आफूलाई बदल्न जरुरी – बस्नेत

आफूलाई बदल्न जरुरी – बस्नेत

दैलेख, चैत २५ –  नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले स्थानीय तहका कर्मचारीहरुले आधुनिक प्रवृधि र नयाँ संरचना अनुसार आफूलाई बदल्दै लैजानुपर्ने बताएका छन् । दैलेखमा आजदेखि सुरु भएको ३ दिने स्थानीय सञ्चित कोष व्यवस्थापन सम्वन्धी प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै उनले सो विचार राखेका हुन् ।
सार्वजनिक खर्च तथा बित्तीय उत्तरदायित्व सचिवालय काठमाण्डौं र कोष तथा लेखानियन्त्रण कार्यालयको आयोजनामा दैलेखका ११ वटै स्थानीय तहका लेखा प्रमुख तथा सहायकहरुका लागि सञ्चालित प्रशिक्षण लेखा व्यवस्थापन चुस्त र दुरुस्त राख्न सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बिश्वास व्यक्त गरे ।


कार्यक्रममा दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले सञ्चित कोष व्यवस्थापनले पारदर्शिता र जवाफदेहिता अभिबृद्धिमा थप सहयोग हुने आशा व्यक्त गरे ।
कोष नियन्त्रक प्रकाश गौतमले प्रशिक्षपछि बजेटको उचित प्रयोग, राजश्वको श्रोत, खर्च लेखांकन, प्रतिवेदन बनाउन नयाँ प्रणाली बारे लेखा व्यवस्थापकलाई अझैं सहज हुने बताए ।
कार्यक्रममा प्रशिक्षक रविराज पौडेलले पहिले सरकार केन्द्रित सञ्चित कोष हुने गरेकोमा अव केन्द्र सरकार, ७ वटा प्रदेश र ७ सय ५३ वटा स्थानीय तह समेत ७ सय ६१ वटा सरकारका आ–आफ्नै सञ्चित कोषमा अनुदान रकम आउने भएको कारण व्यवस्थित आधुनिक लेखा प्रणाली राख्न ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’ सुत्र लागू गर्न लागेको जानकारी दिए ।
प्रशिक्षणमा गाउँपालिका र नगरपालिकाको आम्दानी, योजना, राजस्वको अनुमान, बजेट स्वीकृती, खर्च सम्वन्धी आधारभूत प्रबिष्टी, खर्च अभिलेख, लेखा सम्वन्धी प्राविधिक कामलाई ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’ अनुसार कसरी काम गर्ने भन्ने बारे प्रयोगात्मक अभ्यास गराइने बताइएको छ ।

प्रतिक्रिया