कृषकले नै कृषक भन्न लाज मान्छन्

कृषकले नै कृषक भन्न लाज मान्छन्

दैलेख,– नारायण नगरपालिका कृषि इकाई प्रमुख बाली संरक्षण अधिकृत घनश्याम कार्कीले कृषकहरु आफैले गौरवको पेशाको रुपमा नलिएको भन्दै कृषकसंग असन्तुष्टी पोेखेका छन् । इन्सेकको इएलपी कार्यक्रमको जिल्ला स्तरीय सम्वाद बैठकमा मंगलवार उनले सो विचार राखेका हुन् ।
बाली संरक्षण अधिकृत कार्कीले भने ‘कृषकहरुले नै म कृषक भन्न लाज मान्छन्, विद्यालय व्यवस्थापन समिति वा बन समितिको सदस्य भनेर परिचय दिन्छन् ।’ कृषकहरुले नै गौरव नगरे अरु कसले सम्मान गर्छ उनले टिप्पणी गरे ।
सम्वाद बैठकमा उठेका प्रश्नहरुको जवाफ दिंदै कार्कीले कृषकहरु पनि गुजारामुखी खेती गर्ने अनि सरकारले पनि कृषिमा यथेष्ट बजेट व्यवस्था नगरेको कारण कृषिलाई आधुनिक प्रविधियुक्त र उन्नत तथा व्यवसायिक बनाउन नसकिएको बताए ।
कार्यक्रममा नारायण नगरपालिका शिक्षा इकाई प्रमुख विद्यालय निरीक्षक धीरेन्द्रप्रसाद शर्माले शिक्षा ऐन र स्थानीय तह सञ्चालन ऐन दोहोरो चेपुवामा शिक्षा गतिविधि परेको बताए । सम्वाद बैठकमा उठेका शिक्षा सम्वन्धी प्रश्नको जवाफ दिने क्रममा भविष्यका कर्णधार बालबालिकाको शैक्षिक विकासमा सरकारको ध्यान जानुपर्ने र समुदायको खवरदारी जरुरी रहेको बताए ।
नारायण नगरपालिका स्वास्थ्य इकाई प्रमुख सिअहेव लालबहादुर खड्काले सरकारले जनस्वास्थ्य सेवालाई जवाफदेहिता लिंदै स्वास्थ्य संस्थाहरुमा निःशुल्क औषधि र मुटु रोग लगायत गम्भीर स्वास्थ्य समस्या समेत लाख भन्दा उपचार खर्च सहयोग गरिरहेको बताए । स्वस्थ रहन हरेक व्यक्ति आफैले पनि सामान्य सावधानी अपनाउनुपर्ने सुझाव दिए ।
मानवअधिकार निगरानी समूह बेलपाटाका अध्यक्ष पार्वती खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्तरीय मानवअधिकार निगरानी समूहका संयोजक ज्योती कटुवाल, बाल अधिकार चेतना समूहका टीका खत्री, सुनिता सोनी, प्रतीक्षा बिक, धनुष थापा, मानवअधिकार निगरानी समूह डुंगेश्वरका सदस्य अमृता भण्डारी लगायतले इएलपी कार्यक्रमका क्रियाकलाप र स्थानीय समस्या विषयमा बोलेका थिए ।
कार्यक्रममा अधिकारकर्मीहरु निर्मला सोनी, बखत नेपाली, पदम सुनार, मोहन सुनार, निर्मला नेपालीले महिला हिंसा, जातीय छुवाछूत लगायतका सामाजिक सवाललाई समेत इएलपी कार्यक्रमले बढी चासो दिनुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया