गरिएको अध्यक्ष ओलीले जानकारी दिए ।


८ वटा वडा रहेको गुराँस गाउँपालिकामा १० वटै मावीमा विद्युतिय हाजिरी सुरु गरिएको अध्यक्ष ओलीले बताए । विशेष गरी विद्यालयमा विद्युतिय हाजिरी व्यवस्था गरिँदा विद्यालयका शिक्षकले १० देखि ४ बजेसम्म बसे नबसेको थाहा हुने र शिक्षकले विद्यालयमा समय दिँदा पढाई गुणस्तरिय हुने ओलीले बताए ।अब विगतमा गरिएको जस्तो विद्यालय आउने हाजिरी लगाउने अनि जाने दिन गए, उनले उनले भने ‘अब ठिक १० बजे विद्यालय आउनुपर्छ, ठिक ४ बजेसम्म पढाउने काम गर्नुपर्छ ।’
विद्युतिय हाजिरी शुरु भएपछि हातको औँलाले हाजिरी यन्त्रमा थिचेर उपस्थित भए नभएको जनाउनुपर्ने हुन्छ । समयको पालना पनि गर्नुपर्ने बाध्यता रहन्छ । अब शिक्षकहरुले आएको समय र गएको समय दुइपटक हाजिरी गर्नेछन् । त्यसको लागि हातको औंला विद्युतिय हाजिरीले स्वीकृती गर्छ । विद्यालयमा विद्युतिय हाजिरी गर्नको लागि तालिम समेत दिएको गाउँपालिकाका सुचना प्राविधिक योगेश जिसीले बताए ।
विद्युतिय हाजिरी सेवा संचालन भएपछि शैक्षिक क्षेत्र सुधार हुने अपेक्षा लिएको गाउँपालिका शिक्षा शाखा प्रमुख महेश केशर खनालले जानकारी दिए ।
गुराँस गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालयमा यसअघि नै विद्युतिय हाजिरी र सीसी टिभि जडान गरीसकेको छ । यसले गाउँपालिकामा काम प्रभाकारी हुँदै गएको सेवाग्राहीले बताएका छन् ।
गाउँपालिकाका सबै वडा कार्यालय र स्वास्थ्य कार्यालयमा विद्युतिय हाजिरी जडान गरिने गाउँपालिका श्रोतले जनाएको छ । गाउँपालिकाका सबै कार्यालयमा सीसी टिभीसँगै सफ्टवेयर पनि संचालन गर्ने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्त बहादुर मल्ले जानकारी दिएका छन् ।

प्रतिक्रिया