अदालतको फैसलाको आधारमा नागरिकता

अदालतको फैसलाको आधारमा नागरिकता

दैलेख, वैशाख १४ – नारायण नगरपालिका–४ सोतकी रञ्जना कटुवाल १३ वर्षकी छँदा गाउँकै मानबहादुर कटुवालसंग बुबाआमाले विवाह गराई दिनुभयो । विवाह भएको २ वर्षमा छोरा जन्मियो, छोराको नाम सर्वराज राखियो अनि जन्म दर्ता पनि बन्यो ।
छोराको जन्मदर्ता त बन्यो तर रञ्जनाको उमेर १८ वर्ष नपुग्दासम्म नगरपालिकाले विवाह दर्ता गर्न नमिल्ने बतायो, विवाह दर्ता नभएको कारण नेपाली नागरिकता पाउन पनि कठिन भयो । जब उमेर १८ वर्ष पुग्यो विवाह दर्ता र नागरिकता कुरा गर्दा मानबहादुरले आनाकानी गरे, बनाउन मानेनन् ।
नागरिकता बनाउन फकाएर नमानेपछि प्रहरी प्रशासन गुहार्दा मानबहादुर घर नै छोडेर भागे । जेठाजु बलबहादुर कटुवाल र सासु नरमा कटुवालले दवाव दिएको कारण आफू घरमै बसेर पनि विवाह दर्ता र नागरिकता बनाउन अवरोध भएको रञ्जनाले सुनाउनुभयो ।
विवाह दर्ता र नागरिकता बनाउन अवरोध मात्र नभएर घरमा बस्न, खान नदिएको भन्दै कानूनी सहायता केन्द्रको सहयोगमा उहाँले दैलेख जिल्ला अदालतमा दिएको अंश मुद्दा सफलतापछि उहाँले नागरिकता पाउन बाटो खुल्यो ।
गएको जेठमा दिएको अंक मुद्दाको गत चैत १२ गते भएको फैसलामा छोरा सर्वराज कटुवालको जन्मदर्तामा आमा रञ्जना र बुबा मानबहादुर कटुवाल उल्लेख भएबाट उनीहरु श्रीमान्–श्रीमति ठहर गर्दै अंश पाउन हक पुग्छ भन्ने शब्दावलीले जिल्ला प्रशासन कार्यालयले रञ्जनालाई वैशाख १४ गते नेपाली नागरिकताको प्रमाणपत्र दिएको छ ।
अदालतको फैसला, छोराको जन्मदर्ता समेत संलग्न राखी रीतपूर्वकको निवेदन पेश गरेकोमा रञ्जनाका जेठाजु र सासुलाई समेत झिकाउदाँ आनाकानी गरेको अवस्थामा अदालतको फैसलाको आधारमा पति मानबहादुर कटुवाल नाम उल्लेख गरी रञ्जनालाई नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेले बताउनुभयो ।
रञ्जनालाई नेपाली नागरिकता दिलाउन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नारायण नगरपालिकाले वकालत गरेका थिए । लामो संघर्ष अनि अधिकारवादी संस्था, न्यायिक निकाय र प्रमुख जिल्ला अधिकारीको सद्भावले आफूले नागरिकता पाएको रञ्जनाले बताउनुभयो । नागरिकता पाउदा आफूले युद्ध जितेजस्तो खुशी लागेको उहाँले टिप्प्पणी गर्नुभयो ।

प्रतिक्रिया