श्रम ऐन कार्यान्वयनका लागि नियमावली बनाउन माग

श्रम ऐन कार्यान्वयनका लागि नियमावली बनाउन माग

दैलेख बैशाख १८- आर्थिक समृद्धिको आधार भनेकै मजदुर भएकाले सरकारले श्रम क्षेत्रलाई विशेष ध्यान दिन सामाजिक सुरक्षा कोष ऐन र श्रम ऐन कार्यान्वयनका लागि नियमावली बनाउन माग गरिएको छ । १२९ औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अबसरमा नागरिक समाज दैलेखका अध्यक्ष खड्गबहादुर सिजापति, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा र इन्सेक जिल्ला प्रतिनीधि अमर सुनार द्धारा सयुक्त हस्ताक्षरमा जारी प्रेस विज्ञप्तीमा यस्तो माग गरिएको हो ।
विज्ञप्ती मार्फत श्रम ऐनको कार्यान्वयन गर्दै कार्यरत मजदूरको श्रमको उचित पारिश्रमिक पाउनुपर्ने, समान कामको समान ज्याला कार्यान्वयन गर्न, रोजगारीका नयाँ अवसर सिर्जजना गर्न र गैरकानूनी रुपमा अझैं पनि कायम रहेको बाल श्रम निषेध गर्न सरकार, राज्यका निकाय र सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ ।

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा मंगलबार विश्वभर १२९ औँ अन्तराष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा विश्व मजदुरहरुले प्रदर्शन गरेका थिए । हेय मार्केट भन्ने ठाउँमा भएको प्रदर्शनको क्रममा बम विस्फोट भएको थियो । सो बम विस्फोट आरोपमा प्रहरीले आन्दोलनरत मजदुरमाथि लगायो र व्यापक दमन ग¥यो । प्रहरीको गोली लागी ७ मजदुरको मृत्यु भएको थियो । मजदुर आन्दोलन सशक्त बन्दै गएको थियो ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु भएको इतिहास छ ।
मजदूरको अधिकार सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दवाव दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । वि.सं. २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।

प्रतिक्रिया