विद्युतगृह भएकै गाउँ अँध्यारो

विद्युतगृह भएकै गाउँ अँध्यारो

द्वारीखोलाबाट ३.७५ मेगावाट विद्युत् उत्पादन भए पनि गाउँमा वितरण गरिएको छैन

दैलेख — नौमूले गाउँको बीचबाट बग्ने द्वारीखोलाबाट तीन वर्षदेखि निरन्तर रूपमा विद्युत् उत्पादन भइरहेको छ । ३ दशमलव ७५ मेगावाट क्षमताको द्वारीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतले नौमूले मात्र होइन, सिंगो दैलेख जिल्लालाई उज्यालो बनाउन सक्छ । विडम्बना विद्युत्गृह भएकै गाउँ नौमूले भने अँध्यारै छ ।आयोजनाको निर्माण भूगोल इनर्जी प्रालिले गरेको हो । द्वारीखोलाको विद्युत् केन्द्रीय प्रसारणमार्फत पश्चिम नेपालमा आपूर्ति हुन्छ । करिब २० हजारको संख्यामा रहेका नौमूलेबासी भने गाउँकै खोलाबाट निस्किएको बिजुली टुलुटुलु हेर्न विवश छन् ।आयोजनाले उत्पादित विद्युत् सीधै केन्द्रीय प्रसारण लाइनमा जोड्छ । स्थानीयले वर्षौंदेखि सहुलियतमा विद्युत् मागे पनि पाएका छैनन् । ‘आयोजना सुरु हुने बेला पहिलो प्राथमिकता नौमूलेलाई भनिएको थियो,’ स्थानीय शशी विकले भने, ‘उत्पादन सुरु भएपछि भने लाइन सीधै केन्द्रीय प्रसारणमा जोडेर उनीहरू गाउँबाट हिँडे ।’

सशस्त्र द्वन्द्वकालमा थला परेको नौमूलेको अनुहार शान्ति स्थापनापछि उद्योग व्यवसाय सुरु हुने तरखरमा छन् । बाधक बनेको छ– विद्युत् । यसको मारमा स्थानीय नराम्ररी पिल्सिएका छन् । काालिका गाउँका हरिबहादुर थापाले यस्तै गुनासो सुनाए । व्यवसाय गर्ने भन्दै ऋण निकालेर बजार झरेका उनी बिजुली नहुँदा अहिले पनि हात बाँधेर बसेका छन् । ‘यहाँ आउँदा के–के न गरिएला भनेर आएँ,’ उनले भने, ‘तर, बिजुली नहुँदा कामै गर्न सकिएन, अँध्यारोमा के काम होओस् ?’ व्यवसाय गर्ने भन्दै वैदेशिक रोजगारीमा गएको छोरालाई बोलाएर अहिले पछुतो भएको उनले बताए ।

विद्युत् अभावको प्रभाव स्वास्थ्य क्षेत्रमा पनि परेको छ । नौमूलेको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्रमा विद्युत् नहुँदा उपकरण प्रयोगमा आएका छैनन् । डा. यदुनाथ बरालले एक्स–रे मेसिन, ल्याब मेसिन ल्याएको भए पनि त्यत्तिकै थन्काइएको बताए । ‘बिरामीलाई अनुमानको भरमा चेकजाँच गरिरहेका छौं,’ उनले भने, ‘मेसिन सञ्चालनमा नआउँदा ल्याब टेस्ट र एक्स–रे हुँदैन ।’ नौमूले गाउँपालिकाका ६ वटै वडामा विद्युत् छैन । गाउँपालिका अध्यक्ष भदे बुढा आयोजना र जिल्ला विद्युत् कार्यालयसँग विद्युत् उपयोगका लागि पहल भए पनि हालसम्म माग पूरा नभएको बताउँछन् । बरु यसका लागि गाउँपालिकाले ट्रान्सफर्मर मेसिन ल्याउने योजना बनाएको उनले बताए । kantipur.

प्रतिक्रिया