सांसद बने ‘गर्भवती’

सांसद बने ‘गर्भवती’

दैलेख बैशाख १८- मंगलवार अन्तराष्ट्रिय श्रमिक दिवस । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारा सहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर १२९ औँ अन्तराष्ट्रिय श्रमिक दिवस मनाउनका लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिएको थियो । तर दैलेखमा भने फरक दृष्य देखियो । लैङ्गिक भूमिकाका विषयमा जानकारी गराउनका लागि दैलेख सदरमुकाममा आयोजित जिल्ला स्तरिय प्रजनन् स्वास्थ्य एंव खाद्य तथा पोषण मेलामा जनप्रतिनीधि र कर्मचारीहरुलाई बालुवाको भारी बोकाइएको  छ । गर्भवती महिलाका पीडा बुझाउनका लागी प्रतिनीधी सभाका सांसद देखि स्थानीय तहमा निर्वाचित जनप्रतिनीधि र कर्मचारीहरुलाई केही समयका लागि बालुवाको भारी बोकाएर गर्भवती बनाइएको हो ।

एउटा महिलाले गर्भवती देखि सुत्केरी भइसकेपछि भोग्नु पर्ने अवस्था प्रतिनीधि सभाका सांसद रविन्द्रराज शर्मा, जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापा, नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर खड्का लगाएत स्थानीय तहका जनप्रतिनीधि र कर्मचारीहरुले पनि केही समयका लागि त्यस्तै अवस्था भोगेका छन् ।
पोषण मेलाको उद्घाटन पश्चात पहिलो स्टलमा पुगेका जनप्रतिनिधिहरुलाई स्वागत सँगै तीन के.जीको भारी पेटमा बोकाइएको थियो । भारी बोके सँगै उनीहरु गर्भवती जस्तो देखिए । उनीहरु सँगै प्रतिनीधि सभा सांसद पार्वती कुमारी विशुन्के लगाएतका महिलाहरु पनि सँगै थिए ।
पेटमा बच्चा भएझै गर्भवती भेषमा देखिएका सांसद रविन्द्रराज शर्माले ग्रागीमा भरेको पानि बोक्ने, जाँतो पिस्ने लगाएतका काम गरे । गर्भवती जस्तै बनेका सांसद शर्माले प्रतिक्रिया दिइहाले ‘साँँच्चै गाह्रो हुँदो रहेछ ।’ पेटमा बच्चा संगै गह्रौ भारी बोक्ने चलन हाम्रो गाउँघरमा धेरै छ, ‘यसले महिला र बच्चालाई असर गर्छ, अव हरेक गाउँमा गर्भवती भएका महिलाहरुलाई गाह्रो काम गर्न रोक लगाउनुपर्ने अभियान थाल्नुपर्छ, त्यसका लागि सबै भन्दा पहिला पूरुषहरु सचेत हुनुपर्छ, उनले भने ।
एउटा गर्भवती महिलाले नौ महिना सम्म कसरी समस्या भोगेका होलान् एकै छिन बालुवाको भारी बनाएर बोक्दा त यती धेरै समस्या भयो । केही समयका लागि पुरुष गर्भवती हुँदाको समस्या सुनाउँदै नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकिय अधिकृत जगत बस्नेतले भने ‘हामीले महिलाहरुलाई हेर्ने दृष्टिकोण तत्काल परिवर्तन गर्नुपर्छ ।’
मेलामा पुरुषको पेटमा बालुवाको ३ केजी बालुवा बाधेर बिभिन्न अभ्यासहरु भएको थियो ।

बालुवाको भारी बोकेर गर्भवती महिला जस्तै बनेका जनप्रतिनीधि र कर्मचारीहरु ।

गर्भवती महिलाको ठूलो भएको पेटजस्तै गरी आफ्नो पेटमा बालुवाको डल्लो बाँधेका पुरुषहरुले नजिकै राखिएका १० वटा स्टल घुमाएर जाँतो पिस्ने, दाउरा तथा घाँसको भारी बोक्ने देखी भर्खरै जन्मिएको बच्चालाई तेल घसेर न्यानो कपडा लगाइदिने अभ्यास गरेका छन् । गर्भावस्थामा खुवाउनुपर्ने पोषणयुक्त खानाका बारेमा समेत उनीहरूलाई जानकारी गराइएको थियो । यस्तै प्रजनन स्वास्थ्यसँग सम्बन्धित अन्य जानकारीका साथै परिवार नियोजनका बारेमा पनि जानकारी दिदै गर्भवती अवस्थामा महिला तथा उनका पती र सम्पूर्ण घरपरिवारले गर्नुपर्ने सहयोग र अपनाउनुपर्ने सावधानिका बारेमा जानकारी समेत दिइएको थियो ।

उनिहरुलाई बच्चाका स्याहार, गर्भवति जाँच, प्रजनन् स्वास्थ्य, लैङ्गिक भूमिका, पाठेघर खस्ने समस्या, महिनावारी, परिवार नियोजन, पोषण सम्बन्धि जानकारी (हरेक बार खाना चार) का विषयमा जानकारी गराइएको छ । सहभागी भएका अन्य पूरुषहरुले मेलामा आएर गर्भवती महिलालाई गर्नुपर्ने सहयोग, माया तथा खुवाउनुपर्ने पोषणयुक्त खाने कुराहरुको बारेमा जानकारी पाएको बताए । मेलाका सहभागिहरुलाई फर्सिको खिर बनाएर खुवाईएको छ ।
सेवक दैलेख द्धारा आयोजि मेलाको महिला शसक्तिकरण मञ्च दैलेखले प्राविधिक सहयोय उपलब्ध गराएको थियो भने एन.एम.ए. हेल्भेटास स्वीस इन्टरकोपरेशन नेपालले आर्थीक सहयोग गरेको थियो । सुआहारा कार्यक्रम, एभरेष्ट क्लब, सेतो गुरास बाल विकास केन्द्र, स्वास्थ्य इकाई नारायण नगरपालिका, पहल कार्यक्रम र त्रिभुवन मावीको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया