३१ बर्ष देखि सिँचाई आयोजना अलपत्र

३१ बर्ष देखि सिँचाई आयोजना अलपत्र


दैलेख बैशाख २७ – तत्कालिन राजा विरेन्द्र शाहको ठाडो आदेशमा जिल्लाको गीताचौर–रावतकोट सिँचाई आयोजाना निर्माणको काम सुरु भयो । वि.स. २०२२ सालबाट सुरु गरि १८ वर्ष लामो विस्तृत सर्वेक्षण पश्चात् आयोजनाको निर्माण कार्य वि.स. २०४३ सालबाट सुरु गरिएको थियो । उक्त सिँचाइ आयोजना सुरु भएको ३१ वर्षसम्म पनि निर्माण सपन्न हुन सकेको छैन् ।

अहिलेसम्म उक्त आयोजनामा ४ करोड ८ लाख रकम खर्च भइसकेको सिँचाइ डिभिजन कार्यालय दैलेखले जनाएको छ । वर्षेनी बजेट खन्याइए पनि आयोजना सम्पन्न हुन सकेको छैन ।
सिँचाइ डिभिजन कार्यालयले प्रत्येक वर्ष उक्त आयोजनाका लागि टेन्डर खोल्ने गर्दछ । ३१ वर्ष अघिदेखि निर्माण सुरु गरिएको आयोजना क्षेत्रफलको हिसाबले पश्चिमी पहाडी भेककै ठूलो हो । आयोजनाको मुहानमा बनाइएको नहर अहिले जीर्ण अवस्थामा पुगेको छ । विगतमै उपभोक्ता समिति र ठेकेदारकै लापर्वाहीका कारण सिँचाइ आयोजना सम्पन्न हुन नसकेको डिभिजन कार्यालयका प्रमुख तारा वाग्लेले बताए । सिँचाई डिभिजनको कार्यालय दैलेखका नखोलिएको बेला यहाँ काम गर्ने कामदारले ज्याला पाउन सकेका छैनन् । तर, डिभिजन कार्यालय दैलेखमा आएसँगै काम भैरहेको प्रमुख वाग्ले बताउँछन ्। प्रमुख वाग्लेका अनुसार सरकारले सिँचाई डिभिज कार्यालय मार्फत कम बजेट पठाउने, उपभोक्ता समितिले श्रमदान नगर्ने र ठेकेदारले काम नसक्ने कारणले यो योजना लथालिङ्ग अवस्थामा पुगेको हो ।
निर्माण कम्पनी स्वच्छन्द÷प्रदीप जेवी सुर्खेतले काम गर्दागर्दै भागेपछि दैलेखको महत्वकांक्षी सिचाई योजना अलपत्र परेको हो । १४ किलोमिटर लम्वाई रहेको रहेको उक्त आयोजना ६ करोड ३० लाख लागतमा निर्माण गर्न लागेको प्रमुख वाग्लेले बताए । ‘सवैको सहयोग र बजेट भए किसानको सपना पूरा हुन्छ’, उनले भने, ‘साइफनको निर्माण समिति मार्फत ४० लाख रुपैयाँ लागतमा सम्पन्न गरिएका छ ।’ तर, उपभोक्ता समितिका अध्यक्ष तिलक प्रसाद रिजाल भने ४० लाखमा आठ लाख रुपैयाँ मात्र पाएको बताउछन् ।

जिल्लाको साबिकका गाउँविकास समितिहरु रावतकोट, वडलम्जी, भैरीकालिकाथुम, बाँसी र रानीवन गाविसका कृषकहरूका चार सय ३६ हेक्टर खेतीयोग्य जमिनलाई सिँचाई सुविधा पु¥याउने उद्देश्यले २०४३ सालदेखि यसको निर्माण थालिएको हो ।
निर्माण सम्बद्ध पक्षले सिँचाइका लागि पर्याप्त पानी नभएको, उपभोक्ताको असहयोग, माओवादी द्वन्द्वको कारण जनाउँदै बीचमा आयोजनाको निर्माण कार्य रोकेको थियो । सुरुमा पानीको स्रोत नपुग्ने भन्दै सिँचाई कार्यालयले सवा दुई करोडको यो परियोजना बीचैमा रद्द गरेको थियो । कामै सम्पन्न नगरी बजेट सिध्याउनलाई उपभोक्ता समिति र ठेकेदारहरूले स्थानीयले सहयोग नगरेको कारण देखाउँदै करिव ६ वर्षसम्म काम रोकेको स्थानीय सूर्यबहादुर थापाले बताए । तत्कालिन सिँचाई कार्यालयले २०४७ सालमा पुनः टेण्डर आह्वान गरि काम सुचारु गर्न निर्माण पक्षलाई जिम्मा दिएको थियो ।
यस अवधिमा कार्यालयका प्राविधिक र निर्माणकर्ता बीचको मिलेमत्तोमा आधा काम सम्पन्न गरी आयोजना सम्पन्न गरेको फरफारक गरी प्रतिवेदन बुझाएको स्थानीय थापा बताउँछन् ।

आयोजनाको प्रारम्भिक चरणका काम सम्पन्न नगरी २०४९ देखि २०५६ सालसम्म २ करोड ९७ लाख रुपैयाँ खर्च भैसकेको जनाइएको छ । आयोजना प्रति समुदायको अपनत्व बढाउने नीति अनुसार स्थानीयले शेयर लगानी गर्नुपर्ने कार्यालयले प्रस्ताव गरेपछि २०५५ सालमा रावतकोटका बासिन्दाले एक लाख धरौटी राखेका थिए । त्यसपछि पनि सिँचाई आयोजना अगाडि बढ्न सकेन ।

उपभोक्ता समितिका अध्यक्ष भन्छन् “२ बर्षमा सकिने काम ३१ बर्ष सम्म पनि पुरा भएन” ।

‘खेतमा अव सिँचाइ सुविधा होला भनेर घरका गहरगहना, पशुचौपाया बेचेर शेयर लगानी ग¥यौँ’ उपभोक्ता समितिका अध्यक्ष तिलक प्रसाद रिजालले भने,‘दुई वर्षमा सक्नुपर्ने योजना ३१ वर्ष बितिसक्यो अझै पूरा भएको छैन ।’ उपभोक्ताको दवावपछि फेरि डिभिजन कार्यालयले सिँचाइ योजना निर्माणका लागि टेण्डर आह्वान गरेको छ । योजना सम्पन्न हुनुपर्ने उपभोक्ताको चर्को आवाज उठेपछि २०५६ सालमा तत्कालिन जिविस बोर्डले १५ दिनसम्म श्रम शिविर चलाएको थियो । त्यसयता उपभोक्ताले श्रमदान गर्न छोडेपछि योजना निर्माण अलपत्र परेको हो ।

प्रतिक्रिया