तीन वर्षभित्र भेरीको पानी वीरेन्द्रनगरमा

तीन वर्षभित्र भेरीको पानी वीरेन्द्रनगरमा

सुर्खेत : सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधान गर्न गृहकार्य थालिएको छ । बढ्दो सहरीकरणसँगै खानेपानी समस्या बढेपछि त्यसको समाधान गर्न भेरीको पानी लिफ्टिङ गरी उपत्यकामा ल्याउने गृहकार्य थालिएको हो । लिफ्टिङमार्फत भेरीको पानी उपत्यकामा ल्याउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को मस्यौदा तयार पारिएको छ ।

आगामी १५ वर्षसम्म खानेपानी समस्या समाधानका लागि निर्माण सुरु हुने आयोजनाको डीपीआर तयार भएकाले निर्माण कार्य पनि तत्काल सुरु हुने जनाइएको छ । उक्त आयोजनाका निर्माणका लागि दुई चरणमा सर्भे भइसकेको सुर्खेत उपत्यका खानेपानी संस्थाले बताएको छ । हाल झुप्रा, खरीखोला र बोरीखोलाबाट खानेपानी वितरण गरिरहेको संस्थाले आगामी १५ वर्षभित्र उपत्यकाको पानी समस्या समाधानका लागि डीपीआर तयार पारेको हो ।

डीपीआर प्रतिवेदनअनुसार भेरी पुल नजिकै पूर्वतर्फको (दाहसंस्कार स्थल)बाट इन्टेक निर्माण गरी पानी पम्पिङ गरिने परामर्शदाताका टिम लिडर हरिराम कोइरालाले बताए । वीरेन्द्रनगरस्थित अमृत डाँडामा १० लाख लिटर क्षमताका चार वटा रिजर्भ टयांकी निर्माण गरी उपत्यकामा पानी वितरण गरिनेछ । यसका लागि निर्माणाधीन चार लाइन सडकका दुवै छेउ र हटलाइन सडकमा एक साइडमा मात्रै पाइपलाइन बिछ्याइनेछ । हटलाइन सडकदेखि उपत्यकाको माथिल्लो बस्तीका लागि हालकै खरिखोला र बोरीखोलाको पानी वितरण गरिने डीपीआर तयार गरिएको छ ।

करिब एक अर्ब ६२ करोड लागत लाग्ने अनुमान गरिएको परामर्शदाता कोइरालाको भनाइ छ । पानीलाई अमृतडाँडासम्म ल्याउन ६ वटा एक हजार लिटर क्युब क्षमताका रिजभ्र्वायर ट्यांकी निर्माण गर्नुपर्ने उनले बताए ।

तीन वर्षभित्र आयोजना सम्पन्न

दैनिक खानेपानी समस्या बढ्दै आएपछि सुक्खा क्षेत्रअन्तर्गत भेरी पम्पिङ सुर्खेत उपत्यका खानेपानी आयोजना सुरु हुन लागेको हो । परामर्शदाताले तयार पारेको डीपीआरको मस्यौदामा केही सुझाव समेटेर वैशाख मसान्तसम्म आयोजनालाई हस्तान्तरण गर्ने तयारी रहेको संस्थाका अध्यक्ष कुलमणि देवकोटाको भनाइ छ । आयोजना निर्माणका लागि चालू आर्थिक वर्षभित्रै टेन्डर आह्वान हुने उनले बताए । सीएमएच जेकोनजिकोन प्रालिले आयोजनाको डीपीआर तयार पारेको हो ।

वीरेन्द्रनगरस्थित अमृतडाँडामा १० लाख लिटर क्षमताका चारवटा रिजर्भ टयांकी निर्माण गरी उपत्यकामा पानी वितरण गरिनेछ ।

खानेपानी तथा ढल निकास विभागले झुप्राखोला र भेरीको दोभानबाट ‘मल्टी पम्प’ सिस्टमबाट १४ किलोमिटर दूरीमा रहेको अमृतडाँडामा पु¥याएर सुर्खेत उपत्यकामा वितरण गर्ने भएको हो । ‘सर्भे सम्पन्न भएर पनि वैशाख मसान्तसम्म फाइनल डीपीआर आयोजनाले प्राप्त गर्नेछ’, उनले भने, ‘आगामी तीन वर्षभित्र सुर्खेत उपत्यकाभित्रका सबै उपभोक्ताले भेरीको पानी खान पाउनेछन् ।’ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अहिले ३३ हजार घरधुरी छन् । अन्नपूर्णपोष्ट

प्रतिक्रिया