वैद्यनाथ मन्दिर कटानको जोखिममा

वैद्यनाथ मन्दिर कटानको जोखिममा

अछाम – सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल वैद्यनाथ धाम मन्दिर कटानको उच्च जोखिममा परेको छ ।मन्दिर नजिकै भएर बग्ने बूढीगंगा नदीले वर्षेनी कटान गर्दै गएको छ । कटान रोक्नका लागि धेरै पहल भए पनि प्रभावकारी हुन सकेको छैन ।विसं १९८६ मा छिपेखोलामा आएको बाढीले वैद्यनाथ क्षेत्रका सबै संरचना बगाएको थियो । मन्दिर क्षेत्रका सबै संरचना बगाए पनि त्यहाँ रहेको शिवलिंग भने यथास्थानमै फेला परेको बताइन्छ ।

शिवलिंग फेला परेपछि फेरि मन्दिर स्थापना गरी पूजाआजा शुरु गरिएको थियो । नदीले वर्षेनी मन्दिर क्षेत्रको जमीन कटान गर्न थालेपछि स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

धार्मिक तथा ऐतिहासिक क्षेत्रको कटान रोक्नका लागि सरोकार भएकाहरुले ध्यान दिनुपर्ने स्थानीयवासीको भनाइ छ ।विगतमा जलउत्पन्न प्रकोप कार्यालय र तत्कालीन जिल्ला विकास समितिका पहलबाट कटान रोक्न प्रयास गरिए पनि प्रभावकारी भएन । अहिले नयाँ लागत अनुमान बनाएर कटान रोक्नका लागि पहल भइरहेको वैद्यनाथ लक्ष हवनात्मक अर्धकुम्भ महोत्सवका उपाध्यक्ष डण्डिराज जोशीले बताए । साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले वैद्यनाथ क्षेत्रको कटान रोक्न पहल गरिने बताए । रासस

प्रतिक्रिया