स्वास्थ्य सेवामा सुधार निती अनुसार काम गर्न सुझाव

स्वास्थ्य सेवामा सुधार निती अनुसार काम गर्न सुझाव

दैलेख, २५ चैत– दैलेख गुराँस गाउँपालिकाका जनप्रतिनिधिले स्वास्थ्य क्षेत्र सुधारका लागि कर्मचारीहरुलाई निती अनुसार काम गर्न सुझाव दिएका छन् । गुराँस गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा जनप्रतिनिधि एवम स्वास्थ्यकर्मी विच गरिएको अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रममा सहभागि जनप्रतिनिधिहरुले निति र नियमअनुसार काम गरी स्वास्थ्य क्षेत्र सुधार गर्न सुझाव दिएका हुन् । उनिहरुले विगतमा निति नियम अनुसार काम नगरेकै कारण स्वास्थ्य क्षेत्रमा अपेक्षा गरे अनुसारको प्रगती नभएको भन्दै अब स्थानिय तहले बनाएको निति अनुसार काम गर्नुपर्नेमा जोड दिएका हुन् ।


कार्यक्रममा बोल्दै गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले गाउँपालिका भित्र कार्यरत स्वास्थ्य स्वयमसेविकाहरुलाई सक्रिय बनाउनुपर्ने बताउदै त्यसको लागि दक्ष जनशक्ती गाउँपालिकाको निति अनुसार हुनुपर्ने बताए ।
उनले स्वयमसेवीकाहरुले महिनामा ४ दिन अनिवार्य रुपमा काम गर्नुपर्ने भन्दै काम गरेवापत गाउँपालिकाले आवश्यक पारिश्रमीक उपलब्ध गराउने बताए । तर काम परिणाममुखी हुनुपर्ने उनको तर्क थियो ।उनले स्वयमसेवीकाको लागि गाउँमा सरसफाई तथा चेतनामुलक काम गरि स्वच्छ समाज निर्माण गर्नेगरी लाग्न आग्रह गरे ।
उनले भने, स्वयमसेवीका भनेको स्वास्थ्य क्षेत्रको जग हुन्, उनिहरुले काम परिणाममुखी गर्नुपर्छ । उनले थपे गाउँपालिकाले उनिहरुको कामको आधारमा सेवा सुविधा दिन्छ, काम गर्नेलाई मात्र पारिश्रमीक दिनुपर्छ,बसेर खाने दिन गए ।
कार्यक्रममा बोल्दै वडा नम्बर ६ का वडा अध्यक्ष हिम बहादुर ओलीले सबै स्वास्थ्य स्वयमसेवीकालाई स्वास्थ्य सम्बन्धी जानकारी दिन सकेमात्रै स्वास्थ्य क्षेत्र सुधार गर्न सकिने धाराणा व्यक्त गरे ।
कार्यक्रममा स्वास्थ्य शाखा गुराँस गाउँपालिका प्रमुख निर भण्डारीले स्वास्थ्य क्षेत्रको सुधारका लागि ५ बुँदे परिकल्पना र परिकल्पना प्राप्तीका लागि आवश्यक रणनिति प्रस्तुत गरेका थिए । अभिमुखिकरण कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, स्वास्थ्यकर्मी, लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया