सुन तस्करीमा पुरानै पात्रहरू

सुन तस्करीमा पुरानै पात्रहरू

संगठित सुन तस्करीबारे गम्भीर अनुसन्धान नहुँदा र तस्करीमा मुछिएकाहरुले सजिलै उन्मुक्ति पाउँदा अवैध धन्दाको गुप्त कारोबार निर्बाध चलिरहेको छ

काठमाडौँ — ठूलो परिमाणमा भइरहेका सुन तस्करी प्रकरणमा पुराना तस्करी घटनामा संलग्नहरू नै सक्रिय रहेको पाइएको छ । संगठित सुन तस्करीबारे गम्भीर अनुसन्धान नहुँदा र तस्करीमा मुछिएकाले सजिलै उन्मुक्ति पाउँदा अवैध स्वर्ण धन्दाको गुप्त कारोबार निर्वाध चलिरहेको देखिन्छ ।

मुख्यगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत हुने सुन तस्करीमा संलग्न प्रहरीका अलावा भन्सार र अध्यागमन अधिकारीमाथि पनि अनुसन्धान केन्द्रित हुन नसक्दा तस्करीको शृंखला चलिरहेको हो ।

प्रधानमन्त्री कार्यालयको निर्देशनमा गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन कमिटी पनि यसअघिका अनुसन्धान जस्तै तस्करीको एउटा पाटोमाथि मात्रै केन्द्रित हुँदा संगठित स्वर्ण धन्दाको भित्री पाटोमा सक्रियहरू सहजै उम्कने सम्भावना बढेको छ ।

सनम शाक्यको हत्यापछि खुलासा भएको ३३ किलो सुन तस्करीमा मुछिएका प्रहरी अधिकारी र अन्य प्रतिवादीहरू यसअघि पनि संगठित सुन तस्करीमै मुछिएको तथ्य खुलेको छ । २०७३ पुस २१ मा ३३ किलो ५ सय ७७ ग्राम ४० मिलिग्राम सुन ‘सेटिङ’ मा विमानस्थल भन्सारबाट पास भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले केहीलाई पक्राउ गरेको थियो ।

उक्त प्रकरणमा विमानस्थलमा कार्यरत एसएसपी श्याम खत्रीको संलग्नता पछिल्लो सुन तस्करीको घटनामा पनि जोडिएको छ । ब्युरोले उनलाई प्रतिवादीका रूपमा अदालतमा पेस गरेको थियो । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार खत्रीको विमानस्थलका भन्सार अधिकृत श्रीनारायण यादवसँग दैनिक पाँच पटकसम्म फोन वार्ता हुने गरेको देखिएको थियो । अधिकृत यादवले तस्करीको सुन आउने सूचना एसएसपी खत्रीबाट प्राप्त हुने गरेको र सघाएबापत आफूले पनि भाग पाउने गरेको बयानका क्रममा बताएका थिए ।

संगठित तस्करीमा सघाएको आरोप लागेका खत्री काठमाडौं जिल्ला अदालतमा दुई लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका थिए । यिनै खत्री पछिल्लो सुन तस्करी घटनामा पनि मुछिएका छन् । अनुसन्धान समितिले बयानका लागि डाकेलगत्तै उनी फरार छन् भने उनका गाडी चालक प्रहरी जवान विष्णुबहादुर खड्कालाई पक्राउ गरिएको छ । स्रोतका अनुसार एसएसपी खत्रीले तस्करीका मुख्य नाइके मानिएका गोरे भनिने चूडामणि उप्रेतीसँग निकट सम्पर्कमा रहेर ‘सेटिङ’ मिलाइरहेका थिए ।

यस्तै तस्करीको सुन किनेको आरोपमा आरके ज्वेलर्सका राजेन्द्रमान शाक्य पनि पक्राउ परेका थिए । शाक्य २०७४ जेठ २३ मा काठमाडौं जिल्ला अदालतमा डेढ लाख धरौटी बुझाएर मुक्त भए । एसएसपी खत्री र व्यापारी शाक्य दुवैको संलग्नता पछिल्लो ३३ केजी सुन तस्करीमा पनि जोडिएको छ । यसले के देखाउँछ भने संगठित सुन तस्करले अनुसन्धान, अभियोजनका छिद्रहरूको फाइदा उठाउँदै उन्मुक्ति पाउँछन् र तस्करीमा फेरि संलग्न हुन्छन् ।

पक्राउ परेका एसपी विकासराज खनालको पृष्ठभूमि पनि त्यस्तै देखिन्छ । खनाल तिनै एसपी हुन्, जो विमानस्थलका कार्यरत रहेका बेला संदिग्ध व्यक्तिसँग उठबस भएको भन्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका पालामा मुख्यालयको उजुरी छानबिन शाखाले बयानमा बोलाएको थियो । स्रोतका अनुसार शाखाले विमानस्थलबाट सीसीटीभी फुटेज मगाएको थियो, जसमा खनालले कोटको भित्री गोजीबाट बिस्कुट आकारको सुन निकालेर अर्का एक व्यक्तिलाई दिएको देखिन्छ ।

छानबिन शाखाले बयानपछि थप अनुसन्धानका लागि ब्युरोलाई फाइल र भिडियो फुटेज उपलब्ध गरायो । तर राजनीतिक शक्तिकेन्द्रको आडमा खनालमाथि अनुसन्धान अगाडि बढेन र उनले सजिलै उन्मुक्ति पाए । बरु २०७४ साउन २६ मा सरुवा भएर उनी मकवानपुरको प्रहरी प्रमुख भए ।

खनालको पृष्ठभूमि सुन तस्करीअघि पनि बारम्बार विवादको घेरामा पर्ने गरेको थियो । महानगरीय प्रहरी वृत्त महाराजगन्जमा रहँदा गुन्डा नाइके चक्रे मिलन र घैंटेसँग विवादास्पद सम्बन्ध गाँसेको आरोप प्रहरीभित्रै लागेको थियो । स्रोतका अनुसार तनहुँका एमाले नेता किसन श्रेष्ठसँग नजिक रहेका खनालले श्रेष्ठकै सम्बन्धका आधारमा एमाले नेता वामदेव गौतमसम्म आफ्नो सम्पर्क पुर्याएका थिए । एसपी खनालले प्रत्येक पटकको बढुवामा राजनीतिक पहुँच लगाउने गरेको चर्चा पनि प्रहरीभित्र छ ।

यस्तै प्रहरी प्रधान कार्यालयलाई प्रत्येक घटनाको अपडेट गराउँदै अनुसन्धानको नेतृत्वमा लागेका महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनी पनि शंकाको घेरामा तानिएका छन् ।

अनुसन्धानको संकुचित घेरा

पछिल्लो ३३ किलो सुन तस्करी प्रकरणको छानबिन समितिले पनि घटनालाई सनम शाक्यको हत्या वरिपरि मात्रै राख्ने प्रयास गरेको देखिन्छ, जबकि संगठित तस्करीमा विमानस्थल हुँदै प्रहरी, भन्सार अधिकारी, अध्यागमन अधिकारी र नागरिक उड्डयन प्राधिकरणका कर्मचारीसम्मको कुनै न कुनै संलग्नता देखिएको छ ।

जस्तो कि, २०७३ पुस २१ गते बरामद साढे ३३ किलोभन्दा बढी परिमाणको सुन तस्करीमा केन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थल भन्सारको एक्सरे शाखाका कर्मचारी राजकुमार ढकाल, श्यामकृष्ण श्रेष्ठ र विमानस्थल भन्सारका तथ्यांक अधिकृत श्रीनारायण यादवलाई प्रतिवादी बनाएको थियो । घटनामा भन्सार विभागले अलग्गै छानबिन समिति बनाए पनि विभागका कर्मचारीको संलग्नताबारे मौनता साधेको थियो ।

विशेष समितिले थाई एयरवेजका ९ र वायु सेवा निगमका ४ कर्मचारीलाई प्रतिवादी बनाए पनि भन्सार र अध्यागमन कर्मचारीतर्फ अनुसन्धान सोझ्याएको छैन । विमानस्थल भन्सारमा कार्यरत एक पूर्वकर्मचारीले भने, ‘विमानस्थल भन्सारमा काम गरिराख्न कसरी सामान्यदेखि उच्च कर्मचारीसम्मले जोडबल गर्छन् भन्नेबाटै कैफियत छ भन्ने बुझ्न सकिन्छ ।’ तर समितिले विमानस्थल भन्सारको भूमिकातर्फ अनुसन्धान केन्द्रित गरेको छैन ।

संगठित सुन तस्करीमा संलग्न मानिएका प्रहरी अधिकारीहरू यति सतर्क देखिएका छन् कि उनीहरूको बैंक खातामा अस्वाभाविक रकम देखिँदैन । स्रोतका अनुसार अवैध आर्जनबाट प्राप्त रकमको लगानी कहाँ र कसरी हुने गरेको छ भन्नेबारे यसअघिका अनुसन्धानले केही तथ्य फेला पारे पनि विस्तृतमा खोजबिन हुन सकेको छैन । यसैको फाइदा सुन तस्करले निर्वाध उठाइरहेका छन् । जस्तो कि, ३३ किलो सुन तस्करीमा मुछिएका एसपी खत्रीको बैंक डिटेल नै मगाएर ब्युरोले अनुसन्धान गरेको थियो । त्यतिबेला उनको बैंक खातामा केही लाख रुपैयाँ मात्र देखिएको थियो भने खत्रीले असनका साडी–कुर्ता व्यापारी एक मारवाडीलाई ३ प्रतिशतका दरले १७ लाख रुपैयाँ ब्याजमा दिएको पत्तो लागेको थियो । तर ब्युरोले एसएसपी खत्रीको सम्पत्तिबारे विस्तृत अनुसन्धान गर्न सकेन । पछिल्लो अनुसन्धानमा पनि पुरानै गल्ती दोहोरिने सम्भावना देखिन्छ ।

शाक्यको हत्या वरिपरि मात्रै अनुसन्धान केन्द्रित गरेको समितिले तस्करीका मुख्य नाइके मानिएका गोरे भनिने चूडामणि उप्रेतीसँग सम्पर्कमा रहेका प्रहरी अधिकारीलाई मात्रै अनुसन्धानमा तानेको देखिन्छ । संगठित सुन तस्करीबाट आर्जित रकम कहाँ प्रयोग भइरहेछ, तस्करीमा कसको लगानी थियो र त्यसमा कसरी राजनीतिक संरक्षण मिलेको थियो, विमानस्थल भन्सारका कर्मचारीको संलग्नता के थियो भन्ने जस्ता गम्भीर प्रश्नलाई ओझेलमा पारिएको छ । अनुसन्धानमा सक्रिय एक अधिकारीले तत्काललाई शाक्य हत्यामा समिति केन्द्रित भए पनि म्याद थपेर सुन तस्करीको लुकेको पाटोमाथि अनुसन्धान अघि बढाउने तयारी भइरहेको बताए ।

नखोतलिएको त्यो पाटो
३३ किलो ५ सय ग्राम सुन तस्करी प्रकरणमा ब्युरोले संलग्नहरूमध्ये केही नाम बाहिर ल्याएको थियो । ब्युरोले विष्णुप्रसाद सुवेदी र सन्तोष काफ्लेलाई शंकाको घेरामा समेत राखेको थियो । १७ महिना अवधिमा काफ्ले १९ पटक र सुवेदी १ सय ८ पटक काठमाडौं–दुबई आउँजाउँ गरेको तथ्य खुलेको थियो । घटनामा काफ्ले पक्राउ परे भने सुवेदी फरार नै रहे । सुवेदीबारे थप तथ्य न ब्युरोले पत्ता लगायो न उनको अन्य कनेक्सनबारे नै केही खुल्यो । ब्युरोले अनुसन्धान प्रतिवेदनमा सुवेदीको ‘ट्राभल हिस्ट्री’ समावेश गरेको छ । अनुसन्धानमा संलग्न एक पूर्वप्रहरी अधिकारीले भने, ‘सुवेदी र काफ्ले दर्जनौं पटक दुबई जाँदा पनि कसरी सजिलै अध्यागमन अनुमति पाए ? किन उनीहरूको यात्रा अध्यागमन अधिकारीको दृष्टिमा परेन ?’ यो प्रश्नले संगठित सुन तस्करीमा नकेलाइएको पाटाहरूबारे प्रस्ट पार्छ ।

तस्करीमा विमानस्थल भन्सारका उच्च अधिकारीहरू जवाफदेही बन्नु नपर्ने परिपाटीलाई पछिल्लो अनुसन्धान समितिले पनि पछ्याएको धेरैको बुझाइ छ, जबकि विमानस्थल भन्सार क्षेत्रमा औसतमा ५० कर्मचारी कार्यरत हुन्छन् । सुन तस्करीमा उनीहरूको भूमिकाबारे खासै अनुसन्धान गरिएको देखिँदैन । १ सय ५८ कर्मचारीको दरबन्दी रहेको विमानस्थल भन्सारमा अहिले १ सहसचिव, ५ उपसचिव १४ भन्सार अधिकृत र ५३ कार्यालय सहयोगीसहितका कर्मचारी छन् । तस्करीको सुनमाथिको अधिकांश अनुसन्धानमा दोस्रो र तेस्रो तहमा कार्यरत र सहयोगीहरू मात्रै पक्राउ पर्ने गरेका छन् । अर्बौं मूल्यको तस्करीको सुनमा कसको लगानी छ र त्यसलाई कसरी राजनीतिक संरक्षण प्राप्त छ भन्नेबारे अनुसन्धान अगाडि बढेको देखिँदैन । प्रधानमन्त्रीको प्रत्यक्ष चासो जोडिएको विशेष समितिले अनुसन्धानको सुई त्यतातिर डोर्याउँछ कि यतिमै उसको बुता खुम्चिन्छ, त्यो भने हेर्न बाँकी छ ।

मुद्दा दर्ता आज
प्रहरीले ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका २८ सहित ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङ्मा बुधबार मुद्दा दर्ता गराउँदै छ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरुण बीसीका अनुसार बहालवाला र पूर्व गरी ६ प्रहरी अधिकारी, तीन व्यापारी, सनम शाक्य हत्यामा जोडिएका ६ प्रतिवादी र विमानस्थलमा कार्यरत १३ प्रतिवादीविरुद्ध मुद्दा दर्ता गराउन लागिएको हो । संगठित सुन तस्करीमा यति धेरै बहालवाला प्रहरी अधिकारीलाई प्रतिवादी बनाइएको यो पहिलो घटना हो ।

पक्राउ परेका २८ प्रतिवादी, जसविरुद्ध मोरङ जिल्ला अदालतमा आज मुद्दा दर्ता हुँदैछ
प्रहरी
१. पूर्वडीआईजी गोविन्द निरौला
२. एसपी विकासराज खनाल
३. डीएसपी प्रजित केसी
४. डीएसपी सञ्जय राउत
५. सई बालकृष्ण सन्जेल
६. जवान विष्णुबहादुर खड्का

विमानस्थलका कर्मचारी
७. लालबहादुर मगर
८. हेमन्त गौचन
९. वीरेन्द्रमान श्रेष्ठ
१०. सम्बिर तोलाङ्गे
११. बालकृष्ण श्रेष्ठ
१२. दोरम खत्री
१३. कपिलराज पुरी
१४. गोपाल श्रेष्ठ
१५. पुण्य लामा
१६. राजन थापा
१७. राजु महर्जन
१८. अमर डंगोल
१९. तुलाराम थारू

व्यापारी
२०. महावीर गोल्यान
२१. राजेन्द्रमान शाक्य
२२. राप्रपा नेता भुजुङ गुरुङ

सनम हत्याका प्रतिवादी
२३. मोहन काफ्ले
२४. एकराज मल्ल
२५. नरेन्द्र कार्की
२६. लाक्पा शेर्पा
२७. माधव भन्ने मोहन घिमिरे
२८. राजन कुमार

प्रतिक्रिया