रचनात्मक काम गर्न सुझाव

रचनात्मक काम गर्न सुझाव

दैलेख, वैशाख २७- नारायण नगरपालिका वडा नं. ८ का वडाध्यक्ष दलबहादुर खत्रीले बालबालिकालाई पढ्दा सिकेको कुरा रचनात्मक काममा प्रयोग गर्न सुझाव दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दैलेखको आयोजनामा सरस्वती मावि तर्ताङ्गमा आयोजित विद्यार्थी र विद्यालय सवाल अन्तरक्रिया कार्यक्रममा सो विचार राखेका हुन् ।
वडाध्यक्ष खत्रीले बालबालिकाको पहिलो काम पढाईसंगै जीवन उपयोगी शिक्षाका लागि घरायसी काममा सहयोग, सत्संगत र आफ्नो सुरक्षामा बढी ध्यान दिने सबै विद्यार्थीको प्रगति भएको बताए ।
त्यसबखत खुला अन्तरक्रियाको क्रममा विद्यार्थीहरुले विद्यालयमा कम्प्यूटर भएर पनि प्रयोगमा नआएको, महिनावारी भएको बेला छात्राहरुले प्रयाप्त पानी र सेनेटरी प्याडको अभाव कक्षा छोडेर जानुपरेको, शिक्षकहरुले सोध्ने विद्याथीसंग झर्किने गरेको समस्या दर्साएका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं नारायण नगरपालिका–८ का वडा सदस्य भूपाल थापाले विद्यालयका कम्प्यूटर मर्मत गर्नुपर्ने अवस्थाका भएकोले मर्मत गर्ने र आगामी साउनदेखि नयाँ कम्प्यूटर थपेर सबै विद्यार्थीले कम्प्यूटर अभ्यास गर्न पाउने व्यवस्था मिलाइने बचनवद्धता व्यक्त गरे ।
विद्यार्थीका जिज्ञासाको जवाफ दिंदै विद्यालयका प्रधानाध्यापक जीवराज तिमिल्सिनाले महिनावारीको बेला दुखाई कम गर्ने औषधि र सेनेटरी प्याड शिक्षिका रमा गिरीको जिम्मा दिइएको बताउदै छात्राहरुले लैंगिक समस्या दर्शाउन शिक्षिका गिरीलाई सिकायत सुनाउन सक्ने जानकारी दिए ।
इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार, इएलपी कार्यक्रमका जिल्ला सहजकर्ता उदय थापा समेत सहभागी कार्यक्रममा सरस्वती मावि तर्ताङ्गमा गठित बालअधिकार चेतना समूहका अध्यक्ष गीता रावल, विद्यार्थी सुनिता सुनार, सदस्य सुजाता सोनी र प्रदीप रावलले बालेका थिए ।

प्रतिक्रिया