शैक्षिक गुणस्तर बृद्धिको लागि बजेटमा कमी हुँदैन्

शैक्षिक गुणस्तर बृद्धिको लागि बजेटमा कमी हुँदैन्

दैलेख –नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले विकास कार्यक्रमहरु पहुँचको आधारमा जोडबल गर्ने भन्दा जनताको स्थानीय आवश्यकताका आधारमा दिइने बताएका छन् । नारायण नगरपालिका–३ प्यूसेस्थित जनजागृति आधारभूत विद्यालयको २१ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै विहीवार उनले विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न सके बजेट श्रोतमा कमी नहुने प्रतिवद्धता जनाए ।
त्यसबखत नगरप्रमुख खड्काले शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकहरुको लगनशीलता बढी प्रभावकारी हुने बताउदै शिक्षालाई निशुल्क गरेबाट विपन्न समुदायले यसलाई अवसरको रुपमा उपभोग गर्न सुझाव दिए ।
कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेशप्रसाद उपाध्यायले गरिब विपन्नहरुको बाहुल्यता भएकोले जनजागृति आधारभूत विद्यालयको भौतिक संरचना र विद्यालयका बालबालिकालाई पोशाक तथा प्रोत्साहनमा नगरपालिकाले बजेट व्यवस्थापन गर्न आग्रह गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा श्रोत व्यक्ति हिमालयजंग शाह, विद्यालय निरीक्षक धीरेन्द्र शर्मा, विद्यालयका शिक्षकहरु लोकराज रेग्मी, ताराकेशर उपाध्याय, शिक्षाप्रेमीहरु देबीराम आचार्य, गणेश उपाध्याय, कृष्ण कोइराला, नन्दाराम रेग्मी लगायतले बोलेका थिए ।
विद्यालयका बालबालिकाले साँस्कृतिक कार्यक्रम समेत प्रस्तूत गरेको कार्यक्रममा विद्यालयको शैक्षिक विकास र भौतिक सहयोग गर्नुभएका नगरप्रमुख खड्का, देबीराम आचार्य, पत्रकार अमर सुनार लगायतका शिक्षाप्रेमीलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया