विद्यार्थी भर्ना अभियानमा सांसद

विद्यार्थी भर्ना अभियानमा सांसद

 
दैलेख बैशाष २– प्रतिनीधि सभा सदस्य पार्वती कुमारी विशुन्के सहितको टोली आइतवार विहानै दैलेख सदरमुकाम नजिकै रहेको दलित बस्तीमा पुग्यो । नारायण नगरपालिका वडा नं. ३ मा रहेको प्युसेमा रहेको दलित बस्तीमा पुगेको टोलीले स्थानीय समुदाय संग छलफल गरेको छ । उक्त दलित बस्तीमा रहेका बालबालिका, अभिभावकहरुसंग विद्यार्थी भर्ना अभियान लगाएतका विषयमा छलफल गरेको थियो । छलफलका क्रममा स्थानीय बासीहरुले खानेपानीको समस्या, बेरोजगारी लगाएतका समस्या सांसद समक्ष राखेका थिए । उक्त समुदायमा रहेका बालबालिकाहरु विद्यालय नजाने, गएपनि बिचैमा विद्यालय छोड्ने गरेको वडा नं. ३ का वडा सदस्य हर्क बहादुर नेपालीले जानकारी गराएका थिए । उक्त बस्तीमा ५० प्रतिशत बालबालिका अहिले पनि विद्यालय बाहिर रहेको बताइएको छ । छलफलमा सांसद विशुन्केले दलित बस्तीमा सबै बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्नुपर्नेमा जोड दिइन् । उनले बस्तीमा खानेपानीको समस्या, बेरोजगारीको समस्यालाई समाधान गर्नका लागि आफुले पहल थाल्ने बताइन् । कार्यक्रममा समाजसेवी सविना वि.क., पत्रकार अमर सुनार, हिक्मत नेपालीले विद्यालय भर्ना अभियानका विषयमा समुदायलाई जानकारी गराएका थिए ।
उक्त समुदायमा गरिएको छलफल पश्चात टोली नारायण नगरपालिका वडा नं. ३ को प्युसेमा रहेको श्री जनजागृती आधारभुत विद्यालयमा पुगेको थियो । सोही समुदायका विद्यालय बाहिर रहेका ३ जना बालबालिकाहरुलाई विद्यालयमा भर्ना समेत गरिएको छ । विद्यालय नजिकै रहेको दलित बस्तीका तुल्छा नेपाली, धर्मराज नेपालीलाई सांसद विशुन्केले कक्षा १ मा भर्ना समेत गरेकी छिन् । यस्तै सोहि विद्यालयमा अध्ययनरत सुमित्रा रेग्मीलाई कक्षा ६ मा भर्ना गरिएको छ । सुमित्राको आमा र बुबा नभएकोले सांसद विशुन्केले शैक्षिक सामग्री सहित विद्यालयमा भर्ना गरेकी हुन् । विद्यालयमा भर्ना गरिएका तिन जना बालबालिकाहरुलाई सांसद विशुन्केले झोला, कापी, कलम लगाएतका सामग्रीहरु प्रदान गरेकी हुन् ।


विद्यार्थी भर्ना अभियान अन्तरगत जिल्लामा पहिलो पटक जनजागृती आधारभुत विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै सांसद विशुन्केले कोही पनि बालबालिका विद्यालय जानबाट बञ्चित नहुन भन्नका लागि सरकारले विद्यालय भर्ना अभियान संचालन गरेको बताइन् । आर्थीक अवस्था कमजोर भएर होस या अन्य कारणले बालबालिकाहरुलाई विद्यालय जानबाटबञ्चित गराइनु हुँदैन्, उनले भनिन “अहिलेका बालबालिका भविष्यका कर्णधार हुन् ।” सरकारले चलाएको अभियानलाई शिक्षक, अभिभावक तथा स्थानीय समुदायले समेत सहयोग गर्नुपर्ने सांसद विशुनकेको भनाई थियो । सरकारले बैशाष १ गते देखि विद्यार्थी भर्ना अभियान सुरु गरेको थियो । यसअघि शिक्षा मन्त्रालय, शिक्षा विभाग र शिक्षासँग सम्बन्धित निकायको पहलमा शुरु हुने अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाटै शुभारम्भ गर्नुभएको थियो । विपन्नताका कारण विद्यालयमा जान नपाएका बालबालिकालाई लक्षित गरि भर्ना अभियान सुरु गरिएको हो । यस पटक “हामी सबैका इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा” भन्ने नारा तय गरिएको छ ।
फोटो–विद्यार्थी भर्ना अभियानको विषयमा छलफल गर्दै प्रतिनीधि सभा सदस्य पार्वती कुमारी विशुन्के सहितको टोली ।

प्रतिक्रिया