शिक्षालाई गुणस्तरिय बनाउन साझेदार संस्थाहरु संग सहकार्य गरिने

शिक्षालाई गुणस्तरिय बनाउन साझेदार संस्थाहरु संग सहकार्य गरिने

दैलेख, २५ चैत – गुराँस गाउँपालिकाले विद्यार्थीहरुलाई विद्यालयमा नियमित उपस्थिती गराउन विभिन्न साझेदार संस्थाहरुसँग समन्वय गर्ने भएको छ । शैक्षिक क्षेत्रको सुधारका लागी विद्यार्थीहरुको विद्यालयमा ७५ प्रतिशत हाजिरी हुनेगरी विद्यार्थीहरुको नियमित उपस्थित गराउन साझेदार संस्थाहरुसँग समन्वय गरि कर्मचारीलाई परिचालन गर्न लागिएको हो ।
सेभ द चिल्ड्रेनको सहयोगमा बालबालिकाको क्षेत्रमा काम गर्दै आएका दैलेखको सामाजिक सेवा केन्द्र (सोसेक) र एभरेष्ट क्लबसँग समन्वय र परिचालन गरि विद्यार्थीहरुको उपस्थिती दर बढाईने गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए ।
शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउन विद्यार्थीहरु उपस्थिती दर बढाउपर्ने बताउदै ओलीले विद्यालयमा विद्यार्थी र शिक्षक नियमित भएमात्र शिक्षा क्षेत्रमा सुधार हुने सम्भावना रहेको औल्याए । “शैक्षिक सत्र २०७५÷०७६ बाट गुराँस गाउँपालिका भित्रका सबै माध्यामिक विद्यालयमा अध्ययन गर्ने कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुको विद्यालयमा नियमित उपस्थितीका लागि पहिलो चरणमा विभिन्न चेतनामुलक कार्यक्रमहरु संचालन गर्न विकास साझेदार संस्थासँग मिलेर जान खोेजेका हौ, ।” उनले भने । संस्थासँगको साझेदारीमा गाउँपालिकामा रहेका विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि ३४ लाख बराबरको रकम खर्च गरिने उनले बताए ।
सेभ द चिल्ड्रेनको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले जिल्लामा शिक्षासँग प्रत्यक्ष सरोकार राखि गाउँपालिकाको शिक्षा कार्यनिती २०७४ निर्माणका लागि सहयोग गरेको बताउदै ओलीले भने “उक्त कार्यनिती गाउँ सभाबाट पास भएको छ ।”
विद्यालयमा बाल क्लवको सक्रियता बढाई उनीहरुलाई जिम्मेवार बनाउन, शिक्षक, विद्यार्थी र प्रधानाध्यापक विच सुमधुर सम्बन्ध स्थापित गर्ने, प्रत्येक शुक्रबार विभिन्न अतिरिक्त क्रियाकलापहरुको आयोजना गर्ने, दैनिक विद्यार्थीहरुको हाजिर परिक्षण गर्ने, छात्रबृत्ति उपलव्ध गराउने तथा उपचारात्मक र उत्प्रेरणात्मक कक्षाहरु संचालन गर्ने कार्यहरु गरिने छ ।
जिवन उपयोगी तथा वित्तिय सिप प्रदान गर्ने, प्रधानाध्यापकहरुको नेतृत्व विकास गर्ने, मोवाइलबाट एस.एम.एस सेवा संचालन गर्ने जस्ता क्रियाकलपाहरुको प्रभावकारी कार्यन्वयन गरि विद्यालयमा विद्यार्थीको टिकाउ दरमा बृद्धि गर्ने गरिने एभरेष्ट क्लव,दैलेखका अध्यक्ष दीपक कुमार शाहीले जानकारी दिए ।
गुराँस गाउँपालिकामा बाल संरक्षण र बाल अधिकार शासन कार्यक्रम मार्फत बालबालिकाहरुको क्षमता विकास गर्दै बाल मैत्री स्थानीय शासन लागु भएको गाउँपालिका बनाउन अभियान संचालन गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष मञ्जु खड्काले बताइन् ।
विद्यालयमा विद्यार्थी तथा शिक्षकहरु नियमित उपस्थित भई शिक्षण सिकाई क्रियाकलापहरु प्रभावकारी रुपमा संचालन भएको अवस्थामा गुराँस गाउँपालिका, दैलेखको गुणस्तरिय शिक्षाको लागि चालेका नीतिगत निर्णयहरुमा योगदान पुग्ने बाल संरक्षण सजाल नेपाल कर्णाली प्रदेशका संयोजक हीरासिंह थापाले बताए ।

प्रतिक्रिया