दैलेख कारागारमा मनोरञ्जन, पुस्तक र औषधि अभाव

दैलेख कारागारमा मनोरञ्जन, पुस्तक र औषधि अभाव

दैलेख, वैशाख ७ – दैलेख कारागारका कैदी तथा बन्दीहरुले मनोरञ्जनका लागि खेलकूद सामग्री, पुस्तकालयमा ज्ञानवद्र्धक पुस्तक र विरामी पर्दा प्रयाप्त औषधिको अभाव रहेको बताएका छन् ।
कारागारको अनुगमन गर्न आज त्यहाँ पुगेका अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का क्षेत्रीय कार्यालय नेपालगञ्जका क्षेत्रीय संयोजक भोला महत र इन्सेकको इएलपी परियोजनाका कार्यक्रम प्रवन्धक सलिना भट्टराईको टोलीसंग कैदी तथा बन्दीहरुले ती समस्या दर्शाएका हुन् ।
कैदी तथा बन्दीहरुसंग भएको भेटमा कारागार हाताभित्रै भलिबल खेल्ने ठाउँ बनाइए पनि काँडेतारमा ठोक्किएर २–४ दिनमै बल फुट्ने गरेको बन्दी चौकीदार जीवन शाहीले बताए ।
सामान्य विरामी पर्दा सिटामोल, बु्रफिन पाइए पनि बन्दीहरु मध्ये केही जनाको किड्नी, मुटुरोग लगायतका दीर्घरोगीहरुको उपचारमा कारागारबाट पहल हुन नसकेको बन्दी नाइके कालु चन्दले समस्या सुनाए ।
कारागारभित्र पुस्तकालय राखिए पनि नेपालको संविधान, रामायण, महाभारत लगायतका ज्ञानवद्र्धक पुस्तक धेरै निकायसंग माग गर्दा पनि पाउन नसकिएको बन्दी लाइब्रेयन भक्तबहादुर खड्काले दुखेसो पोखे ।
इन्सेकको अनुगमन टोलीसंगै रहनुभएका सीअहेव इन्द्रबहादुर थापाले बन्दीहरुलाई बाहिर लिई उपचार गर्न प्रक्रियागत जटिलताका कारण दीर्गरोगीलाई उपचारको प्रयत्न गर्न नसकिएको बताए ।
महिला बन्दी कक्षमा सुरक्षा प्रवन्ध र सेवा सुविधा बारे इन्सेक टोलीले राखेको जिज्ञासामा महिला बन्दी नाइके बिन्दकला शाहीले जिल्ला र उच्च अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्न सर्वोच्च अदालत जाँदा सर्वोच्च अदालतले निर्णय ढिलाई हुने गरेको गुनासो सुनाइन् ।
महिला कैदी तथा बन्दीहरुले आफूहरुको रुची अनुसारका सीप, इलम सिक्ने घरेलु उद्यमका तालिमहरु आवश्यक रहेको कैदी महिला पवित्रा परियारले बताइन् ।
इन्सेकको अनुगमन टोलीको साथमा दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटा, इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार पनि सहभागी थिए ।
अरु जिल्लाबाट स्थानान्तरण भई आएका कैदीहरुको चापले झण्डै डेढ सय जना बन्दी हुदा अघिल्ला वर्षहरुमा खानेपानीको समस्या भए पनि अहिले त्यो संख्या पनि घटेको र जिल्ला सदरमुकाममा ६ महिना अघि सहारेको खानेपानीको झरे यता खानेपानीको समस्या हटेको बन्दीहरुले नै बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का क्षेत्रीय संयोजक भोला महतले कैदी तथा बन्दीहरुले राखेका माग सामान्य किसिमका भएका र ती समस्या समाधान गर्न सरोकारवाला निकायसंग समन्वय गर्ने बचन दिए ।
दैलेख कारगारमा अहिले ११ जना महिला सहित १ सय १३ जना बन्दी अहिले थुनामा रहेका छन् । जम्मा बन्दी मध्ये मुद्दा फैसला हुन बाँकी रहेका ८ जना थुनुवा छन् भने १ सय ५ जना चाहिं अदालतको फैसला अनुसार कैद भुक्तान गर्दै गरेका छन् ।
मुद्दाका प्रकृतिका हिसावले सबै भन्दा धेरै कर्तव्य ज्यान मुद्दाका ५१ जना, तयसपछिको दोश्रोमा जवरजस्ती करणीका ३१ जना, बहुविवाहका ८, ज्यान मार्ने उद्योगका ४, लागु औषधका ४ जना, मानव बेचबिखन ३, चोरीका ३, चौपाया मारेका २, माअशब २, चोरी शिकार, ठगी, हातहतियार तथा खरखजना, सवारी ज्यान, आगजनी मुद्दाका १–१ जना कैदी तथा बन्दी छन् ।

प्रतिक्रिया