बाढीले घर बगायो, श्रीमानले सपना !

बाढीले घर बगायो, श्रीमानले सपना !


फोटो-लक्ष्मी घर्तीका दुई छोरा र एक छोरी (बाँया) मञ्जुृ सलामीकी छोरी स्मारीका शाही (दाँया) ।

दैलेख –४४ महिना अगाडी मध्यरातमा आएको बाढी धेरैले विर्सीसके । २०७१ साल साउन २९ गते आएको बाढीले घरबास बगाएको पिडा भने सुर्खेत बराहतालका स्थानीयले अझै सम्म विर्सन सकेका छैनन् । मध्यराती आएको बाढीले धेरैका घरबास बगायो । स्थानीय बासी बिचल्लीमा परे । बाढीले घरबास बगाएकी मध्येकी एक हुन् सुर्खेत बराहताल गाउँपालिका वडा नं. ५ की ४७ बर्षिया लक्ष्मी घर्ती । उनलाई मध्य रातको बाढीको सम्झनाले बेला बेला झस्काइरहन्छ । मध्यरातको साउने भेलले घरको नाम निसान नै मेटाएको सम्झँदा अहिले पनि आङ्ग नै झसंग हुन्छ लक्ष्मीको । बाढीले घर खेत पूर्ण रुपमा बगाएपछि लक्ष्मी घर्ती बाढी पीडित बन्न पुगिन् ।
घर बगाएपछि विरक्तिएकी लक्ष्मी घर्ती अहिले दैलेखको गुरासँ गाउँपालिका वडा नं. ३ मा दाई (मामाको छोरा) को घरमा आश्रय लिईरहेका छन् । दुई छोरा र एक छोरीलाई साथमा लिएर गुरासँ गाउँपालिकाको वडा नं. ३ पातिकान्लामा रहेको दाईको घरमा आउनुका कारण भने फरक छ । बाढीले घर बगाएर पीडित बनेकी लक्ष्मी श्रीमानबाट झनै पीडत बनेकी रहिछन् । बाढीले त घर जग्गा मात्रै बगायो, श्रीमानले त सबै सपना उडाए, लक्ष्मीले भनिन् । श्रीमानले दिनहुँ मदिरा सेवन गर्ने र कुटपटि गर्न थाले पछि दाईको श्ररणमा आएको लक्ष्मीले बताइन् । सन्तानलाई उज्यालो भविष्य दिने सपना सजाएकी लक्ष्मीको घर बाढीले बगाएकै थियो, त्यसमाथी श्रीमानको पीडापछि सहारा टुटेजस्तै भएको उनले सुनाइन् । ‘बाढीले बगाएको घर फेरी बन्दा भन्ने त आशै छैन, बाढीसंगै श्रीमानले सपना पनि बगाए, उनले भनिन ।
आफु त सहारा विहिन थिए, त्यसमाथी आश्रय दिएका दाईको आर्थीक अवस्था पनि उस्तै छ । छोरा छोरीको सुन्दर भविष्य बनाउने रहर खेरै जान्छकी भन्ने डर लाग्छ, लक्ष्मीले भनिन् । ‘देशमा राजतन्त्रको अन्त्य हुदै, लोकतन्त्र गणतन्त्र पछि स्थानिय तथा प्रदेश र प्रतिनिधी निर्वाचन पनि भए’ उनले भनिन– ‘मेरो भने खुसियाली हराएको धेरै भईसक्यो ।’ गाउँ गाउँमा धेरै विकास भयो भन्छन्, तर हाम्रो अवस्था जहाँको त्यहि छ ।
बाढीले घर बगाएको झण्डै ३ बर्ष नजिकै झुपडिमा बसेकी लक्ष्मी श्रीमानले दिएको पिडाका कारण दैलेखमा आश्रय लिन आएको ३ महिना मात्रै भयो । उनका २ छोरा क्रमशः ३ बर्षिया विक्रम घर्ती, ५ बर्षिया चनु घर्ती र ११ बर्षिया छोरी विनिता घर्ती स्थानीय सरकारी विद्यालयमा भर्ना भएका छन् । दुई छोरालाई ताराखेसे आधारभुत विद्यालयमा भर्ना गरेकी लक्ष्मीले छोरीलाई शान्ति माध्यामिक विद्यालयमा कक्षा ४ मा भर्ना गरेकी छिन् । ‘दाईको घरमा आश्रय लिएर जति दुःख गर्नु परेपनि आफै गर्छु तर, छोरा छोरीको सुन्दर भविष्य बनाउँछु’ लक्ष्मीले भनिन ।
लक्ष्मीलाई आश्रय दिइरहेका दाई कर्ण बहादुर सिजालीले नाबालक छोरा छोरीको पढाईमा सहयोगी निकायहरुको खोजी गरिरहेको बताए । बहिनीलाई व्यवसायीक काम दिएको भएपनि नाबालक बच्चा बच्चीको भविष्य राम्रो हुन्थ्यो, सिजालीले भने ।
उनि जस्तै ५ बर्ष अगाडी विवाह गरेकी २५ बर्षिया मञ्जु सलामीको पिडा पनि उस्तै छ । दैलेखकै नौमुले गाउँपालिकाको बालुवाटारका कर्ण बहादुर शाहीसंग विवाह गरेकी मञ्जुको ५ बर्षिया छोरीको अहिले सम्म जन्मदर्ता बनेको छैन् । विवाह पछि छोरी जन्मने बेला सम्म श्रीमान पनि संगै बसे, पछि छोडेर गए, अहिले कहाँ छन् केही थाहा छैन्, बालुवाटारबाट सुर्खेत बसाईसरी गएको सुनेको थिए, अहिले कहाँ हुनुहुन्छ थाहा छैन्, मञ्जृुले भनिन् ।
पातिकान्ता बजार छेउमा भाडाको जिवन बिताउदै आएकी मञ्जुले न्याय माग्दै प्रहरी चौकी सम्म धाइन् । प्रहरीले उनका श्रीमान कर्ण बहादुर शाहीलाई खोजी कार्य अगाडी बढायो । फेला नपरेपछि न्याय नपाएको उनले सुनाइन् । भाडामै भएपनि सानो पसल गरेको छु, पसलको आम्दानीबाट दिनचर्या धकेलेको छु । छोरीलाई स्थानीय सरकारी विद्यालयमा कक्षा १ मा भर्ना गरेको मञ्जुले बताइन् । उनले आफुलाई न्याय दिलाउन सबैलाई आग्रह गरेको सुनाइन् ।
गुराँस गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष गंगाराम खत्रीले लक्ष्मी र मञ्जुलाई सहयोग गर्ने निकायको खोजी गरिरहेको बताए । सहयोग गर्ने कुनै निकाय नभेटिए वडापालिकाले सहयोग गर्ने वडाअध्यक्ष खत्रीले बचन दिए ।

प्रतिक्रिया