सदरमुकाम भन्दा गाउँपालिका जाने सडक व्यवस्थित

सदरमुकाम भन्दा गाउँपालिका जाने सडक व्यवस्थित


 दैलेख, तत्कालिन द्धन्द्धताका धेरै समस्यामा परेको नौमूले गाउँपालिकाले स्थानीय सरकार पाएपछि परिवर्तनको महसुस गरेको छ । शान्ति स्थापना पछि अहिले गाउँमै विकासको खाका कोर्न स्थानीय सरकार निर्वाचित भएपश्चात नौमूले गाउँपालिकाले बिकासमा फड्को मार्ने तयारी गरेको हो । बिगत पाँच बर्ष अघिको नौमूले र अहिलेको नौमूलेमा धेरै भिन्नता भएको स्थानीय सन्तबहादुर चन्दले बताए । पुरानो नौमूले बजार परिवर्तन भएर अहिले नयाँ बजार बिस्तार भएको छ । धेरै घरहरु पक्कि भैसकेका छन् । गाउँपालिका सम्म सहजै पुग्ने निकै महत्वपूर्ण मानिएको तामेखोला नौमूले सडक अहिले फराकिलो बनाईएको   छ ।
नौमूले हिडेका सवै यात्रुहरु नारायण नगरपालिकाको क्षेत्र काटेर तामेखोलाको पक्कि पुल तर्ने बित्तिकै अचम्ममा पर्ने गर्दछन् । गाउँपालिकाले नौमूले क्षेत्रमा स्वागतका लागि पक्कि प्रवेश द्धार निर्माण सुरु गरेको छ । करिव ८ लाखको लागतमा गेट निर्माण सुरु गरिएको नौमूले गाउँपालिकाका अध्यक्ष भदेबुढाले जानकारी दिए । गाउँपालिकाको सदरमुकाम नौमूले बजार सम्म सहज यात्राका लागि अहिले करिव १ करोड रकम उपभोक्ता समिति मार्फत सडक निर्माणका लागि छुट्टाईएको बुढाले बताए ।
दुईवटा खण्डमा सडक निर्माणले तीव्रता पाएको छ । करिव ७ मिटर सम्म सडक चौडा पारेर नालिको व्यवस्थापन सँगै ग्रावल गर्ने योजना अनुसार काम अगाडी बढाईएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानाले जानकारी दिएका छन् ।
सडक निर्माणको जिम्मा लिएका उपभोक्ता समितिका अध्यक्ष कृपाल शाहीले भने, हामीले कुनै लोभ नगरेर सडक निर्माणमा लागेका छौं, अहिले ५ सय २८ घण्टा डोजर चलिसकेको छ । कडा चट्टान भएका स्थानहरुमा थप व्यवस्थापन गर्नुपर्ने देखिएको छ । उपभोक्ता समिति कामको आधारले रकम सकिएको दावी गरिरहँदा प्राविधिक मूल्याङ्कनका आधारमा भने आधा मात्रै खर्च भएको देखिएको छ । अहिले कार्यपालिकाको बैठकमा सडकको बिवरण पेश गर्ने काम समेत सुरु गरिएको छ ।
सडकमा भएको कामको मूल्याङ्कनका बारेमा भने अहिले प्राविधिक, ईन्जिनियर र उपभोक्ता समितिविच बिवाद भएको छ । प्राविधिक हिसावले अहिलेसम्म दुईवटा सडक खण्डमा ६० लाख भन्दा बढीको काम नभएको प्राविधिकहरुले जानकारी दिएका छन् । करिव २ हजार घनमिटर सडकको मूल्याङ्कन मात्र बाँकी छ । मूल्याङ्कनका आधारमा रकम भुक्तानी दिने हो पहिलाको जस्तो अवस्था छैन्, नौमूले गाउँपालिकाका ईन्जिनियर किरण कुमार के.सी.ले जानकारी दिए ।
नौमूले गाउँपालिकाले अहिले नौमूले कालिका हुँदै जाजरकोटको सिमाना सम्म पुग्ने सडक । कालिका सल्लेरी हुँदै पैती जाने सडक, नौमूले भलायडाँडा चौराठ सडक, नौमूले रापट हुँदै ऐतिहाँसिक धार्मिक स्थल महावु धाम जोड्ने सडक, नौमूले हुँदै द्धारी झरना जोड्ने सडकमा करिव ५० लाख रकम बिनियोजन गरि काम सुरु गरिएको नौमूले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानाले जानकारी दिएका छन् ।

सार्वजनिक सुनुवाई गर्ने पहिलो गाउँपालिका नौमूले

नौमूले गाउँपालिकाले गाउँपालिकामा भएका विकास गतिविधिहरुलाई पारदर्शीता र दिगोपना कायम गर्नका लागि दोस्रो चौमासिक अवधिको कार्यक्रमको समिक्षा सहित सार्वजनिक सुुनुवाई समेत सम्पन्न गरेको छ । गाउँपालिकाले पाएको विकास बजेट मध्ये वडास्तरसम्म बिनियोजन गरिएको बजेट र गाउँपालिकाले निर्माण गरेका कानुनहरुको बारेमा गाउँपालिका भरिका २ सय ५० बढी जनताहरु सँग सामुहिक रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो । दैलेखमा रहेका ७ वटा गाउँपालिका मध्ये सार्वजनिक सुनुवाई गर्ने नौमूले पहिलो गाउँपालिका हो । अन्य गाउँपालिकाहरुले विकास गतिविधिहरुका बारेमा जनतालाई सार्वजनिक नगरेका बेला नौमूले गाउँपालिकाले विकासमा पारदर्शीता सँगै जनताले कस्तो सुझाव सल्लाह दिन्छन् सोको बारेमा जानकारी लिने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको गाउँपालिका अध्यक्ष भदे बुढाले बताए ।
गाउँपालिकाका उपाध्यक्ष अमृता सिंहले दुईपटक सम्म गाउँपालिकामा तालाबन्दी गरेको देखि सडक निर्माण र अन्य बिकास गतिविधिहरुका बारेमा जनताहरुले प्रश्न गरेका थिए । गाउँपालिकामा रहेका ८ वटै वडाका वडा अध्यक्ष, बिषयगत कार्यालयहरु लगायतले बिकासमा पारदर्शीता र सुशासन कायम गर्ने सझा प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया