दर्ता नभएका मेडिकलमा सिलबन्दी

दर्ता नभएका मेडिकलमा सिलबन्दी

दैलेख, वैशाख १२ – व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जको टोलीले सरकारी निकायमा दर्ता प्रक्रिया नपु¥याई सञ्चालन गरेको पाइएपछि दैलेखमा २ वटा औषधि पसलमा बुधवार सिलबन्दी गरेको छ । दैलेख सदरमुकामको दीक्षा मेडिकल र तल्लो डुङ्गेश्वर बजारको ढकाल स्वास्थ्य क्लिनिक सिलबन्दी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय, नेपाल पत्रकार महासंघ लगायतका निकायको समेत संलग्तामा सदरमुकाम दैलेख बजार, दुल्लू र तल्लो डुङ्गेश्वरका १४ वटा औषधि पसलको अनुगमन गर्दा दर्ता नभई चलाइएको फेला पारेपछि उक्त कारवाही गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेले जानकारी दिए ।
दैलेख बजारको दीक्षा मेडिकलका सञ्चालक अमृत प्याकुरेलले डाक्टरको प्रेस स्क्रीप्सनमा मात्र बेच्न मिल्ने नार्कोटिक र मनोचिकित्सकको प्रेस स्क्रीप्सनमा बेच्न मिल्ने साइकोटपिक औषधि समेत खरिद तथा बिक्रीको अभिलेख व्यवस्थित नपाइएको बताइएको छ ।
सदरमुकामका औषधि पसलहरुमा अनुगमन भइरहेको थाहा पाएपछि दुल्लू बजारका ४ वटा मेडिकल सञ्चालकहरुले बोर्ड लुकाउनुका साथै अकस्मात् पसल बन्द गरी लुकेको स्थानीयले बताएका छन् । अनुगमनको क्रममा औषधिको प्रकृति, सरकारी निकायमा दर्ता भए नभएको, कर तथा राजस्व चुक्ता गरे नगरेको औषधि व्यवस्था विभागका अधिकृत हेमन्तराज भट्टले बताए ।
औषधि ऐन २०३५ अनुसार फारमेसी पढेकाले मात्र चलाउन पाउनेमा दीक्षा मेडिकल र ढकाल स्वास्थ्य क्लिनिकले रीत नपु¥याएको पाइएकोले दर्ता पूरा गरेपछि मात्र सञ्चालन गर्न पाउने गरी जिल्ला प्रशासन कार्यालय र अहिलेका सञ्चालकको समेत २ वटा ताला लगाइएको छ ।

प्रतिक्रिया